१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ १४ मंगलबार १४:४७:००
Read Time : > 4 मिनेट
ब्लग

कागज : प्लाष्टिकको विकल्प, जंगल र पर्यावरणको शत्रु

Read Time : > 4 मिनेट
२०७६ माघ १४ मंगलबार १४:४७:००

वातावरण प्रदुषणको मुख्य स्रोत बन्न पुगेको प्लास्टिकको सबैभन्दा उपयुक्त विकल्पका कागजलाई लिन थालिएको छ । तर, कागजको बढ्दो प्रयोगको दीर्घकालिन असर पनि पर्यावरणमै पर्ने देखिँदैछ । 

प्लास्टिक प्रयोगले हावा–पानी, जमिन सबै प्रदुषित गराउँछ । फोहोरको सबैभन्दा धेरै मात्रा प्लास्टिकको रहेको छ । नेपालकै कुरा गरौँ, यहाँ जम्मा हुने कूल फोहोरको ७० प्रतिशत अंश प्लास्टिक हुने गरेको छ भने विश्वभर उत्पादित फोहोरमा ८० प्रतिशत मात्रा प्लास्टिक रहेको छ । 

हामीले प्रयोग गर्ने दैनिक जीवनमा प्लास्टिकको प्रयोग अत्याधिक हुन्छ । धेरै सामान प्लास्टिकका हुन्छन् । साना साना सामानदेखि आकाशमा उड्ने बोइङमा पनि प्लास्टिक प्रयोग हुन्छ । तर पनि सबैभन्दा बढी प्लास्टिकको प्रयोग झोलाको रुपमा हुने गरेको छ ।  

हानी नै हानी 
विश्वमा प्रतिमिनेट १० लाख भन्दा बढी प्लास्टिक ब्यागको प्रयोग हुन्छ । यी ब्यागहरु ‘सिंगल युज’ हुन्छन् । पुनः प्रयोग गरिने प्लास्टिकहरु थोरै मात्र छन् । 

विश्वभर प्रत्येक वर्ष करिब ३ सय मिलियन टन प्लास्टिक उत्पादन हुन्छ, जसमा आधा नष्ट गर्न सकिने (डिस्पोजेबल) हुन्छन् । उत्पादित प्लास्टिकका सामानमध्ये करिब १०-१३ प्रतिशत मात्रै पुनः प्रयोग हुन्छ र बाँकी प्लास्टिक एकपटक प्रयोग गरेर फालिन्छ । 

ब्यागपछि प्लास्टिक सबैभन्दा बढी ‘फुडकभर’ का लागि प्रयोग हुन्छ, जसमा जंकफुडहरु छन् । हामी प्लास्टिक प्रयोग गर्छौं र जथाभावी फालिदिन्छौं । यसरी फालिएका प्लास्टिकहरु खोलानालामा पुग्छन् र बगेर समुद्रसम्म पुग्छन् । फालिएका धेरै प्लास्टिक जम्मा भएर पानीको प्रवाहलाई रोक्छन् । यसरी रोकिएको पानीको ताल पछि फुटेर बाढी आउनेसम्म समेत हुन्छ । 

सामुद्रिक तटहरु प्लास्टिकले भरिएका छन्, यसले वातावरणको स्वरुप नै बिगारिदिएको छ । समुद्रमा थुप्रिएका प्लास्टिक खाएर जलीय जीवजन्तुहरु मर्ने क्रम पनि तीब्र छ ।

प्लास्टिकको समस्या निकै भयावह छ । यो विभिन्न रसायनबाट बनाएको लचकदार वस्तु हो, जो हतपत कुहिँदैन । यसलाई कार्वन, हाइड्रोजन, अक्सिजन, हेलोजन भएका अर्गानिक कम्पाउण्डलाई उत्प्रेरकको सहयोगमा पोलिमराइज गरेर विशाल पारमाणविक मास भएको लचकदार पदार्थको कृत्रिम संश्लेषण गरेर बनाइन्छ । प्लास्टिकलाई रासायनिक भाषामा पोलिइथिलिन भनिन्छ । यस्ता रसायनबाट बनाइने भएकाले यो पर्यावरणका लागि निकै हानिकारक छ । 

प्लास्टिक कुँहिदैन, टुक्रिन्छमात्र । टुक्रिँदै–टुक्रिँदै जाँदा लामो समयपछि मसिना कण भएर हावा तथा पानीमा बस्छ र हाम्रो श्वासप्रश्वासमा पनि समस्या ल्याउँछ । यसलाई पूर्णरुपमा नष्ट हुन करिब ४ सय वर्ष लाग्छ । 
यसमा हुने रासायनिक तत्वले जमिनको उर्वराशक्ति घटाउँछ । प्लास्टिकमा भएका रासायनिक तत्व माटोबाट उत्पादित खाद्यान्नमा समेत रहने हुँदा यसले हाम्रो स्वास्थ्यमा पनि नकारात्मक असर पार्छ । 

प्लास्टिकले पृथ्वीमै ठूलो प्रलय ल्याउने अवस्था आएपछि विश्वभर अहिले सिंगल युज प्लास्टिक प्रयोगमा सकेसम्म कमगर्ने र रोक लगाउने प्रयास थालिएको छ । 

धेरै देशहरुले दीगो विकासका एजेन्डाहरुमा प्लास्टिकलाई कागजले पुनस्र्थापित गर्न जोड दिएका छन् । प्लास्टिकभन्दा कागजको प्रयोग पर्यावरणका लागि उपयुक्त त छ तर कागजको पनि दीगो व्यवस्थापनमा धेरै चुनौति देखिन्छ । 

कागजप्रति आकर्षण
प्लास्टिक हानिकारक भएको तथ्य फैलिएसँगै मानिसहरु कागज प्रयोगतर्फ आकर्षित छन् । यसले बजारमा कागजको माग दोब्बर बढाएको छ । नेता, व्यापारी, अधिकारकर्मीहरु प्लास्टिकलाई कागजबाट ‘रिप्लेस’ गर्ने एजेन्डा बनाउँदैछन् । तर कागजको स्रोत के हो र यसलाई कसरी जोगाउनु पर्छ भन्ने तर्फ ध्यान दिन सकेका छैनन् । 

विश्वभर अहिले करिब ४० करोड टन कागजको प्रयोग भइरहेको छ । पैसा, कार्डबोर्ड, बिल, कफी कप, अण्डा राख्ने बट्टा, जन्मदिनको शुभकामना कार्ड जस्ता सबै सामान कागजबाट बनेका छन् । 

कागज बनाउन नरम तथा कडा काठ भएका रुखहरुको प्रयोग गरिन्छ । विश्वभर हरेक वर्ष कागज उद्योगले १० करोड हेक्टर क्षेत्रफलको जंगलका रुख खपत गर्छन् । साथै, कागज बनाउन पानीको आवश्यकता पनि त्यति नै पर्छ ।  

विश्वमा सबैभन्दा धेरै कागज चीनमा बन्छ । चीनले कागज बनाउन एक वर्षमा करिब ३.३५ अर्ब टन लिटर पानी खर्च गर्छ । 

काठलाई ‘पल्पिङ’ र ‘ब्लिचिङ’ गरेपछि रसायन मिसिएको पानी कतिपय कागज उद्योगले सिधै मुहान, खोलाहरुमा मिसाइदिन्छन् । यति धेरै मात्रा रसायन मिसिएको पानी सिधै वातावरणमा फाल्दा यसले माछा तथा अन्य जीवजन्तुमा प्रत्यक्ष असर पु¥याउँछ । पानीमा रसायन मिसाएपछि खानेपानी अभाव अर्को समस्या हुन्छ । 

कागजको दीगो व्यवस्थापनको अर्को चुनौति भनेको उर्जा हो । कागज उद्योगमा धेरै मात्रामा उर्जा खपत हुन्छ । विश्वभर उर्जाको माग २.३ प्रतिशतले बढ्दो छ । उर्जा संकट अझै बृद्धि भयो भने यसको प्रत्यक्ष प्रभाव कागज उत्पादनमा अझ बढी पर्छ । कागजको दीगो प्रयोगका लागि पनि उर्जा उत्पादनलाई पनि प्राथमिकतामा राख्नुपर्छ । 

पछिल्लो समय पर्यावरणमा ध्यान दिँदै कागज उद्योगहरुले सकेसम्म प्राकृतिक स्रोतको प्रयोग कम गर्न थालेका छन् । जस्तो : पानीको प्रयोगमा कमी । 
 
सन् १९४०-५० को दशकमा कागज बनाउन धेरै मात्रामा पानी चाहिन्थ्यो । एक टन पेपर बनाउन दश हजार ग्यालिन पानी खर्च हुन्थ्यो । तर अहिले अमेरिका, युरोपेली उद्योगहरुले यसमा सुधार ल्याएका छन् । ‘जेरो वेस्ट’ को अवधारणालाई अगाडि सार्दै केही मिलहरुले प्रयोग भएको पानीलाई पुनः प्रशोधन गरेर प्रयोग गर्न थालेका छन् । 

प्लास्टिकका सामानहरुको उत्पादन जति छिटो कम हुँदै जान्छ, त्यति नै छिटो कागजको बृद्धि र माग बढ्छ । र, यसले पनि पर्यावरणमा प्रत्यक्ष प्रभाव पार्छ । 

सन् १०५ मा चीनमा आविष्कार भएपछि कागजले वस्तुको उपयोग र उपभोग सम्बन्धी शैलीमा परिवर्तन ल्याइदियो । कागजविना अहिलेको आधुनिक जीवन कल्पना गर्न पनि सकिँदैन । तर यसका लागि उर्जा उत्पादन, पानीको संरक्षण, जंगलको विस्तार र संरक्षण चुनौतिको रुपमा रहेको छ । 

उत्पादनमा समस्या
विश्वको जनसंख्या अहिले ७ अर्बभन्दा बढी पुगिसकेको छ । जनसंख्या बृद्धिदर १.०८ प्रतिशत छ । हरेक वर्ष ८२ मिलियन जनसंख्या बृद्धि भइरहेको छ । यहीअनुसार जनसंख्या बढ्दै जाने हो भने सन् २०५० सम्ममा विश्वको जनसंख्या  बढेर १० अर्ब बढी पुग्ने अनुमान गरिएको छ । 

बढ्दो जनसंख्या बासस्थान र खाद्यान्नको लागि जंगल फँडानी हुँदै गइरहेको छ । जंगलसँग मानिसको सिधा सम्बन्ध छ । जंगल मानिसले सबैभन्दा धेरै कुराका लागि प्रयोग गर्ने प्राकृतिक स्रोत हो । अहिले विश्वमा कूल जमिनको ३० प्रतिसत मात्र  वनजंगल छ । संरक्षणमा कम ध्यान दिने र प्रयोग बढी गर्नाले यसको क्षेत्र साँघुरिदै गएको छ । 

प्राकृतिक स्रोतसाधनको अवैज्ञानिक उपयोग हुँदा, भौतिक विकास र पर्यावरणबीच वैज्ञानिक आधारमा समन्वय नगरिँदा वायुमण्डलको तापमान बढ्दो छ । यसले हिउँ पग्लिने, भएका पानीका स्रोतहरु सुक्ने, लामो समयसम्म खडेरी पर्ने, जंगलहरुमा आगलागी बढ्ने, सुख्खा पहिरो जाने, भूक्षय हुने जस्ता समस्याहरु बढेका छन् । अब पनि हामीले वातावरण जोगाएनौं र विश्व उष्णीकरण थोरै पनि बढ्यो भने त्यो प्राणी जीवनका लागि अति नै खतराजन्य हुने चेतावनी वैज्ञानिकहरुले दिएका छन् । 

वातावरण प्रदुषण कम गर्ने र जैविक विविधता जोगाउन प्लास्टिकमा रोक लगाएर मात्र पुग्दैन । प्रकृति संरक्षणका लागि गरिएइका प्रयास कति वैज्ञानिक र लाभदायक छन् भनेर पनि मूल्याङ्कन र चिन्तन गर्नु पनि उत्तिकै आवश्यक छ । 

हुनसक्छ, प्लास्टिक छोडेर कागजको प्रयोग गर्दा प्रदुषण निकै घट्ला । तर वनजंगलको संरक्षणतिर ध्यान दिएनौं भने कागजको अस्तित्व पनि लामो समय नरहन सक्छ ।  

(लेखमा प्रयोग गरिएका तथ्याङ्क डब्लुडब्लुएफ, अब्जरभेटरी फर इकोनोमिक कम्प्लेक्सिटीबाट लिइएका हुन्)