१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
धर्मेन्द्र झा
२०७६ माघ १६ बिहीबार ०९:२३:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

प्रदेश २ मा नाम र भाषाको सकस

Read Time : > 4 मिनेट
धर्मेन्द्र झा
२०७६ माघ १६ बिहीबार ०९:२३:००

प्रदेश २ मा नेपालीपछि सरकारी कामकाजको पहिलो भाषाका रूपमा मैथिलीलाई मान्यता प्रदान गर्नुपर्छ

प्रदेश दुईमा निकै चर्चामा रहेको राजधानी र प्रदेशको नामकरणमध्ये अब राजधानीको चर्चाले हाललाई विराम प्राप्त गरेको छ । प्रदेश सभाले जनकपुरलाई स्थायी राजधानीका रूपमा स्वीकार गरेको छ । अबको चर्चाको विषय प्रदेशको नामकरण र भाषा हो । प्रदेश दुईको निर्माण पर्सादेखि सप्तरीसम्मका आठ जिल्ला समेटेर भएको छ ।

यसको संरचनालाई दृष्टिगत गर्ने हो भने यहाँ मूलतः दुईवटा प्राचीन संस्कृति अस्तित्वमा छन्, मिथिला र भोजपुरा । निश्चय पनि प्रदेशको नामकरणका सन्दर्भमा यी दुई संस्कृतिलाई समेट्नुको विकल्प छैन । केहीले यस प्रदेशलाई मधेस आन्दोलनको परिणामका रूपमा पनि हेर्ने गरेका छन् र यसै आधारमा यस प्रदेशको नाम मधेस राख्नुपर्ने तर्क गरेका छन् । तर, यो तर्कलाई हाललाई एकांगी मान्नुपर्ने हुन्छ । मधेस आन्दोलनको माग यी आठ जिल्लालाई मात्र मधेस मान्नुपर्ने भन्ने थिएन । मधेस आन्दोलनको परिकल्पना त मेचीदखि महाकालीसम्मको सम्पूर्ण मधेस खण्डलाई एक प्रदेशका रूपमा स्वीकार गर्नु, गराउनु थियो । तर, यो सम्भव देखिएन । 

मधेसका नाममा आन्दोलन गर्नेहरूले हाललाई यस मागलाई तिलाञ्जलि दिएजस्तो देखिन्छ । त्यसो हो भने यो अवस्था विगतको मागको विसर्जन हो भन्दा फरक पर्दैन । आफूहरूको विसर्जनवादी सोचलाई ढाकछोप गर्ने वा ‘फेस सेभ’ गर्ने नाममा हालको प्रदेश दुईलाई मधेस नामकरण गरेर तुष्टीकरणको नीति अख्तियार गर्नुलाई उचित मान्न सकिँदैन ।

सिंगो मधेस प्रदेश कायम गर्न सकिएको अवस्थामा त्यसभित्र हालको प्रदेश दुईलाई मिथिला–भोजपुराका नाममा स्वायत्त शासकीय संरचना विकसित गर्ने सम्भावना हुन सक्थ्यो । यसो गर्दा मधेस, मिथिला र भोजपुरा सबैका पहिचान र परिचय अक्षुण्ण रहन सक्थ्यो । तर, हालका दिनमा यसरी सोच्नु कोरा कल्पना मात्र हुनेछ । तथापि अहिलेलाई यस प्रदेशका सबै बासिन्दाको भावनाको कदर गर्दै यस प्रदेशको नामका सन्दर्भमा निम्न विकल्पलाई अगाडि सार्न सकिन्छ– जनक–जानकी, मिथिला–भोजपुरा, मिथिला–भोजपुरा–मधेस या मिथिला । 

यसैगरी प्रदेशको प्रथम भाषाका सन्दर्भमा पनि बहस चल्नु अपेक्षित छ । मैथिली यो प्रदेशमा सर्वाधिक बोलिने पहिलो भाषा हो । यस आधारमा यहाँ नेपालीपछि सरकारी कामकाजको पहिलो भाषाका रूपमा मैथिलीलाई मान्यता प्रदान गर्नु जरुरी छ । यसैगरी भोजपुरी निर्विवाद रूपमा दोस्रो भाषा हो । यहाँ यस आलेखमा प्रदेशको नाम मिथिला र भाषा मैथिलीका सन्दर्भमा केही चर्चा गर्ने प्रयत्न गरिएको छ ।  

चन्दा झा मैथिलीका यस्ता यशश्वी कवि तथा साहित्यकार हुन्, जसले मैथिली रामायणका साथै मिथिलाका सम्बन्धमा अनेकौँ रचना गरेका छन् । उनले मिथिलाकोे इतिहास र भूगोलबारे काव्यात्मक ढंगले प्रकाश पारेका छन् । पाँचौँ शताब्दीमा लेखिएको बृहत् विष्णुपुराणको मिथिला महात्म्य खण्डमा वर्णित मिथिलाको सीमासम्बन्धी विवरणलाई काव्यात्मक ढंगले अनुवाद गर्दै उनले भनेका छन्, पूर्वमा कोसी, पश्चिममा गण्डकी, उत्तरमा हिमालय पर्वत शृंखला र दक्षिणमा गंगानदीबीचको भूभाग नै मिथिला थियो । 

अहिले विविध राजनीतिक विचार र दर्शन हावी भइरहेको सन्दर्भमा मिथिलाको क्षेत्रीयता र भौगोलिकता बुझ्न चन्दा झाको सो भनाइले हामीलाई विस्तारमा मद्दत गर्छ । त्यसो त बसोवास र भाषाका हिसाबले पछिल्लो दिनमा नेपालमा पूर्वी रौतहटसम्म मात्र मैथिली भाषाभाषीको सघन बसोवास रहेको पाइन्छ । तर, यथार्थ के हो भने आज पनि कुनै न कुनै रूपमा पर्सासम्म मिथिलाको प्रभाव अनुभूत गर्न सकिन्छ । यस्तै मिथिलाको प्राचीन सीमा रहेको कोसी नदी पछिल्ला केही दशकमा पश्चिमतर्फ निकै सरेको पाउन सकिन्छ । यसले पनि वर्तमानमा मिथिलालाई बुझ्न थप सामग्री प्रदान गर्छ । भाषा तथा संस्कृतिविद् एवं पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले एक सन्दर्भमा भनेका छन्, आजको तुलनामा कोसी नदी पूर्वकालमा निकै पूर्वबाट बग्थ्यो । हालको भारतको पूर्णियाभन्दा पूर्व । 

आजको कोसीको धारलाई आधार मान्ने हो भने भारतका दुई जिल्ला पूर्णिया र कटिहार तथा नेपालका दुई जिल्ला मोरङ र सुनसरी प्राचीन मिथिलाबाट अलग्गिन्छन् । तर, यथार्थ के हो भने यी चारै जिल्लामा मैथिलीभाषीको उल्लेख्य जनसंख्याको बसोवास छ । यसले पनि प्राचीनकालमा चन्दा झाले भनेजस्तै मिथिलाको सीमा विशाल थियो भन्ने स्पष्ट हुन्छ । सिंहावलोकन पत्रिकाको नेपालीय मैथिली विशेषांकमा संकलित कोइरालाको सो लेखमा दाबी गरिएको छ– नेपालको मोरङको रतुवा—मावा नदीदेखि रौतहटको झाँझ नदीसम्म मैथिलीभाषीको बाहुल्य छ । 

मैथिलीलाई यदाकदा जातिगत वा सामाजिक संरचनाका दृष्टिले पनि वर्गीकरणको प्रयास गरेको पाइन्छ । यस सम्बन्धमा भाषाविद् पण्डित गोविन्द झा र डा. जयमन्त मिश्रले यस्तो वर्गीकरणलार्ई अवैज्ञानिक भनेका छन् । यसको साटो यिनीहरूले क्षेत्रीय आधारमा वर्गीकरण गरिनुपर्ने सुझाएका छन् । यस सम्बन्धमा पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति तथा प्रसिद्ध भाषाविद् डा. रामावतार यादवको भनाइ निकै सान्दर्भिक छ ।

पछिल्लो समयमा मैथिली भाषा कसको हो भन्ने सन्दर्भमा केही व्यक्ति र वर्गबाट जबर्जस्ती विवाद सिर्जना गर्न खोजिएको सन्दर्भमा डा. यादवको भनाइ एक जवाफ हुन सक्छ । उनी भन्छन्– केही दशकअघिसम्म ब्राह्मण र कायस्थ आदि शिक्षाको प्रसार बढिरहेको समुदायमा उनीहरूको भाषामा केही विशिष्टता देखिन्थ्यो तर पछिल्लो समयमा शिक्षाको पहुँच बढ्दै जाँदा अन्य जातिका भाषाभाषीको स्तर पनि तिनैको स्तरको हुँदै गएको छ ।

पछिल्लो समयमा नेपालमा मिथिला र मैथिलीकेन्द्रित चर्चाले गति लिएको देख्न सकिन्छ । यी चर्चा र बहस कति सार्थक छन् वा हुनेछन्, त्यसबारे त भविष्यले नै निर्णय गर्नेछ, तर हाललाई यस्ता चर्चाको नयाँ विचार निर्माणका दृष्टिले निकै महत्व हुने निश्चित छ र यसमा सार्थक बहस अपरिहार्य छ । उल्लिखित विषयमा मिथिलाका थुप्रै व्यक्ति सहभागी हुन चाहन्छन् र खुलेर बहस गर्न चाहन्छन् । यस्तो अवसर प्राप्त गर्न नसक्दा गुनासाहरू सतहमा छताछुल्ल हुन्छन् । आशा गरौँ भाविष्यमा सरोकारवालाहरूले यसबारे समुचित ध्यान पुर्‍याउनेछन् । 

यसै सन्दर्भमा घोषित–अघोषित रूपमा मैथिली कसको भाषा हो भन्ने सम्बन्धमा पनि केही असहमतियुक्त विवादका स्वर सुनिने गरेका छन् । यस्ता असहमतिलाई अन्यथा ठान्नु हुँदैन । हाम्रो समाज बहुलवादी छ र यसैकारण समाजमा विभिन्न विचार पनि छन् । लोकतन्त्रमा यस्ता विविध विचारको निकै महत्व छ । यस्ता सबैखाले विचारलाई प्रस्फुटनको अवसर प्राप्त हुनुपर्छ । यस्ता विचार अभिव्यक्त हुने अवसर प्राप्त नहुने हो भने समाजमा अपनत्वको भावना विकसित हुन सक्दैन र समाज निर्माणको प्रक्रिया बाधित हुन पुग्छ । विविध विचार प्रकटीकरणको अवस्थामा मात्र सर्वाेत्कृष्टको चयन सम्भव हुन सक्छ । मैथिलीका सन्दर्भमा व्यक्त धारणालाई पनि यसै रूपमा बुझ्नु श्रेयस्कर हुन्छ । 

मधेसका नाममा आन्दोलन गर्ने दलहरूले आफूहरूको विसर्जनवादी सोचलाई ढाकछोप गर्ने वा ‘फेस सेभ’ गर्ने नाममा हालको प्रदेश २ लाई मधेस नामकरण गरेर तुष्टीकरणको नीति अख्तियार गर्नुलाई उचित मान्न सकिँदैन
 

जहाँसम्म मैथिली कसको भाषा हो भन्ने प्रश्न छ, त्यो त स्पष्ट छ, मैथिली मिथिलाको भूगोलमा बस्ने सबैको साझा भाषा हो । यस भूगोलभित्र, खासगरी हालको प्रदेश दुईभित्र, यो भाषा सम्पर्क भाषा हो, यसमा विवाद हुनै सक्दैन । यस भूगोलभित्र विभिन्न जात–जाति र समुदायमा बोल्ने अन्य थुप्रै भाषा छन्, भाषा वैज्ञानिक अध्ययन गर्दै गएका खण्डमा केही अपवादबाहेक मैथिली ती सबैको अभिभावक र मूल भाषा हो भन्न सकिन्छ । जहाँसम्म भूगोलको सन्दर्भ छ, माथि कवीश्वर चन्दा झा र मातृकाप्रसाद कोइरालाको प्रसंग उठान गरेर स्पष्ट गर्ने प्रयत्न गरिएको छ ।

यसै सन्दर्भमा भाषाको प्रयोग र स्तरबारे पनि प्रश्न उठेको छ । यस विषयमा डा. रामावतार यादवको माथि उल्लिखित भनाइ निकै महत्वपूर्ण रहेको मान्न सकिन्छ । मैथिलीमा यदाकदा मानकको चर्चा चल्ने गर्छ । यस सम्बन्धमा पंक्तिकारको स्पष्ट दृष्टिकोण छ, अहिले मानकको प्रश्न उठाएर स्तरीयता खोजेर कित्ताकाटको रणनीति अख्तियार गरिनु हुँदैन । जसले मैथिली भनेर जे बोल्छ वा लेख्छ, त्यसलाई मैथिलीका रूपमा स्वीकार गरिनुपर्छ । यसले मैथिली गरिब होइन, बरु थप सम्पन्न बन्नेछ । शब्द भण्डार, शब्द विन्यास र भाषा निर्माण प्रक्रियाले थप गति प्राप्त गर्नेछ । अर्कातिर आमव्यक्तिमा मैथिलीप्रति अपनत्वको भावमा वृद्धि हुनेछ । कसैले पंक्तिकारको यस दृष्टिकोणलाई भाषिक अराजकताको संज्ञा पनि दिन सक्छन् । त्यसमा पनि आपत्ति मानिनु हुँदैन । यही अराजकताले भविष्यमा थप स्तरीकरण र परिष्करणको मार्ग प्रशस्त गर्नेछ ।