१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
डा. अनूप सुवेदी
२०७६ माघ १४ मंगलबार ०९:३५:००
Read Time : > 7 मिनेट
दृष्टिकोण

कहालीलाग्दो बनाउन सक्छ कोरोना भाइरसले

Read Time : > 7 मिनेट
डा. अनूप सुवेदी
२०७६ माघ १४ मंगलबार ०९:३५:००

ठम्याउन नसकेको विषय, रोग २–३ फिटको दूरीसम्म जान सक्ने हावामा हुने र्‍यालका छिटाबाट मात्र सर्छ कि टाढा–टाढासम्म उडेर जान सक्ने अति सूक्ष्म कणबाट ?

चीनको वुहानबाट फैलिएर यो लेख लेख्ने वेलासम्म हाम्रो समेत अन्य १२ देशमा फैलिसकेको कोरोना भाइरसको प्रभाव नेपालमा कस्तो होला भन्नेमा सञ्चारमाध्यममा धेरै विज्ञका विचार सुन्न–पढ्न पाइरहेका छौँ । अधिकांशले निकै आत्मविश्वासका साथ राय दिएका छन् । तर, यो विषाणु (भाइरस)बारे धेरै विषय टुंगोे नलागिसकेको हुनाले ढुक्क हुने र ढुक्कैसँग राय दिने छुट हामीलाई छैन । हालसम्म थाहा पाइएका तथ्य र नेपालको विद्यमान स्वास्थ्य सेवा प्रणालीको अवस्थाको आलोकमा यो भाइरसले दिन सक्ने चुनौती कति गम्भीर छन् र तिनलाई सामना गर्न कस्तो तयारी चाहिन्छ भन्नेमा यथार्थपरक समीक्षा भयो भने मात्र हाम्रो तयारी प्रभावकारी हुन सक्छ भन्ने आशयले यो लेखमा विमर्श गर्ने प्रयत्न गरिएको छ । 

गम्भीर श्वास–प्रश्वासका रोग लगाउन सक्ने इनफ्लुएन्जा वा पहिलेका अन्य प्रजातिका कडा खालका कोरोना भाइरसजस्तै सार्स वा मर्स कोरोना भाइरस आदिले लगाउने रोगका लक्षण निकै सामान्यदेखि निकै गम्भीरसम्म हुन सक्छन् । कतिलाई खकार वा र्‍याल जाँच गर्दा भाइरस शरीरमा रहेको पाइँदा पनि फिटिक्कै लक्षण नै नदेखिन सक्छ । कतिलाई सामान्य जिउ दुःखाइ, रुघाखोकी आदि होला । कतिपयलाई चाहि“ बेस्सरी ज्वरो आउने, श्वास–प्रश्वासमा बाधा हुने र भेन्टिलेटरमै राख्नुपर्ने वा त्यसमाथि ब्याक्टेरियाले गराउने निमोनिया हुन सक्छ । कडा लक्षण हुने अधिकांश बिरामी निकै कम वा बढी उमेर वा मधुमेह, मुटु, फोक्सो वा मिर्गाैलाका रोग आदि कारणले रोगप्रतिरोधी क्षमता कमजोर हुने वर्गका हुन्छन् । 

यसपालिको ‘नयाँ’ कोरोना भाइरसका बिरामीमा पनि सामान्यदेखि गम्भीर लक्षण देखिएका छन् । सामान्य लक्षण देखिएको बिरामीले आफूलाई अरूवेला हुनेजस्तो सामान्य रुघाखोकी मात्र होला भनेर बेवास्ता गरिरहन सक्छन् । तिनीहरू आफू त केही समयपछि निको होलान्, तर त्यसबीचमा आफ्नो निकट सम्पर्कमा आउने कतिपयलाई रोग सारिसकेका हुन सक्छन् । यदि सबैलाई कडा लक्षण मात्र हुन्थ्यो त बिरामी अस्पतालमा गएर परीक्षण गराउँथे । तिनको रोगको चाँडो निदान हुन्थ्यो होला । साथै वरिपरिका अरूले, विशेषगरी रोगप्रतिरोधी क्षमता कमजोर हुनेले पनि बिरामीको रोगप्रति सजग हु“दै सावधानी अपनाउँथे होलान् र समग्रमा एकबाट अर्को मान्छेमा रोग सर्ने सम्भावना कम हुन्थ्यो । तर, कडा लक्षण मात्रै नहुने रोगको भाइरसलाई एयरपोर्टमा ज्वरो आएका बिरामीको पहिचान गर्ने थर्मल स्क्यानरका बाबजुद ‘उम्किन’ धेरै सजिलो हुन्छ । 

व्यक्ति–व्यक्तिबीच प्रसार नहुने गरी नियन्त्रण गर्न गाह्रो हुन्छ । यस्तो अवस्थामा भाइरसले कमजोर रोग प्रतिरोधी प्रणाली भएका व्यक्तिलाई सिकार बनाउने मौका पाउ“छ । यस अर्थमा नया“ कोरोना भाइरस सार्स र मर्स कोरोना भाइरसभन्दा धेरै फरक र खतरनाक छ, र इनफ्लुएन्जाजस्तै विश्वभर फैलिन र लाखौँको ज्यान लिन सक्ने प्रकारको हुन सक्छ । 
शरीरमा यो भाइरस प्रवेश गरेपछि रोगको लक्षण देखिन लाग्ने अवधि १२ दिनसम्म लाग्ने आकलन छ । यसको अर्थ कोही शरीरमा भाइरसको संक्रमण भएकै दिन चीनबाट नेपाल आएछ भने यहा“ आइपुगेको १२औँ दिनमा मात्र उसलाई ज्वरो वा रुघाखोकी लाग्न सक्छ । विमानस्थलमा राखिएको तापक्रम स्क्यानरले कसैगरी पहिचान गर्न सक्ने छैन । अनि यहा“ आएर खोक्न थालेपछि उसले अरू मान्छेमा भाइरस सार्न सक्छ । सम्भवतः प्रारम्भिक अनुमान मात्र होला, तर चीनका स्वास्थ्यमन्त्रीले बताएअनुसार रोगको लक्षण देखिनुअगावै व्यक्ति–व्यक्तिबीच सर्न सक्छ । यसो हो भने यो रोगको विश्वव्यापी प्रसारलाई रोक्न र रोगमाथि काबु पाउन कठिन हुनेछ । 

कोरोना भाइरस व्यक्ति–व्यक्तिबीच सर्न मात्र सक्ने होेइन, इनफ्लुएन्जाजस्तै अस्पतालबाहिर आममानिसमा ‘स्थिर’ रूपमा प्रसारित भइराख्न सक्ने देखिएको छ । यस्तो सार्स वा मर्सको हकमा देखिएको थिएन । समग्रमा सार्स र मर्सले भन्दा धेरै बढी क्षति पुर्‍याउन सक्ने देखिन्छ । सार्सका बिरामीको मृत्युदर ११.५ प्रतिशत जति थियो, मर्सका बिरामीको मृत्युदर ३४.५ प्रतिशतजति । सार्स निर्मूल हुनुअघि जम्माजम्मी आठ हजार ९८ जना बिरामी भए र सात सय ७४ जनाको मृत्यु भयो ।

मर्सले अहिलेसम्म दुई हजार चार सय ९४ जनालाई बिरामी बनाएको छ र आठ सय ५८ जनाको मृत्यु भएको छ । इनफ्लुएन्जाको मृत्युदर त ०.१५ मात्र छ, तर सन् २०१८ र २०१९ को जाडो याममै अधिकांशले यसविरूद्ध खोप पनि लगाउने देश अमेरिकामै ३४ हजार दुई सयको ज्यान लियो । वुहानको कोरोना भाइरसबाट पनि निदान हुन थालेको चार हप्तामै दुई हजार सात सयभन्दा बढी बिरामी भएको प्रमाणित भइसक्यो । ८० जनाको मृत्यु भइसक्यो । विविध कारणले गर्दा यसको प्रसारको प्रकृति सार्स वा मर्सको भन्दा इनफ्लुएन्जाको जस्तो पो हुने हो कि भन्ने भय छ । यसको मृत्युदर ४.५ प्रतिशतजति देखिएको छ । कोरोना भाइरसका अघिल्ला संस्करण सार्स र मर्सभन्दा मृत्युदर कम भएकाले ‘यो विषाणुस“ग डराउनुपर्दैन’ भन्नेले माथिका कुरामा ध्यान दिएको बुझिँदैन । 

त्यसबाहेक हामी कुन देशको कुरा गर्दै छौँ भन्ने कुरा पनि हेक्का राख्नुपर्छ । वुहानको अस्पतालमा भर्ना भएर बिल्कुल नयाँ भाइरसको संक्रमण भएको निक्र्योल भएका सुरुका ४१ जना बिरामीको विवरणले के देखायो भने एकतिहाइजति बिरामी सघन उपचार कक्षमा भर्ना गर्नुपर्ने गरी सिकिस्त हुने रहेछन् । नेपालमा धेरै मान्छे सिकिस्त हुन थाले र पाँच–छ दर्जनलाई मात्र सघन उपचार चाहियो भने हाम्रो समग्र सघन उपचार क्षमता पूरै सकिन्छ । यदि साँच्चै दुई चार सय वा एक हजारलाई सघन उपचार चाहियो भने के गर्ने ? 

मृत्युदरको कुरा गर्दा अर्को के पनि मननीय छ भने अहिलेको ४.५को अनुमानित मृत्युदर चीनको हो, जहाँ नेपालभन्दा धेरै बढी अनुपातमा दक्ष जनशक्ति, चुस्त संक्रमण नियन्त्रण प्रणाली, विविध हिसाबले सुसज्जित अस्पताल, उन्नत उपचारात्मक स्वास्थ्य सेवा प्रणाली र सक्षम समग्र जनस्वास्थ्य प्रणाली छ । हाम्रोजस्तो कमजोर स्वास्थ्य सेवा प्रणाली र जनस्वास्थ्य प्रणाली भएको देशमा यो भाइरस फैलियो भने संक्रमण दर र मृत्युदर दुवै चीनको भन्दा धेरै बढी हुनेछ । हामीले यो भुल्नुहुँदैन कि सार्स र मर्स समुदायमा दिगो रूपमा फैलिन नसक्ने खालका थिए । थोरै अपवादबाहेक विकसित र सुदृढ स्वास्थ्य सेवा प्रणाली भएका देशमा मात्र ती देखिए । यसैले तिनलाई नियन्त्रण गर्न सकियो । हाम्रोजस्ता देशमा देखिएका भए नियन्त्रण निकै मुस्किल हुने थियो । 

सरकारले साँच्चै समस्याको गाम्भीर्य बुझेर कदम चाल्ने हो भने चाँडै केही ठूलो प्रतिफल दिने कदम चाल्न सक्छ, कम्तीमा काठमाडौं र पोखराका केही प्रमुख सरकारी अस्पतालमा तुरुन्तै नेगेटिभ प्रेसर कक्षको निर्माण थाल्न सक्छ 
 

यो रोगबारे रातोदिन अध्ययन गरिरहेका स्वास्थ्यकर्मी, वैज्ञानिक र जनस्वास्थ्यकर्मीले अहिलेसम्म ठम्याउन नसकेको महत्वपूर्ण विषय रोग २–३ फिटको दूरीसम्म जान सक्ने हावामा हुने र्‍यालका छिटाबाट मात्र सर्छ कि टाढा टाढासम्म उडेर जान सक्ने अति सूक्ष्म कणबाट पनि सर्छ भन्ने हो । यदि अघिल्लो कुरा साँचो हो भने यो रोगबाट बच्न व्यक्तिगत सुरक्षाका सामानमा मात्र सामान्य सर्जिकल मास्क र गाउन लगाउँदा हुन्छ । तर, अति सूक्ष्म कणबाट सर्ने रहेछ भनेचाहिँ एन–९५ मास्क लगाउनुपर्ने हुन्छ । मास्क मात्र त नेपालमा पनि लगाउन सकिएला, तर हावाबाट टाढा–टाढा फैलिने भाइरस रहेछ भने त सारा अस्पतालकर्मी र अन्य बिरामी वा तिनका आफन्तलाई जोगाउन ‘नेगेटिभ प्रेसर’ भएको कोठामा राख्नुपर्छ । नेपालमा हाल दुईवटा निजी अस्पतालमा मात्र जम्माजम्मी ४–५ वटा नेगेटिभ प्रेसरकक्ष छन् । 

अनि यस्तो श्वासप्रश्वास प्रणालीको विषाणुजनित रोगको अर्को समस्या के हुन्छ भने बिरामीको स्वास्थ्य परीक्षण र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई रोग सर्ने खतरा हुन्छ । वुहानमै एकजना चिकित्सकको मृत्यु भइसकेको छ, अरू कयौँ स्वास्थ्यकर्मीको उपचार हुँदै छ । हामीकहाँ बिरामी हेर्नुअघि र पछि सामान्य हात धुने चेतसमेत न्यून छ । मास्क र गाउन लगाउने चेतना र तिनको उपलब्धता त झन् सीमित छ । नेगेटिभ प्रेसर कक्ष त झन् दुर्लभप्रायः । यसैले विषाणु मुलुकमा फैलिए स्वास्थ्यकर्मी जोखिममा हुन सक्छन् । कुनै स्वास्थ्यकर्मीलाई संक्रमण हुन थाल्यो भने स्वास्थ्यकर्मीको मनोबल कस्तो होला ? स्वास्थ्यकर्मी सिकिस्त हुन थाले स्वास्थ्यसेवाको प्रवाह र गुणस्तरमा कस्तो असर पर्ला ? यी सब आसन्न चुनौती देखिएपछि तिनको सबलतापूर्वक सामना गर्न हाम्रा उपचारात्मक र जनस्वास्थ्य सेवा प्रणालीले के–के गर्न सक्छन्, त्यो पक्ष हेरौँ । 

यहाँ अहिलेसम्म एकजना नयाँ कोरोना भाइरसको संक्रमित भेटिएका र अरू केही निदान हुन बाँकी सम्भावित बिरामी छन् । हामी रोगको बिस्तारको सबैभन्दा प्रारम्भिक चरणमा छौँ । प्रारम्भिक चरणमै मुख्य नाका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीन वा दक्षिण–पूर्वी एसियाबाट आएका भाइरस संक्रमित, ज्वरो आएका वा खोक्दै आएका बिरामीलाई विमानस्थलमै पहिचान गरी पृथक राखेर उपचार गर्न सकियो भने धेरैजनामा रोग सर्न पाउँदैन । हङकङबाट क्यानाडा पुगेका एकैजना सार्सका बिरामीले एक सय २८ जनालाई रोग सारेका र साउदी अरेबियाबाट दक्षिण कोरिया पुगेका मर्सका बिरामीले एक सय ८६ जनालाई रोग सारेका उदाहरण हामीले देखेका छौँ । यस्ता परम–प्रसारक (सुपरस्प्रेडर) केही बिरामीलाई मात्र पहिचान गर्न सकियो भने त्यसले समग्र देशकै स्वास्थ्य प्रणालीलाई नै ठूलो राहत पुर्‍याउन सक्छ । 

माथि नै भनिएझैँ विमानस्थलमा राखिने थर्मल स्क्यानरले मात्र रोग प्रवेशलाई निषेध गर्न सक्दैैन । विगतमा विभिन्न देशले आधारभूत जनस्वास्थ्यका प्रक्रियालाई अक्षरशः पालना गरेर सार्स, इबोला, निपाह आदि रोग नियन्त्रण गर्न सफल भएका हुन् । संक्रमितले धेरैजनालाई रोग सार्न पाउनुअघि नै पहिचान गर्ने र पृथक राखेर उपचार गर्ने, आधारभूत सरसफाइ, हातधुवाइ आदि संक्रमण नियन्त्रणका उपायलाई नछुटाईकन अपनाउने, संक्रमितको सम्पर्कमा आएका हुन सक्ने एक– एकको पहिचान गरेर तिनलाई नजिकबाट निगरानी गर्ने, आवश्यकताअनुसार क्वारन्टाइन गर्ने र संक्रमणको लक्षण देखिनेबित्तिकै उपचार गरिहाल्ने आदि मूलभूत जनस्वास्थका सिद्धान्त र अभ्यास हुन् । नेपालले कोरोना भाइरसको नियन्त्रण गर्न सक्ला कि नसक्ला भन्ने प्रश्न उठ्दा सबैभन्दा चिन्ताजनक पक्ष यही छ । 

ठूला अपेक्षा किन गर्नु, महामारी विज्ञान (एपिडिमिओलोजी)का पिता भनेर चिनिने डा. जोन स्नोले सन् १८५४मा लन्डनमा हैजाको महामारी फैलिएका वेला त्यसको कारण पत्ता लगाएर निवारण गर्न कुनै आधुनिक सर्वेक्षण वा अन्य जनस्वास्थ्य शास्त्रीय साधनको उपयोग नगरीकन गरेको कर्म पनि २१औँ शताब्दीको हाम्रो देशको सम्पूर्ण जनस्वास्थ्य संयन्त्रले गर्न सक्दैन । केही वर्षअघि विराटनगरमा फैलिएको ‘हेपाटाइटिस ई’ वा हालै ‘नयाँ पत्रिका’मा छापिएको जुम्लामा सातजनाको मृत्यु गराउने भनिएको ‘रुघाखोकी’ कुनैमा पनि केन्द्रीय वा स्थानीय जनस्वास्थ्य संयन्त्रको कार्यकुशलता देखिँदैन । 

सार्स र मर्सका बिरामीको मृत्युदर क्रमशः ११.५ र  ३४.५ प्रतिशतजति थियो, सार्सबाट जम्माजम्मी सात सय ७४ जनाको मृत्यु भयो र मर्सबाट आठ सय ५८ जनाको मृत्यु भएको छ भने कोरोना भाइरसको मृत्युदर ४.५ प्रतिशतजति देखिएको छ

अहिलेसम्म पहिचान भएको कोरोना भाइरसको पहिलोे बिरामीको सम्पर्कमा आएका मानिसबारे सरकारका तर्फबाट उनीहरूबारे सोधिएको र सबै ठीकै रहेको भनिएको छ । तर, साँच्चै घर–घर गएर एक–एक व्यक्तिबारे जति बिस्तारमा छानबिन गरिनुपर्ने र निगरानी गरिनुपर्ने हो, पटक्कै नभएको देखिन्छ । यस्तै हाल शंकामा रहेका दुई बिरामीका सम्पर्कमा आएका व्यक्ति कति छन्, तिनलाई कसरी निगरानी गरिएको छ, त्यो स्पष्ट छैन । 

नेपालमा कोरोना भाइरसका बिरामी देखिन थाले भने सुरुका केही बिरामी र तिनका सम्पर्कमा आएका व्यक्तिको उपचार र निगरानीमा जति चुस्त रूपले जनस्वास्थ्यशास्त्रका मूलभूत अभ्यासको अवलम्बन गर्न सकियो, त्यति नै महामारी रोक्न देश सफल हुनेछ । चीनबाट आउने कोही व्यक्ति अहिले ज्वरो, खोकी लिएर काठमाडौंको कुनै अस्पतालमा पुग्यो भने उसलाई इनफ्लुएन्जा मात्रै हुन सक्ने सम्भावना पनि ठूलो छ । इनफ्लुएन्जाको भरपर्दो र तिर्न सकिने मूल्यमा परीक्षण हुने ठाउँ भनेको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मात्र हो । त्यहाँबाट रिपोर्ट मात्र सधैँको सरकारी पाराभन्दा चाँडो दिन सकियो भने सम्भवतः कोरोना भाइरसको शंका गरिएका धेरै बिरामीलाई ज्वरोको मात्र उपचार गर्दा हुने देखिन सक्छ । यसो गर्दा कोरोना भाइरसको शंका रहेका बिरामीको चाप निकै कम हुन सक्छ । 

सरकारले साँच्चै समस्याको गाम्भीर्य बुझेर कदम चाल्ने हो भने चाँडै केही ठूलो प्रतिफल दिने कदम चाल्न सक्छ । कम्तीमा काठमाडौं र पोखराका केही प्रमुख सरकारी अस्पतालमा तुरुन्तै नेगेटिभ प्रेसर कक्षको निर्माण थाल्न सक्छ । विभिन्न अस्पतालमा कोरोना भाइरसका बिरामी आउँदाको कार्यसञ्चालन कसरी हुन्छ भनेर समीक्षा गर्न ड्रिल गराउने र कमजोरी सुधार्न लगाउने, प्रमुख नाका र अस्पतालमा आधारभूत संक्रमण नियन्त्रणका कुरा, जस्तैः मास्क र गाउन लगाउने तरिका, हातधुवाइ, डिस्इन्फेक्सनको तरिका आदिबारे तालिम र ड्रिल गर्ने, र झन् महत्वपूर्णचाहिँ संक्रमणको जोखिम धेरै रहेका क्षेत्रमा आधारभूत जनस्वास्थ्य सीप भएको इमर्जेन्सी दस्ता तयार गर्ने आदि गर्नुपर्ने हुन्छ ।

यस्तो ठूलो संकटबारे देशभर ऐक्यबद्ध प्रयत्न र सहकार्य जुटाउन सरकारले पारदर्शी, विश्वसनीय र प्रभावकारी सूचना प्रवाहमा ध्यान दिनुपर्छ । यदि सरकारी संयन्त्र र जनस्वास्थ्य निकायको व्यवहारमा आमनागरिकले विश्वास गर्न सके भने रोग लागेका व्यक्ति लुकेर बस्ने, स्वास्थ्यकर्मीले पूर्ण सहयोग नगर्ने आदि सम्भावना कम हुन्छ । आजसम्मको सरकारी काम गराइ त्यो विश्वास र पारदर्शिता देखाउन असफल देखिन्छ ।

अन्त्यमा, यो एकदम जटिल स्वास्थ्य चुनौतीलाई सामना गर्न २१औँ शताब्दीको स्तरको स्वास्थ्य सेवा संयन्त्रको आवश्यकता हुन्छ । सामान्य भाइरस जा“चको रिएजेन्ट मगाउन दुई–तीन हप्ता लाग्ने समस्याको सम्बोधन गर्न नसक्ने, नयाँ ठाउँमा शंकास्पद बिरामी देखिए तिनको उपचारलाई चाहिने जनशक्ति, गाउन, मास्कलगायत सामग्री वा बिरामीको सम्पर्कमा आएका अरूको बारेमा छानबिन निगरानी गर्न चाहिने जनशक्ति खटाउन ५–६ दिन लगाउने, शुक्रबार कुनै अस्पतालले शंकास्पद बिरामीको खकारको नमुना जाँच गर्न पठाउँदा शनिबार बिदा भएकाले आइतबार मात्र जाँच हुने र यो संकटको घडीमा ठूलो योगदान दिन तत्पर र समर्थ विभिन्न क्षेत्रका जनशक्तिलाई उपयोग गर्न नसक्ने वर्तमान संयन्त्रबाट आसन्न खतराको उचित सामना हुनै सक्दैन । यो हाम्रो जनस्वास्थ्य संयन्त्रको परीक्षणको घडी मात्र होइन ‘अग्रगामी छलाङ’ हान्ने अवसर पनि हो । चुनौतीको सामनाका लागि स्वास्थ्यमन्त्री वा माथिल्लो तहबाटै क्रियाशीलता देखाएर ‘वार रुम’ शैलीमा काम हुनु र समग्र जनस्वास्थ्य प्रणालीलाई कसरी आमूल रूपमा परिवर्तन गर्न सकिन्छ, त्यसतर्फ अघि बढ्नु जरुरी छ । नागरिकका तर्फबाट गर्नुपर्ने कुराबारे यतिचाहिँ भनौँ– सम्भावित संक्रमण कम गर्न हामी सबैले अब हात मिलाउन छाडेर नमस्कार मात्र गर्न थाल्ने पो हो कि ?
(लेखक संक्रामक रोग विशेषज्ञ हुन्)