मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ माघ १४ मंगलबार ०९:३९:००
Read Time : < 1 मिनेट
खेलकुद

श्रीलंकाली थरंगाले  ललितपुरबाट खेल्ने 

Read Time : < 1 मिनेट
२०७६ माघ १४ मंगलबार ०९:३९:००

श्रीलंकाली राष्ट्रिय टोलीबाट २३५ एकदिवसीय खेल खेलेका उपल थरंगा इपिएलमा आबद्ध

एभरेस्ट प्रिमियर लिग (इपिएल)मा थप एक स्टार क्रिकेटर अनुबन्धित भएका छन् । ललितपुर प्याट्रियट्सले श्रीलंकाली राष्ट्रिय टोलीका पूर्वसदस्य उपल थरंगालाई भित्र्याएको छ । यसअघि भैरहवा ग्लाडियटर्सले वेस्टइन्डिजका अलराउन्डर ड्वाने स्मिथलाई अनुबन्ध गरेको थियो । थरंगाको आगमनसँगै इपिएलमा अन्तर्राष्ट्रिय जगत्मा ख्याति कमाएका क्रिकेटर आउने क्रम जारी रहने विश्वास लिइएको छ । इपिएलमा तीन विदेशी खेलाडी अनिवार्य गरिएको छ । इपिएल १४ मार्चदेखि सुरु हुनेछ । 

थरंगाले इपिएलमा ललितपुरको हिस्सा बन्न पाउँदा आफूलाई गौरवान्वित महसुस भएको बताएका छन् । ‘ललितपुर परिवारको एक सदस्यका रूपमा म आफूलाई गौरवान्वित ठान्छु,’ विज्ञप्तिमार्फत थरंगाले भने, ‘पछिल्लो समय नेपालमा क्रिकेट संस्कृतिको विकास भइरहेको छ, यसमा म रमाउन चाहन्छु ।’ विश्व क्रिकेटको एकदिवसीय खेलमा सात पटकभन्दा बढी दुई सय रनको साझेदारी गर्ने खेलाडीमा थरंगा दोस्रा हुन् ।

श्रीलंकाका लागि उनले दोस्रो व्यक्तिगत उच्चतम स्कोरका रूपमा १७४ रन बनाएका छन् । सन् २००५ मा  वेस्टइन्डिजविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका थरंगाले ६ हजार नौ सय ५१ रन बनाएका छन् । उनले २३५ एकदिवसीयमा १५ शतकीय तथा ३७ अर्धशतकीय इनिङ्स खेलेका छन् । २००५ मै भारतविरुद्ध टेस्टमा उनले डेब्यु गरेका थिए । टेस्ट खेलमा उनले ३१ खेलमा तीन शतक तथा आठ अर्धशतक ठोकेका छन् । टी–२० मा उनले २६ खेलबाट ४०७ रन बनाए । श्रीलंकाली टोलीबाट उनले अन्तिमपटक दक्षिण अफ्रिकाविरुद्ध २०१९ मा एकदिवसीय खेल खेलेका थिए । बायाँहाते ब्याट्सम्यान थरंगाले पहिलो क्लासमा २३ तथा लिस्ट एमा २८ शतक बनाएका छन् ।  

थरंगाले २१ पटक एकदिवसीय र ६ पटक टी–२० खेलमा श्रीलंकन टोलीको कप्तानी गरेका थिए । श्रीलंकाकै एक लिजेन्ड खेलाडी थरंगालाई अनुबन्ध गरेको ललितपुरका मालिक किशोर महर्जनले नयाँ उत्साह सिर्जना भएको बताए ।