१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
वाङ हुयाओ
२०७६ माघ १४ मंगलबार ०९:०३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

जलवायु परिवर्तनविरुद्ध लड्न चीनको आगामी भूमिका

Read Time : > 2 मिनेट
वाङ हुयाओ
२०७६ माघ १४ मंगलबार ०९:०३:००

लागिपर्ने हो भने चीनले विश्वकै सबैभन्दा धेरै हरित ग्यास उत्सर्जनमा मुख्य भूमिका निर्वाह गर्न सक्छ

नयाँ दशकमा पहिलेभन्दा जलवायु परिवर्तनसँग सशक्त ढंगमा जुध्नुपर्ने बाध्यता छ । अस्ट्रेलिया, अमेजन र क्यालिफोर्नियामा आगो दन्किरहेको छ । गर्मीयामको तापक्रमले अहिलेसम्मकै रेकर्ड तोडेको छ । विश्वभरि मानिसका जनजीवनमाथि सीधा प्रभाव पार्ने वातावरणसम्बन्धी यस्ता बिकराल घटना अब सामान्य भइसकेका भए पनि एकजुट भएर वातावरण संरक्षणमा लड्ने अन्तर्राष्ट्रिय संयन्त्र निर्माण गर्न विश्व–समुदाय चुकिरहेको छ । 

२५औँ युएन जलवायु परिवर्तन सम्मेलनमा अमेरिका पेरिस सम्झौताबाट पछि हटिसकेको छ । यस्तो परिस्थितिमा आफैँमा विकासशील र संसारकै दोस्रो ठूलो अर्थतन्त्र भएकाले अब वातावरणका लागि लड्ने अन्तर्राष्ट्रिय संयन्त्र निर्माणमा चीनले नै प्रमुख भूमिका खेल्नुपर्छ । पछिल्ला वर्षमा चीनले पर्यावरण र वातावरणका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको छ ।

सँगसँगै यसले अन्य विकासोन्मुख मुलुकमा पनि आफ्नो व्यावहारिक ज्ञानका माध्यमबाट वातावरण संरक्षणसहितको आर्थिक समृद्धिमा जोड दिएको छ । चीनले सन् २००९ मा प्रतिबद्धता जनाएको २०२० सम्ममा कटौती गरिसक्नुपर्ने कार्बन परिणामको लक्ष्य २०१७ मै भेट्टाइसकेको छ । विश्व कार्बन कारोबारमा पनि चीनको भूमिका अहं हुनेछ । युएन जलवायु सम्मेलन २०१९ को प्रमुख मुद्दा कसरी कार्बन व्यापारलाई व्यवस्थित गर्ने भन्ने नै थियो । किनकि अन्तर्राष्ट्रिय कार्बन कारोबार संयन्त्रले नै पृथ्वीको औसत १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिदरसँग लड्न मद्दत पुग्छ ।

जलवायु सम्मेलन २०१९ अनुसार लक्ष्यअनुरूप काम गर्ने हो भने कार्बन कटौतीबाट ०३० सम्ममा प्रतिवर्ष २४९ मिलियन डलर बचत गर्न सकिनेछ । चीनसँग विश्वकै सम्भावित ठूलो कार्बन कटौतीको बजार छ । लागिपर्ने हो भने यसले विश्वकै सबैभन्दा धेरै हरित ग्यास उत्सर्जनमा मुख्य भूमिका निर्वाह गर्न सक्छ । यद्यपि, एउटा मुलुक एक्लैले प्राप्त गर्ने लक्ष्य सीमित हुन्छ । अझ अमेरिका पेरिस सम्झौताबाट अलग्गिएपछि विश्वलाई जलवायु परिवर्तनसँग लड्न अरू चुनौती थपिएको छ । त्यसैले अब चीनको भूमिका सशक्त हुनुपर्नेछ । सर्वप्रथमतः चीनले आफ्नै मुलुकको वातावरण संरक्षणमा र जलवायु परिवर्तनसँग लड्नुपर्छ । राष्ट्रपति सी जिनपिङको ‘स्वच्छ पानी र हरियो पहाड’को अवधारणालाई जोड दिँदै चीनले हरित अर्थतन्त्रलाई दोब्बर पार्नुपर्छ । दिगो वृद्धिमा जोड दिनुपर्छ ।

दोस्रो कुरा, वातावरण र जलवायु परिवर्तनका सम्बन्धमा चीनले युरोपियन युनियनसँगको सहकार्यलाई मजबुत पार्नुपर्छ । यसमा साथ दिने मुख्य दुई शक्ति भनेकै चीन र युरोपियन युनियन हुन् । युरोपियन युनियनले सन् २०५० सम्ममा कार्बनलाई सन्तुलनमा ल्याउने महत्वाकांक्षी लक्ष्य ‘ग्रिन डिल’का रूपमा अघि सारिसकेको छ । त्यस्तै, २०२० मा जैविक विविधतासम्बन्धी सम्मेलन चीनले आयोजना गर्दै छ ।

संसारकै दोस्रो ठूलो अर्थतन्त्र भएकाले अब वातावरणका लागि लड्ने अन्तर्राष्ट्रिय संयन्त्र निर्माणमा चीनले नै प्रमुख भूमिका खेल्नुपर्छ 

जलवायु परिवर्तन हाम्रो समयको सबैभन्दा ठूलो चुनौती भएकाले यसमा चीन र युरोपियन युनियनको सहकार्य अनिवार्य भएको विदेशमन्त्री वाङ यीले भनिसकेका छन् । त्यसैले दुवैलाई संवाद र सम्बन्ध विस्तार गरेर जलवायु परिवर्तनका क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संयन्त्र निर्माण गर्ने अवसर पनि छ । यो संयन्त्रले विश्वभर काम गर्नेछ । तेस्रो, ग्रिनहाउस ग्यास कटौतीका अलावा ओजन तहको क्षयीकरण, प्लास्टिक प्रदूषण, समुद्रको अम्लीयकरण जस्ता समस्याको पनि चीनले सम्बोधन गर्नुपर्छ । यी समस्या हल गर्न निश्चय नै चीनले अनुसन्धानको क्षेत्रमा पर्याप्त लगानी गर्नुुपर्छ । चीनले अरू धेरै मुलुकसँग आपसी समझदारीमा सहकार्य गर्नुपर्नेछ । 

चौथो, जलवायु परिवर्तनका समस्या पहिचान गर्न चीनले नागरिक समाजको भूमिकालाई पनि फैलाउनुपर्छ । जलवायु परिवर्तन र वातावरणीय विनाशले हामी सबैलाई असर पारेको छ । त्यसैले वातावरण संरक्षण सरकारको मात्र नभई सबैको दायित्व हो । बुद्धिजीवी, वातावरणसम्बन्धी संघ–संस्था र अनुसन्धान विभागजस्ता व्यक्ति तथा संथालाई मजबुत पार्दै तिनको क्षमताको वातावरण संरक्षणमा उपयोग पनि चीनले गर्नुपर्छ ।

जलवायु परिवर्तन र वातावरण विनाशको परिणाम सिंगो मानवजातिकै अस्तित्वलाई चुनौती दिएको छ । यसको सामना गर्न सबै मुलुक एकजुट हुनुपर्छ । जलवायु परिवर्तन र वातावरण संरक्षणसम्बन्धी आफ्नो प्रतिबद्धताका आधारमा चीन विश्व समुदायमा आगामी दशककै सबैभन्दा प्रभावशाली मुलुक हो । त्यसैले यसका लागि अन्तर्राष्ट्रिय संयन्त्र निर्माण गर्ने वातावरण बनाउनु चीनको जिम्मेवारी हो ।

(हुयाओ सेन्ट्रल फर चाइना एन्ड ग्लोबलाइजेसनका अध्यक्ष हुन्) ग्लोबल टाइम्स डटकमबाट