मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७५ पौष २ सोमबार १३:०२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

बिरामीलाई शय्या छैन कुरुवालाई भवन बनाइँदै

Read Time : > 1 मिनेट
२०७५ पौष २ सोमबार १३:०२:००

बिरामीको चापले भरतपुर अस्पतालमा छिटोछरितो र गुणस्तरीय स्वास्थ्य सेवा पाउन समस्या उत्पन्न भएको छ । अस्पतालमा १२ शय्याको आकस्मिक कक्ष छ । पुरानो भवनमा रहेको आकस्मिक कक्ष पनि सुविधासम्पन्न छैन । अस्पतालको अन्य उपचार विभागभन्दा यो विभाग अव्यवस्थित र साँघुरो पनि छ । प्रत्येक १० शय्याबराबर एक आकस्मिक शय्या हुनुपर्नेमा अस्पतालमा जम्मा १२ वटा मात्र आकस्मिक शय्या छ ।


भरतपुर अस्पतालमा तत्कालको आवश्यकता सुविधासम्पन्न आकस्मिक कक्ष भवनको निर्माण र प्रसूति भवन निर्माण गर्नुपर्ने हो । तर, अस्पताल व्यवस्थापनले कुरुवाका लागि भवन बनाउन लागेको छ । ६ करोड दुई लाख रुपैयाँ लागतमा सहरी विकास मन्त्रालयले कुरुवा भवन बनाइदिन लागेको हो । कुरुवा भवन अस्पतालको पूर्वपट्टिको खाली ठाउँमा बन्नेछ ।
भवन निर्माणका लागि निर्माणकर्ताको समेत छनोट भइसकेको छ । बोलपत्र आह्वानपछि निर्माणको ठेक्का रविना जोशी फुलजोर जेभीले पाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘भरतपुर अस्पतालको टड्कारो आवश्यकता भनेको आकस्मिक भवनको निर्माण नै हो,’ मेसु पौडेलले भने, ‘अहिले अस्पताल प्रशासन आकस्मिक भवन निर्माणका लागि स्वास्थ्य विभाग र मन्त्रालय धाइरहेको छ ।’ 

अस्पतालको स्तरोन्नति गरिने
स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पताललाई स्तरोन्नति गरी पाँच सय शय्या बनाउन गरेको प्रस्तावमा मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति जनाएको छ । तीन सय शय्याको सरकारी स्वीकृति लिएको अस्पताल हाल समितिमार्फत सञ्चालन भइरहेको छ । 

यसअघि जिल्ला अस्पतालको मात्र मान्यता रहेको भरतपुर अस्पतालसहित कोसी अञ्चल अस्पताल, नारायणी अञ्चल अस्पताल, भेरी अञ्चल अस्पताल र डडेल्धुरा उपक्षेत्रीय अस्पताललाई स्तरोन्नति गर्ने प्रस्ताव गत मन्त्रिपरिषद्को बैठकमा लगिएको थियो । भरतपुर अस्पतालले रिफर गरिएका बिरामी हेर्न‘पर्ने भए पनि जनशक्ति सेवासुविधा नभएका कारण समस्या परेको थियो । शय्या बढेपछि कर्मचारी दरबन्दी पनि बढ्ने अस्पतालले जनाएको छ । 

भुइँमै सुत्केरीको उपचार
भरतपुर अस्पतालमा एक सय २० शय्याको स्त्री तथा प्रसूति विभाग छ । दैनिक ४० जना बच्चा जन्मन्छन् । शय्या अभावमा नवजात शिशु र सुत्केरीको भुइँमै उपचार हुने गरेको छ । बर्सेनि अस्पतालमा सुत्केरी गराउनेको संख्या बढेकोबढ्यै छ । शय्या अभावमा सुत्केरीहरू भुइँमै उपचार गराउन बाध्य छन् ।

 

गर्भवतीलाई स्टेचरमा बोकेर अस्पताल


गगन अयडी / बाजुरा
त्रिवेणी नगरपालिका–६ की सावीदेवी बुढा प्रसूति बेथा लागेको चार दिनपछि स्टेचरमा बोकेर कैलनमान्डौंमा रहेको उपस्वास्थ्यचौकीमा पु-याइयो । तर, उपस्वास्थ्यचौकीले उनको उपचार सम्भव नभएको भन्दै अछामको बयालपाटास्थित एक अस्पतालमा रिफर ग-यो । यातायातको सुविधा नभएपछि त्रिवेणी नगरपालिका १,२,३,५,६,७,९ वडा नम्बरका स्थानीयलाई गर्भवती महिला र गम्भीर बिरामीलाई स्टेचरमा राखी घन्टौँ बोकेर स्वास्थ्यचौकी लैजानुपर्ने बाध्यता छ । 

बिरामीको बाटोमै जान्छ ज्यान
यातायात समस्याका कारण गर्भवती महिला र बिरामीको बाटोमै ज्यान जाने गरेको स्थानीय मोतीसिंह बुढाले बताए । नगरपालिकाले स्थानीयको दुःख र मर्काको विषयमा कुनै वास्ता नगरेको उनको गुनासो छ । त्रिवेणी नगरपालिका प्रमुख रामसिंह रावलले भने अबको पाँच वर्षभित्र सबै वडामा सडक सञ्जालले छुने बताए । ‘यो समस्या बाजुरा जिल्लाका सबै नगरपालिका र गाउँपालिकामा छ,’ उनले भने ।