१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ माघ १६ बिहीबार ०९:२४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

विहारको छिँडीमा सरकारी विद्यालय : विद्यार्थी एक, शिक्षक दुई

Read Time : > 1 मिनेट
२०७६ माघ १६ बिहीबार ०९:२४:००

काठमाडौंमा नाम मात्रकै सरकारी विद्यालय पनि अस्तित्वमा छन् । नरदेवीनजिकै इटुम्बहालमा विहारको छिँडीमा चलिरहेको केश–चन्द्र आधारभूत विद्यालय तीमध्येकै एक हो । जहाँ एक विद्यार्थी र दुई शिक्षक छन् । विद्यालयको सम्पत्तिको नाममा कागजात मात्रै छ । 

इटुम्बहालमा सजिलै विद्यालय समेत भेट्न सकिँदैन । बाहिरबाट मात्रै होइन, बिहारभित्र छिर्दासमेत विद्यालयको कुनै संकेत देखिँदैन । विद्यार्थीको चहलपहल पनि हुँदैन । बिहारको भुइँतलाको एउटा कुनामा छिरेपछि मात्रै विद्यालयको सानो साइनबोर्ड र तीनवटा बेन्च देखिन्छन् । ‘विद्यालय रहेको भुइँतला केश–चन्द्र बिहारको हो, भएका दुई–चार बेन्च, डेस्क र कुर्सी पनि अरूले डोनेसनमा दिएका हुन्,’ विद्यालयमा बुधबार भेटिएका प्रधानाध्यापक राजेश महर्जनले नयाँ पत्रिकासँग भने, ‘विद्यालयको नाममा त ढड्डा मात्रै छ ।’ 

केश–चन्द्र ६ दशक पुरानो विद्यालय हो । ०१४ मा स्थापना भएको विद्यालयमा ०७२ को भूकम्पयता विद्यार्थी घट्दै गए । अघिल्लो वर्षसम्म तीन विद्यार्थी थिए । चालू शैक्षिक सत्रमा एक विद्यार्थी मात्रै भर्ना भए । ‘पहिले विद्यार्थी हुँदा भुइँतला पार्टेसन गरेर पढाउँथ्यौँ, ०७२ को भूकम्पपछि विद्यार्थी आउन छाडे,’ प्रअ महर्जनले भने । 

अपांगता भएका एक मात्र विद्यार्थी पनि कहिले आउँछन्, कहिले आउँदैनन् । उनी तीन कक्षामा पढ्छन् । शिक्षक भने नियमित आउँछन् । विद्यालय आएर पढाउन नपाउँदा यातना भएको अनुभव सुनाउँछन् शिक्षक । ‘दिनदिनै विद्यालयमा आउँछौँ, विद्यार्थी हुँदैनन् । बोर हुन्छ, तर २ बजेसम्म सधैँ बस्छौँ,’ शिक्षिका विमलादेवी पौडेलले भनिन्, ‘अब हामी दुवै शिक्षकलाई अन्यत्र लगे राम्रो हुन्थ्यो, फेरि एकजना मात्रै लग्यो भने त झन् बोर हुन्छ ।’ ०४८ मा स्थायी भएकी पौडेल धनकुटाबाट सरुवा भएर ०६५ देखि यो विद्यालयमा छिन् । 

विद्यालयको शौचालय पनि छैन । बिहारले बनाएको शौचालय नै प्रयोग गर्दै आएका छन् । केही वर्षअघिसम्म शिक्षक–विद्यार्थी शौच गर्न वडा कार्यालय भवन पुग्थे । अहिले दुई शिक्षकको तलबबाहेक अन्य सरकारी सुविधा पनि विद्यालयमा आउँदैन । अघिल्लो वर्ष शिक्षकको तलबबाट पाठ्यपुस्तकका लागि आठ सय ९५ रुपैयाँ आएको प्रअ महर्जनले बताए । ‘मैले नै शिक्षा कार्यालयलाई रकम नपठाउन भनेको हो, विद्यार्थी आए भने खबर गर्छु अनि रकम पठाइदिनुहोला भनँे,’ उनले भने । 

देश संघीयता प्रणालीमा आउनुअघि इटुम्बहाल काठमाडौं महानगरपालिकाको २६ नम्बर वडामा पथ्र्यो । केश–चन्द्र आधारभूत विद्यालय वडाकै एक मात्र विद्यालय थियो । वडाको एउटा मात्रै सरकारी विद्यालय स्थानीयकै जोडबलमा जोगिएको प्रअ महर्जन बताउँछन् । संघीयतामा गएपछि भने वडा नं. २५ र २६ गाभिए । अहिले यो विद्यालय वडा नं. २४ मा पर्छ । यो वडामा अहिले दुई मावि र दुई आधारभूत विद्यालय रहेको उनले बताए ।