मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ १५ बुधबार १३:०८:००
Read Time : > 1 मिनेट
समाचार

प्रम ओलीको दाबी : भारतसँग ‘लिम्पियाधुरा नेपालको हो’ भन्न सक्ने यो सरकारमात्र हो

Read Time : > 1 मिनेट
२०७६ माघ १५ बुधबार १३:०८:००

प्रधामन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले यो सरकार भारतसँग लिम्पियाधुरा हाम्रो हो भन्न सक्ने पहिलो सरकार भएको बताएका छन् ।

उनले बुधबारबाट काठमाडौंमा सुरु भएकाे पार्टीको केन्द्रीय कमिटीको दोस्रो बैठकमा सरकारले गरेका राम्रा कामको कसैले समीक्षा नगरी सरकारलाई बारम्बार आक्रमण गरेको बताए । 

सीमा विवादका लागि भारत सरकारलाई पत्राचार गरेर यो सरकारले ऐतिहासिक काम गरेको र कूटनीतिक पहलमार्फत विवाद समाधान गरिने प्रधानमन्त्री ओलीले बताए ।  

'सिके राउतहरुलाई मूलधारको राजनीतिमा ल्याइएको छ । टावर भत्काउने र बम पड्काउनेहरुलाई कारबाही गरेका छौं । जनताले सेवा महसुस गर्ने गरि सडक र पुल बनाएका छौं', ओलीले भने, ‘तर सरकारलाई एकोहोरो आक्रमण भइरहेको छ । हामी यसलाई युद्ध भन्दैनौं । युद्ध दुईतर्फी हुन्छ । तर, सरकारले एकोहोरो आक्रमण बेहोरिरहेको छ।’ 

उनले मंगलबार संसदमा कोरोना भाइरसले भ्रमण वर्षको सुरुवातमा केही धक्का दिएको बताएको स्पष्ट पारेका छन् । ‘मैले भ्रमण वर्षको सुरुमा कोरोना भाइरसले केही धक्का दिएको बताएको थिएँ तर अरुले के बुझेर त्यसको अरु नै व्याख्या गरे,’ प्रधानमन्त्री ओलीले भने । 

उनले विश्वका सूचकाङ्कमा नेपालको अवस्था सुधार हुँदै आएको तथ्याङ्क प्रस्तुत गर्दै विकास निर्माणका पूर्वाधार र भूकम्पपछिको पूननिर्माणले गतिसमेत लिने दाबी गरे ।  

रानीपोखरी, धरहरा र मेलम्ची खानेपानी आयोजनाको काम अघि बढेकाे बताउँदै उनले कृषि उत्पादनमा वृद्धि भएको, नेपालीलेले भोकै बस्नु पर्ने दिन सकिएको र सडक बालबालिकाको उद्दार र संरक्षण गरिएको स्मरण गराए । प्रधानमन्त्री ओलीले व्यक्तिले हड्पेका सरकारी सम्पत्ति र जग्गा फिर्ता ल्याउने अभियान नै सरकारले चलाएको उल्लेख गरे ।

एमसीसी राष्ट्रको हितमा 

अध्यक्ष ओलीले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) राष्ट्रको हितमा भएको बताए ।  यसलाई रोक्न नहुने बताउँदै उनले सहयोग लिन नेपाल तत्पर रहेको उल्लेख गरे । उनले २९ भदौ ०७४ मा शेरबहादुर देउवा नेतृत्व सरकारको सरकारका अर्थमन्त्री ज्ञानेन्द्र कार्कीको टोलीले यो सहयोगका लागि सम्झौता गरेको स्मरण गराए । 

यति समूहसँग सरकारको कुनै साइनो छैन 

कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यति समूहसँग सरकारको कुनै साइनो नभएको दाबी गरे । उनले भने, 'पाथीभराको जग्गा सित्तैमा यतीलाई भनेर हिजो एउटा दैनिकले छापेको छ । तर त्यो व्यतिगत जग्गा हाे ।' 

कालीमाटीको जग्गा तत्कालिन कांग्रेस सरकारले दिएको, दरबारमार्गको जग्गा अहिलेकै सरकारले प्रक्रियाअनुसार नै यती समूहलाई दिएको जानकारी गराए । उनले व्यापारीक घरानाको प्रभावमा आफुहरु नपर्ने बताउँदै गोकर्ण रिसोर्ट पहिले नै दरबारले विदेशी व्यापारीलाई सञ्चालन गर्न दिएकोमा यो सरकारले कानुनी प्रक्रियाबाटै यती समूहलाई दिएको स्वीकारे ।

शक्ति नै  हाम्रो एकता 

उनले भने, ‘केरेमबोर्डको स्टाइगर चलाउँदा फ्याट्ट गोट्टी छिरेजस्तो होइन यो  एकता । हाम्रो शक्ति नै हाम्रो एकता हो,’  उनले थपे, ‘अलिकति एकसुर र एकआवाजमा हामी बोल्न सकिरहेका छैनौं । अब एमाले, माओवादी पूर्णरूपमा सकिएको छ, हामी नेकपा भएका छौं । साथीहरुले बोल्दा पनि ध्यान दिनुहोला ।’ 


फाेटाे : अमुल थापा/नयाँ पत्रिका