१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ १५ बुधबार ०७:१९:००
Read Time : < 1 मिनेट
समाचार

वुहानबाट आएका शंकास्पद  बिरामीको मात्रै कोरोना परीक्षण

Read Time : < 1 मिनेट
२०७६ माघ १५ बुधबार ०७:१९:००

सरकारले अब चीनको कोरोना प्रभावित सहर वुहानबाट आउने शंकास्पदको मात्रै कोरोना परीक्षण गर्ने निर्णय गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना भाइरस परीक्षण सुरु भएको पहिलो दिन सोमबार नै ५० किट सकिएपछि जथाभावी प्रयोग रोक्न मापदण्ड बनाएको हो ।

‘बिरामीलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भए मात्रै कोरोना भाइरस परीक्षण गरिनेछ, त्यो पनि वुहानबाटै आएको हुनुपर्छ,’ सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोलाले भने, ‘जसको पनि जथाभावी परीक्षण हुन थालेपछि विश्वस्वास्थ्य संगठनको मापदण्ड अपनाइएको हो ।’ मंगलबारदेखि नै मापदण्ड लागू भएको उनले बताए । 

सोमबार धमाधम गरिएका परीक्षणको रिपोर्ट नेगेटिभ आएकाले पनि मापदण्ड बनाएको हो । टेकु अस्पताल भर्ना भएका शंकास्पद चारजनाकै रिपोर्ट नेगेटिभ आएको र उनीहरूलाई डिस्चार्ज गरिएको डा. बास्तोलाले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्थापना भएको ६ वर्षपछि सोमबार बिएसएल ल्याब थ्री सञ्चालनमा ल्याई परीक्षण सुरु गरिएको थियो ।

‘नेपालमा एक नेपालीबाट अर्को नेपालीमा कोरोना भाइरस सरेको छैन, रुघाखोकी लाग्दैमा डराउनुपर्दैन,’ डा. बास्तोलाले भने । वुहानबाट आएका व्यक्तिमा १४ दिनभित्र कोरोनाको जस्तो लक्षण देखिए सीधै अस्पतालमा सम्पर्क गर्न उनले आग्रह गरे । 

कोरोना संक्रमित क्षेत्रमा नपुगेका मानिसमा रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिनु इन्फ्लुएन्जा हुन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखका निर्देशक डा. विवेककुमार लालले बताए । ‘वुहानसहित चीनको संक्रमित क्षेत्र नपुगेको व्यक्तिलाई रुघाखोकी लाग्दैमा कोरोना परीक्षण आवश्यक छैन,’ डा. लालले भने, ‘उनीहरूको इन्फ्लुएन्जाको परीक्षण गर्नुपर्छ, अस्पतालमा अनावश्यक भिड नगर्नुहोला ।’