१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ १५ बुधबार ०७:१९:००
Read Time : < 1 मिनेट
अर्थ

बंगुरपालनबाट आकर्षक आम्दानी

Read Time : < 1 मिनेट
२०७६ माघ १५ बुधबार ०७:१९:००

प्युठानको सरुमारानी गाउँपालिका–४ का ४० वर्षीय योगेश सारू बंगुरपालन व्यवसायबाट स्वरोजगार बनेका छन् । आफ्नै गाउँमा व्यवसाय सञ्चालन गरेर स्वरोजगार बनेका उनले वार्षिक ६ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

उनको ‘मंगोलियन’ बंगुर फार्म जिल्लाकै उत्कृष्ट र ठूलो रहेको उनको दाबी छ । करिब एक रोपनी क्षेत्रफलमा फैलिएको फर्ममा लेन्ड्रेस, ड्युरो र पाख्रिबासे कालो बंगुर गरी विभिन्न ३ जातका ६५ वटा पाठापाठी छन् । २ लाख रुपैयाँ लगानी गरी सातवटा बंगुर राखी सुरु गरिएको फार्ममा लगानी बढेर अहिले २३ लाख रुपैयाँ नाघेको छ । उनले स्थानीय बजारमा फ्रेस हाउससमेत सञ्चालन गरेका छन् ।

त्यसबाट दैनिक ४० किलो मासु बिक्री हुने गरेको उनले बताए । यहाँ प्रतिकिलो २ सय ८० रुपैयाँमा मासु बिक्री हुन्छ । फ्रेस हाउसबाट मासिक २० हजार आम्दानी गर्ने सारूले बताए । बंगुरका पाठापाठी र मासु काटेर बेच्दा अहिले महिनामा ६० हजार रुपैयाँ कमाउने गरेको बताए । फार्ममा विभिन्न उन्नत जातका १८ वटा माउ बंगुर छन् । एउटा माउ बंगुरले एकपटकमा ८ देखि १० वटासम्म पाठापाठी दिने गरेको उनले बताए । 

जन्मिएको ४० दिनभित्र पाठापाठी बिक्रीयोग्य हुने उनले बताए । यसरी योग्य भएका पाठापाठी प्रतिगोटा ४५ सय रुपैयाँसम्म बिक्री गर्ने गरेको उनले बताए । सारूको फार्ममा उत्पादित पाठापाठी प्युठान र रोल्पा जिल्लामा बढी बिक्री हुँदै आएको छ । माग बढी भएका कारण उपभोक्तालाई पाठापाठी पुर्‍याउन नसकिरहेको उनले बताए ।