मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ १४ मंगलबार १७:३९:००
Read Time : > 7 मिनेट
फिचर

राजा वीरेन्द्रलाई मन पर्ने गायिका

Read Time : > 7 मिनेट
२०७६ माघ १४ मंगलबार १७:३९:००

२०२८ फागुन महिना । तीर्थकुमारी थापा साथी नानुमाया जोशीसँग खाजा खाने बहानामा रेडियो नेपाल पुगेकी थिइन् । त्यतिवेला भूमिसुधार मन्त्रालय सिंहदरबारकी कर्मचारी थिइन् उनी । रेडियो नेपालबाट बज्ने हरेक गीत सुन्थिन्, नछुटाइकन । 

गीतसंगीत भन्नेबित्तिकै हुरुक्कै हुने उनले रेडियो नेपालमा तारादेवी र नारायणगोपाल देख्न पाइन्छ भन्ने सुनेकी थिइन् । त्यसैले, उनीहरूलाई हेर्नकै लागि भए पनि उनी त्यहाँ पुग्ने गर्थिन्, तिनै साथी नानुमाया जोशीसँग । 

रेडियो नेपालको स्टुडियोबाट कोही महिला बाहिर निस्कन्थे, उनलाई लाग्थ्यो, गायिका तारादेवी तिनै हुन् । ‘नारायणगोपाल, प्रेमध्वज प्रधान, अरुणा लामा भनेका को होलान्, कस्ता होलान् ? जस्तो लाग्थ्यो’, ती दिनहरू सम्झँदै उनी भन्छिन्, ‘त्यहाँबाट कोही बाहिर निस्कियो भने पनि म हेरेको हेर्यै हुन्थेँ ।’

गायन यात्राको पहिलो सिँढी
एकदिन उनीहरू रेडियो नेपालको बाहिरपट्टि बसिरहेका थिए । त्यो देखेर संगीतकार एवं गायक गणेश परियार (नेपाली)ले भने, ‘बहिनीहरू गीत रेकर्ड गर्न आउनुभएको हो ?’ 

प्रतिउत्तरमा तीर्थकुमारीले भनिन्, ‘गीत गाउन पाइन्छ र दाइ ?’ 

परियारले उनले भने, ‘किन नपाइनु ? मज्जाले पाइन्छ । बरु तिमीलाई गीत गाउन आउँछ र ?

खुसी हुँदै तीर्थकुमारीले ‘मलाई गीत गाउन आउँछ’ भनिदिइन् । त्यसपछि त उनलाई ढुंगो खोज्दा देउता नै मिलेजस्तै भयो । उनी रेडियो नेपालको स्टुडियो छिर्न पाइन् ।  

आखिर इच्छाशक्तिलाई केले रोक्न सक्छ र ! उनी सानैदेखि गायिका तारादेवीकी फ्यान थिइन् । रेडियो नेपालको स्टुडियोमा तीर्थले तारादेवीका तीन ओटा गीत गाएर सुनाइन् । हजुरबुवा र बुवासँग सिकेका गीत पनि उनले त्यहाँ गाइन् । उनले गाएको स्टुडियोका सबैलाई खुबै मन परेछ । 

‘स्वर धेरै राम्रो रहेछ, म तिमीलाई गीत गाउन बोलाउँछु, तिम्रो फोन नम्बर देऊ भन्नुभयो’, संगीतकार परियारले यति भनेपछि उनको खुसीको सीमा नै रहेन ।  

त्यतिखेर अहिलेजस्तो हातहातमा मोबाइल थिएन, तीर्थले आफ्नो अफिसकै नम्बर दिइन् ।

भोलिपल्टै उनलाई रेडियो नेपालबाट फोन आयो । संगीतको औपचारिक शिक्षा नलिए पनि गायिका बन्ने अवसर पाइन् तीर्थले । 

संगीतप्रतिको अगाध इच्छाशक्ति र आत्मविश्वासले प्रफुल्लित थिइन् उनी ।

एक्कासि गीत गाउने अवसर पाउँदा उनलाई सपनै जस्तो लाग्यो । त्यसैले पनि उनी आफुलाई भाग्यमानी सम्झिन्छन् । 

उनी खुसी हुँदै रेडियो नेपालको स्टुडियो पुगिन् । कमल क्षत्रीसँगै उनले युगल गीत गाउनुपर्ने थियो । सुरुमा उनी निकै खुसी र उत्साहित थिइन्, अलि अलि नर्भस । 

जब गीत रेकर्ड गर्दा हरियो बत्ती बल्यो, तीर्थलाई भूकम्प आएजस्तो भयो । उनको शरीर थरर्र काँप्न थाल्यो । त्यो पल सम्झँदै भन्छिन्, ‘अब कसरी गीत गाउने भन्ने भयो, मनमनै सरस्वती मातालाई सम्झेँ, सबै राम्रो होस् भन्दै प्रार्थना गरेँ । र गीत गाउन थालेँ ।’

उनले त्यसवेला गाएको गीत यस्तो थियो :
केटा : कहिलेमा हुने होला नि नानी, तिमी पिपल म वर
हा... चौतारीमै पातै फरर 
केटी : मलाई भने बाउको डर कान्छा, तिमीलाई के छ र  
हा... पार्छौ कि त मलाई बितर

गीत गाइसकेपछि रातो बत्ती बल्यो । ‘त्यो गीत पहिलो टेकमै तयार भयो’ उनले सम्झिन्, ‘सबैले राम्रो भन्दै तालीसमेत बजाए ।’

त्यो गीत गाइसकेपछि उनी हतारिँदै बाहिर निस्किन् र लामो सास फेरिन् । 

‘रेडियो नेपालमा पहिलो पटक गीत गाउँदा ममा खुसीको सीमा नै थिएन । त्यस्तो खुसी त म एसएलसी पास हुँदासमेत भएकी थिइनँ’ उनी खुसी सुनाउँछिन्, ‘म अफिस जाँदा पनि त्यही गीत गाउँदै गएकी थिएँ । त्यो नयाँ गीत सुनेर सबैले आज त नयाँ गीत गायौ नि भन्नुहन्थ्यो ।’

रेडियो नेपालमा गीत रेकर्ड गरेर आएको भनेपछि सबैले चिया खुवाउनुपर्छ भनेर फुक्र्याएको सम्झना उनलाई अहिले पनि छ । भन्छिन्, ‘अफिसमा सबैलाई चिया खुवाएको त्यो पल खुबै याद आउँछ ।’

परिवार नै गुरु 
बुवा हर्षबहादुर सिँह र आमा ज्ञानीकुमारीकी माहिली छोरीको रुपमा २७ फागुन २०१० मा ललितपुरको सिद्धिपुरमा जन्मिएकी तीर्थकुमारीको बाल्यकाल सांगीतिक माहोलमै बित्यो । हजुरबुवा र बुवा दुवै गीत गाउँथे । त्यही भएर होला, उनले पनि संगीत पछ्यासकेकी थिइन् । ‘बच्चैदेखि हजुरबुवा र बुवाले गाउनुभएको गीत सुन्थेँ, भजन गाएको र बाँसुरी बजाएको हेरेर रमाउने गर्थेँ,’ बाल्यकालमा संगीतप्रतिको रुचि यसरी सम्झिन्छिन् उनी।  

बुवा र हजुरबुवाबाट निकै प्रभावित उनी विवाह, उत्सव र कार्यक्रम समारोहमा सानैदेखि गीत भजन गाउँथिन् । भन्छिन्, ‘मलाई स्कुल जाँदा जतिखेर पनि गीत गाउन मात्र मन लाग्ने । यसरी मैले गीत गाएको देखेर सर–म्यामहरूले ‘तिमी राम्रो गाउने रहेछौ, तर पढाइको वेला गीत नगाऊ’ भन्नुहुन्थ्यो । म स्कुलको कार्यक्रमहरूमा सधैँ गीत गाउँथे ।’

पछि पछि त उनलाई सभा र ठुल्ठूला कार्यक्रममा पनि गीत गाउन बोलाउन थालियो । सानै भएकाले कतिपय बेलाउनले टेबुलमाथि बसेर पनि गीत गाइन् ।  

रेडियो नेपालमा गीत रेकर्ड गराएपछि उनमा गीत गाउने हुटहुटी झनै बढ्दै गयो । काम गर्ने ठाउँबाट रेडियो नेपाल सँगै पर्ने भएकाले उनी फुर्सद पाउने बित्तिकै त्यहाँ पुग्थिन् । कहिले खाजा खाने निहुँमा त कहिले के निहुँले । उनको गीतप्रतिको झुकाव देखेर संगीतकार नेपालीले ‘केही दिनपछि स्वर परीक्षा छ, तिमी सहभागी हुनू’ भने । उनी रेडियो नेपालमा स्वर परीक्षामा सहभागी भइन् । 

स्वर परीक्षा दिँदा उनले आधुनिक, भजन, स्वदेशगान र लोकगीत गरी चार विधाका गीत गाइन् । आधुनिकतर्फको गीतमा उनी छानिइन् । पछि रेडियो नेपालले उनलाई ‘पार्टटाइम जब’ समेत दियो, ०२८ सालदेखि उनको गायन यात्रा उकालो लाग्न थाल्यो । 

अनायासै गायिका बनेकी तीर्थको विवाहको प्रसंग रोचक छ । २०३० मा प्रेमबहादुर थापासँग उनको लगनगाँठो कसियो । त्यसबेलाको साँघुरो समाजमा पनि उनीहरूले प्रेम विवाह गरेका थिए, त्यो पनि अन्तरजातीय ।

आधुनिक सोच राख्ने परिवारको साथ र सहयोगका कारण तीर्थको जोडीले खासै समस्या भोग्नु परेन । श्रीमान्को पनि राम्रो साथ पाइन् उनले । त्यसले गर्दा गायनमा निरन्तर लाग्ने अवसर पाइरहिन् । 

यद्यपी, अफर आएर पनि एउटा रमाइलो गीत भने उनले गाउन पाइनन् । गायक लालबहादुर खातीले तीर्थकुमारीलाई ‘ए दिदी पोई पर्याे काले’ गीत गाउन ‘अफर’ गरेका थिए । रेडियोमा ‘पोई’, ‘पोइल जाने’ शब्द भएका गीत निशेधित थिए । उनलाई श्रीमानले पनि यस्तो गीत नगाउन सुझाव दिएका थिए । ‘पोई शब्द भएकै कारण मैले मैले यो गीत गाउन अस्वीकार गरेकी थिएँ’ उनले सम्झिन् ‘पछि यो गीत अरुले नै गाए ।’   

तीर्थकुमारी लोक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेरै सरकारी सेवामा प्रवेश गरेकी थिइन् । त्यसैले, निजामती सेवाअन्तर्गत हुलाक सेवा विभाग र सञ्चार मन्त्रालयमा काम गरेकी उनले ०४९ सालदेखि रेडियो नेपालमा काम गर्न थालिन् ।

एक हजारभन्दा बढी गीत गाइसकेकी उनले भजन, राष्ट्रिय, लोक, आधुनिक जस्ता विधामा स्वर दिइसकेकी छन् । साथै नेवारी भाषामा गाएका गीतसमेत रेकर्ड गराएकी छन् ।

कालजयी गीतकी गायिका 
‘म त खादिनँ कुवाको पानी,’ ‘डाँडामामाथि बिहानै,’ ‘ढुंगे बगर,’ ‘बारीको डिलमा ओखरबोट,’ ‘उकालीमा पनि हजुर मोटर जाँदो रैछ,’ ‘झम्के फुली नाकैमा बुलाकी,’ ‘कति बोलाउँ सुरेली पुग्दैन,’ ‘माछी मारन हो दाइ हो’ जस्ता कालजयी गीतमा उनले स्वर दिएकी छन् ।  

राजा वीरेन्द्रको पालामा दरबारमा हुने विभिन्न समारोहमा समेत उनको उपस्थिति हुन्थ्यो । त्यहाँ पनि उनले गीत गाउने गर्थिन् । 

त्यो बेला दरबारमा गीत गाउन अबसर पाउनु भनेको निकै ठूलो कुरा हुन्थ्यो । दरबारमा राजारानी र राजपरिवारका सदस्यका अघिल्तिर गीत गाउन पाउनुलाई कलाकारहरु निकै ठूलो अवसर मान्थे, दरबारमै पुगेर गाउने भएपछि समाजले पनि उनीहरुलाई भाग्यमानी मान्थे । तर, यो अवसरले सहजै पाइन् । 

नारायणहिटी राजदरबारको अघिल्तिर नारायणथान मन्दिर छ । नारायणहिटी राजदरबारको नाम यही मन्दिरको नाममा भएको हो । मन्दिर भएकाले त्यहाँ पुजाआजा र भजनकीर्तन कार्यक्रम भइरहन्थे । तीर्थकुमारी पनि त्यहाँको भजन गाउने टोलीमा थिइन् । 

दरबारभित्र राजा वीरेन्द्र थिए, नजिकैको नारायणथानमा तीर्थकुमारीले गाएको भजनको मीठो स्वर नारायणहिटीभित्र पुगेछ । त्यो स्वर सुनेर राजा वीरेन्द्र मोहित भएछन् ।  

‘राजा वीरेन्द्रलाई मेरो स्वर मन परेछ, उहाँले कर्मचारी खटाएर दरवारभित्रै मलाई बोलाउन पठाउनुभयो’ गीत गाउनका लागि दरवार प्रवेश गर्ने अवसर कसरी प्राप्त भयो भन्ने स्मरण गर्दै उनले भनिन्, ‘राजाले नै दरबारमा गीत गाउन आउनु भनेपछि म निकै खुसी भएँ ।’  

अन्ततः उनले २०३० देखि दरबारमा गीत गाउन थालिन् । उनले गाएको गीत सुनेर राजारानीले निकै प्रसंशा गर्थे । २०३० देखि ०५८ सम्म दरबारमा हुने कार्यक्रममा उनले निरन्तर गीत गाइरहिन् । 

तर, १९ जेठ ०५८ मा राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्रसहित उनको परिवारकै वंश नास भएपछि नारायणहिटीभित्र मनोरञ्जनका कार्यक्रम हुन छाडे । उनीपनि दरबार जान छाडिन् । 

०६५ मा उनले रेडियो नेपालको जागिरे जीवन सकियो । उनले अवकाश लिइन् ।

उनको इच्छा थियो, तारादेवीलाई हेर्ने । त्यही इच्छाले उनलाई साँच्चिकै गायिका बनाइसकेको थियो । एकदिन उनी स्टुडियोमा गीत रेकर्ड गराइरहेकी थिइन् । गायिका तारादेवी उनले गाएको हेरिरहेकी रहिछन् । भन्छिन्, ‘उहाँले हेरेको देखेर मलाई एकदमै डर लाग्यो, कतै केही बिग्रिने पो हो कि भन्ने पीर पर्याे । पछि त थाहा पाएँ, उहाँ आफैले ‘कत्ति राम्रो गाएको यो बहिनीले’ भनेर अरूसँग भन्नुभएको रहेछ ।’ 

त्यो पल आफ्नो जीवनको अविस्मरणीय भएको सम्झँदै उनी थप्छिन्, ‘त्यो सुन्दा म औधी खुसी भएकी थिएँ ।’

तारादेवीसँग उनी निकट भइन्, नारायण गोपालसँग पनि उनको सामीप्यता बढ्दै गयो । 

तीथकुमारी सञ्चार मन्त्रालयमा जागिरे थिइन् । त्यसवेला नारायणगोपाल संगीत क्षेत्रमा स्थापित नाम थियो । ‘रेडियो नेपालमा गीत गाउन थालिछौ बैनी भन्नुहुन्थ्याे नारायण दाइले’, उनी सम्झछिन्, ‘मैले जान्दछु र दाइ ? भन्दा धेरै राम्रो भो, यसरी गाउनू भनेर हौसला दिनुहुन्थ्यो । उहाँले टुरमा जाने कुरा छ, के गर्छौ? भन्नुभयो । मैले घरमा कुरा गरेर उहाँहरूसँग घुम्न जाने मौका पाएँ ।’ 

यसरी धेरै दिनसम्म बस्नेगरी पहिलोपटक कार्यक्रममा गएको सुनाउँछिन् उनी ।

‘नारायण गोपाल दाई निकै मिलनसार हुनुहुन्थ्यो । जब उहाँ बिरामी हुनुभयो, मसँग भन्नुहुन्थ्यो, ‘बहिनी मलाई गाह्रो भइरहेको छ । म अफिस आउन सक्दिन होला ।’ उनले सम्झिन्, ‘उहाँलाई घरमै भेटन समेत जान्थेँ । उहाँ संसारमा नभएपनि दाईको निकै याद आउँछ ।’  

नारायणगोपालले दिएको अवसर  
‘त्यसबेलै हो मैले नारायणगोपाल दाइसँग थुप्रै ठाउँमा गीत गाउने मौका पाएकी । त्यो टुर एकदमै रमाइलो भएको थियो । हामीले नारायणघाट, वीरगन्ज, हेटौंडालगायत थुप्रै ठाउँमा गीत गायौँ । उहाँ एकदमै रमाइलो मान्छे हुनुहुन्थ्यो ।’

गीत–संगीतप्रतिको उनको रुची खासमा सोख थियो । त्यसैले तीर्थकुमारीलाई सुरुमा त गीत गाएर पैसा पाइन्छ भन्नेसमेत थाहा थिएन । धेरै समयसम्म उनले विनापैसा रेडियो नेपालमा गीत गाइन् । ‘पछि कोइली दिदी (कोइलीदेवी माथेमा) ले पारिश्रमिक पाइन्छ’ भन्नुभयो । उहाँले नै मैले गाएका गीतहरूको क्यासेट खोजेर हिसाब गरिदिनुभयो । केही गीत गाएको त भेटिएन पनि’ उनले सम्झिन्,‘एक गीतको २० रुपैयाँ पाइन्थ्यो । त्यतिखेर मैले चार सय रुपैयाँ पाएको थिएँ ।’

गीत गाएवापत पाएको पैसा सुरुमा उनले सरस्वतीको मन्दिरमा गएर चढाइन् । भन्छिन्, ‘पैसा चढाएँ, पशुपति घुम्न गएँ । बुद्घ भगवानलाई धेरै मान्छु, उनलाई पनि पैसा चढाएँ ।’ 

कार्यालयबाट उनी हिँडेरै घर जान्थिन्, कहिले त रात पनि पथ्र्यो । रेडियो नेपालबाट कहिले बिहान त कहिले दिउँसो गीत गाउन उनलाई बोलाउँथे । समयमा घर नपुग्दा कहिलेकाहीँ श्रीमान् रिसाउँथे । त्यसवेला भने उनलाई बेकारमा गीत गाउन थालिएछ जस्तो लाग्थ्यो । 

‘तर श्रीमान् सहयोगी भएकैले छोराछोरी हुर्काउन भने त्यति गाह्रो भएन’ उनी श्रीमानकाे खुलेरै प्रशंसा गर्छिन् । 

उनले प्रबल गोरखा दक्षिणबाहु (२०५८), वीरेन्द्र ऐश्वर्य सेवा पदक (२०५८), २५ बर्से सेवा स्वर्ण पदक, रेडियो नेपाल (२०५५), रेडियो नेपालद्वारा २०५७ सालमा ‘प्रतिष्ठित श्रेणीको गायिका’ को प्रमाणपत्र पाएकी छन् । यसैगरी नई कलानिधि संगीत सम्मान (२०६०), नारायणगोपाल संगीत सम्मान (२०७०), क्षेत्रीय प्रतिभा पुरस्कार (२०७३), नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा ‘विशिष्ठ श्रेणीको गायिका’को श्रष्टा÷कलाकार परिचयपत्र (२०७५) उनले पाएका थप सम्मान हुन् । 

साथै नेपाल सांगीतिक संघ पुरस्कार (२०७२), सिद्घिपुर महोत्सव सम्मान (२०६८), सांस्कृतिक संस्थान सम्मान, जमल (२०६९), अन्तर्राष्ट्रिय नेपाली सांस्कृतिक कला सम्मान (२०६८) लगायत थुप्रै सम्मान र पुरस्कार उनले गीत साधनामा लागेर पाइसकेकी छन् । 

यसै वर्ष ओएस म्युजिक नेपालद्वारा ‘लाइफ एचिभमेन्ट अवार्ड’ (२०७६) बाट समेत उनी विभुषित भइन् । 

संगीत यात्रामै जीवन बिताएकी तीर्थ जीवनदेखि एकदमै खुसी छिन् । भन्छिन्, ‘संगीतले मलाई चिनायो । छुट्टै परिचय थपिदियो, एकदम खुसी छु ।’ 

उनका छोरा सुरजकुमार पनि अहिले गायन यात्रामै रमाइरहेका छन् । 

फोटो । भिडियो : अमुल थापा