१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ १४ मंगलबार १०:१२:००
Read Time : > 2 मिनेट
खेलकुद

ए डिभिजन लिग : मच्छिन्द्रको जितमा थ्री स्टार उपाधिहोडबाट बाहिरियो

Read Time : > 2 मिनेट
२०७६ माघ १४ मंगलबार १०:१२:००

खर्चिलो क्लब मच्छिन्द्रले सोमबार सहिद स्मारक ए डिभिजन लिगको महत्वपूर्ण खेलमा पूर्वविजेता थ्री स्टारलाई २–० ले हरायो । यो नतिजाले मच्छिन्द्र उपाधिहोडमा लम्कियो । त्यहीँ नै थी स्टार लगभग उपाधिदौडबाट बाहिरिएको छ । मच्छिन्द्रलाई कम्तीमा एक दिनका लागि शीर्ष स्थानमा पुर्‍याउन रेजिन सुब्बा र विशाल राई बीले एक–एक गोल गरेका थिए । थ्री स्टारको उपाधि जित्ने सम्भावना गणितीय आधारमा मात्र बाँकी छ । तर, प्रशिक्षक मेघराज केसीको भनाइ भन्ने हो भने थ्री स्टार उपाधिबाट बाहिरिसकेको छ ।

‘मच्छिन्द्रसँग तीन अंक गुमाउनु नै हामी उपाधिहोडबाट बाहिरिन काफी भयो,’ खेलपछि थ्री स्टारका प्रशिक्षक मेघराजले भने, ‘मच्छिन्द्रसँगको खेल उत्कृष्ट थियो, तर अंक गुमाउनु नै घातक भयो ।’ थ्री स्टारका खेलाडीले खेलअनुसार स्कोर निकाल्न नसक्नु कमजोरी भएको मेघराजले बताए । ‘खेलाडीले खेल योजनाअनुसार स्कोर गर्न सकेनन्,’ उनले भने, ‘यद्यपि, पराजित भए पनि खेलाडीको प्रदर्शनबाट खुसी नै छु ।’ लिगको उपाधि जित्ने लक्ष्य तुहिएपछि अर्को योजना के भन्ने प्रश्नमा प्रशिक्षक मेघराज भन्छन्, ‘अब हाम्रो लक्ष्य शीर्ष ६ भित्र रहने नै हो ।’ शीर्ष ६ भित्र रहनका लागि एकरूप प्रदर्शन हुनुपर्ने उनको विश्लेषण छ । 

‘हामी शीर्ष ६ स्थानमा रहन अहिलेको प्रदर्शन निरन्तर हुनुपर्छ,’ उनले भने । मच्छिन्द्रले नौ खेलबाट १९ अंक जोडेको छ । लिगअन्तर्गत मंगलबार त्रिभुवन आर्मीले जावलाखेल युथविरुद्ध प्रतिस्पर्धा गर्नेछ । जावलाखेललाई हराउँदा आर्मी पुनः शीर्ष स्थानमा उक्लिनेछ । बराबरी नतिजाले पुनः एकपटक आर्मीको उपाधि जित्ने अभियानमा धक्का लाग्नेछ । 

मच्छिन्द्रले पहिलो हाफमै अग्रता लिएको थियो । खेलको ३८औँ मिनेटमा सुजल श्रेष्ठको आकर्षक क्रसमा डिबक्समा अनमार्क रहेका रेजिनले पहिलो बार च्याप्दै मच्छिन्द्रलाई १–० को अग्रता दिलाए । पहिलो हाफमा थ्री स्टारले आकर्षक मुभ बनाउन सकेन । पहिलो हाफमा मच्छिन्द्र दोहोरो अग्रता लिनबाट चुक्यो । थ्री स्टारका गोलरक्षकलाई बिट गरेर रेजिनले प्रहार गरेको बल गोललाइनबाट थ्री स्टारका कप्तान विक्रम लामाले क्लियर गरेका थिए । खेलको ९०औँ मिनेटमा काउन्टर एट्याक्टमा विशालले मच्छिन्द्रलाई २–० को अग्रता दिलाए । कप्तान सुजलले डिबक्सभित्र निकालेको क्रसमा विशाल गोल गर्न सफल भए ।

खेलपछि मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले सोचेअनुरूप  नतिजा निस्किएको बताए । उनले भने, ‘हामीले सोचेअनुरूप खेल्दा नतिजा निकाल्न सफल भयौँ । यो खेल लिगकै उत्कृष्ट प्रतिस्पर्धाका रूपमा रह्यो ।’ प्रतिस्पर्धामा खेलाडीको फिटनेसअनुसार मात्र स्थान दिएको उनको भनाइ छ । ‘थ्री स्टारविरुद्ध फिट भएका खेलाडीले मात्र स्थान पाए,’ उनले भने । सोमबारको पहिलो खेलमा विभागीय डर्बीमा नेपाल पुलिस क्लबले एपिएफलाई १–० ले हरायो । पुलिसको जितमा एक मात्र गोल भोलानाथ सिलवालले गरेका थिए । खेलको १३औँ मिनेटमा पुलिसले पेनाल्टी पाएको थियो । सिलवालले पेनाल्टीमा गोल गर्दा पुलिसले एपिएफविरुद्ध १–० ले अग्रता लियो । 

अभिषेक माल्दिभ्सतिर

यो सिजनमा मच्छिन्द्रले स्टार खेलाडी भित्र्याउन आर्थिक पक्षमा आँखा चिम्लियो । यद्यपि, नाम चलेका खेलाडी भए पनि मच्छिन्द्रले अझै पनि सोचेजस्तो नतिजा निकाल्न सकेको छैन । स्टार खेलाडीमध्ये राष्ट्रिय टोलीका युवा स्ट्राइकर अभिषेक रिजाल एक हुन् । १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपाललाई फुटबलमा स्वर्णपदक दिलाउन अभिषेकले उत्कृष्ट प्रदर्शन गरेका थिए । सागलगत्तै मच्छिन्द्रले अभिषेकलाई अनुबन्ध गरेको थियो । लिगको आठौँ चरणसम्म स्थान बनाएका अभिषेकले आफ्नो पहिचानअनुसार प्रदर्शन गर्न सकेनन् । यसैबीच अभिषेक लिग छाडेर माल्दिभ्सको बी डिभिजन क्लब खेल्न गएका छन् । यसअघि मच्छिन्द्रका अर्का खेलाडी हेमन गुरुङ अस्ट्रेलिया गएका थिए । लिगको पहिलो खेलपछि नै उनी अस्ट्रेलियातर्फ हानिए । 

अर्का राम्रा खेलाडी पनि विदेशी लिग खेल्न जाँदा मच्छिन्द्रले केही धक्का सामना गरेको छ । अभिषेककै आग्रहमा उनलाई क्लबले रिलिज गरेको प्रशिक्षक कटुवालले बताए । ‘माल्दिभ्सको बी डिभिजन लिग खेल्न अभिषेकले आग्रह गरेका थिए, हामीले उनको खेल भावनाअनुरूप नै रिलिज गरेका हौँ,’ कटुवालले भने, ‘यो निर्णय लिन हामीलाई गाह्रो भएको थियो ।’