१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ १५ बुधबार ०८:१७:००
Read Time : > 1 मिनेट
विश्व

अमेरिकी विमानमा रकेट प्रहार गरेको तालिवानको दाबी

Read Time : > 1 मिनेट
२०७६ माघ १५ बुधबार ०८:१७:००

अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा सोमबार दुर्घटनाग्रस्त अमेरिकी सेनाको विमान आफ्ना लडाकुले रकेट प्रहार गरेर खसालेकोे तालिवान समूहले दाबी गरेको छ । स्थानीय समयअनुसार सोमबार दिउँसो १ बजे गजनीको देहयाक जिल्लामा सो विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । विमानमा अमेरिकाको गुप्तचर निकायका उच्च अधिकारी सवार थिए । अमेरिकाले यसबारे अझै प्रस्ट विवरण दिन चाहेको छैन । 

दुर्घटनाबारे विरोधाभाषपूर्ण विवरण सार्वजनिक भएका छन् । अमेरिकाले दुर्घटनामा १० जना मारिएको बताएको भने तालिवानले विमान दुर्घटना भएको स्थलमा ८० शव भेटिएको दाबी गरेको छ । विमान दुर्घटनाबारे अमेरिकाले अनुसन्धान गरिरहेको छ ।

 तालिवानी दाबी झुट : अमेरिका

विमानलाई रकेट प्रहार गरेर खसालेको तालिवानी दाबीलाई अमेरिकाले अस्विकार गरेको छ । दुर्घटनाको प्रकृति विश्लेषण गर्दा विमानमा क्षेप्यास्त्र प्रहार भएको नदेखिएको अमेरिकी सेनाको भनाइ छ । अफगानिस्तानस्थित अमेरिकी सेनाका प्रवक्ता विलियम लिगेटले भने, ‘विमानको दुर्घटनाको कारण अनुसन्धान भइरहेको छ । तालिवानले विमान खसालेको भन्ने दाबीमा कुनै सत्यता छैन ।’ यसअघि अफगान अधिकारीहरूले विमानलाई तालिवानहरूले खसालेको हुन सक्ने अनुमान गरेका थिए ।

क्षेप्यास्त्र प्रहार गर्‍यौँ : तालिवान प्रवक्ता
अफगानिस्तानमा सशस्त्र युद्ध गरेका र अमेरिकी सेनालाई निशाना बनाएको तालिवानले समूहले अमेरिकी विमानलाई योजनाबद्ध ढंगले खसालेको बताएको छ । तालिवान समूहका प्रवक्ता जबिउल्लाह मुजाहिदले मंगलबार ट्विट गर्दै आफ्ना प्रावधिक लडाकुको समूहले क्षेप्यास्त्र प्रहार गरेर विमान खसालेको बताए । विमान अमेरिकी गुप्तचर निकायका उच्च अधिकारीहरू रहेको उनले बताएका छन् ।

विमानमा सवार सबै गुप्तचर अधिकारीहरू मारिएको प्रवक्ता मुजाहिदले बताएका छन् । विमान दुर्घटनामा मारिएका दर्जनौँ गुप्तचर निकायका वरिष्ठ अधिकारीहरूको शव विमान खसेको वरपर छरिएको उनले बताए ।

दुर्घटनाबारे अन्योल

विमान सोमबार दिउँसो दुर्घटना भए पनि त्यसबारे मंगलबारसम्म अन्योल छाएको थियो । दुर्घटनामा मारिएका व्यक्ति र विमानबारे विभिन्न अड्कलबाजी भएका थिए । सुरुमा दुर्घटनाग्रस्त विमान अमेरिकी सेनाको नभएको अमेरिकाले दाबी गर्दै आएको थियो । तर, तालिवान समर्थित पत्रकारले अमेरिकी हवाई फौजको संकेतसहितको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेपछि अमेरिकाले सो विमान आफ्नो बताएको थियो । पत्रकार तरिक गजनीवाले हिउँ परेको पहाडमा जलेको विमानको भग्नावशेष र वरपर स्थानीय मानिस भेला भएको भिडियो सार्वजनिक गरेका थिए ।

निसानामा अमेरिकी लडाकु विमान
अफगानिस्तानको पूर्वीप्रान्त गजनी प्रान्तमा तालिवान विद्रोहीको प्रभाव छ । विद्रोहीको प्रभाव रहेकाले अमेरिकी सुरक्षा अधिकारी दुर्घटना भएको केही घन्टापछि मात्र दुर्घटनास्थल पुुगेका थिए । अफगानिस्तानमा अमेरिकी सेनाले हवाई आक्रमणमार्फत तालिवानका आधार शिविरमा हमला गर्दै आएको छ । त्यसको बदलामा तालिवानले पनि अत्याधुनिक हतियारमार्फत अमेरिकी विमानलाई निशाना बनाउँदै आएका छन् । तालिवान प्रभावित क्षेत्रमा बारम्बार विमान दुर्घटना भएका छन् । सन् २०१० मा पामिर एयरवेजको यात्रुवाहक विमान राजधानी काबुलबाट कुन्दुजका लागि जाने क्रममा दुर्घटना हुँदा ६ चालकदलका सदस्यसहित ३८ जनाको मृत्यु भएको थियो । विमान काबुलबाट २० किलोमिटर टाढा हिमाली क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । त्यसपछि सो क्षेत्रमा साना विमानहरू र हेलिकोप्टरहरू दुर्घटनाग्रस्त भएका छन् ।