२०७६ माघ १४ मंगलबार ०८:४०:००
विश्व खबर

अमेरिकी दूतावासमा रकेट प्रहार

२०७६ माघ १४ मंगलबार ०८:४०:००

इराकस्थित अमेरिकी दूतावासमा तीनवटा रकेट प्रहार भएका छन् । आइतबार राति प्रहार भएका तीनवटा रकेटमध्ये एउटा दूतावासको क्यान्टिन र अन्य दुईवटा दूतावास परिसरमा खसेका थिए । रकेट प्रहारबाट दूतावासका तीन कर्मचारी घाइते भएका छन् । तीन वर्षपछि पहिलोपटक रकेट आक्रमणमा दूतावासका कर्मचारी घाइते भएका हुन् । आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन । इरान समर्थित सैन्य समूहले सो आक्रमण गरेको अमेरिकाले  बताएको छ ।

इराकी प्रधानमन्त्रीले गरे आक्रमणको विरोध
इराकी प्रधानमन्त्री अदेल अब्दुल माहदीले दूतावासमा भएको आक्रमणको निन्दा गरेका छन् । हमलाका कारण इराक युद्धभूमिमा रूपान्तरण हुन सक्ने उनले चिन्ता व्यक्त गरे । इरान र अमेरिकाबीच तनाब चर्किँदा इराक त्यसको चपेटामा परेको छ । अमेरिकी सेनाले इरानी सैन्य कमान्डर कासिम सुलेमानीलाई इराकको विमानस्थलमा हत्या गरेपछि इराकले अमेरिकी सेना फिर्ती हुनुपर्ने माग गर्दै आएको छ । अमेरिकी सेनालाई स्वदेश फिर्ताको दबाब दिए इराकले नराम्रो नियति भोग्नुपर्ने राष्ट्रपति डोनाल्ड टम्पले चेतावनी दिँदै आएका छन् ।

आक्रमणपछि अमेरिकाको प्रतिक्रिया यस्तो
इराकस्थित अमेरिकी दूतावास आक्रमणको अमेरिकी विदेशमन्त्रालयले विरोध गर्दै दोषीलाई कारबाही गर्न इराक सरकारसमक्ष माग गरेको छ । दूतावासको रक्षा गर्न पनि इराकसँग अमेरिकाले अनुरोध गरेको छ । मन्त्रालयले भनेको छ, ‘हाम्रा कूटनीतिक केन्द्र रक्षा गर्ने दायित्व पूरा गर्न हामी इराक सरकारलाई आह्वान गर्छौँ ।’ इराकस्थित अमेरिकी सेनाको संयुक्त कमान्डले दूतावासमा गरिएका रकेट प्रहारबाट कुनै क्षति नभएको दाबी गरेको छ । 

द्वन्द्वको चपेटामा इराक
इराकस्थित इरान समर्थित समूहले अमेरिकी दूतावास र बग्दादस्थित अमेरिकी आधार शिविरलाई निशाना बनाएका छन् । इरान र अमेरिकाको तनावको केन्द्रमा इराक तानिएको छ । अमेरिकाले जनवरी ३ मा बग्दादको विमानस्थलमा गरेको ड्रोन हमलामा इरानी जनलरल कासिम सुलेमानीको मृत्यु भएको थियो । अमेरिकी आक्रमणमा इरान समर्थित कताईब हेजबुल्लाह सैन्य समूहका कमान्डर अबु मुहान्दीजलगायत ७ जनाको मृत्यु भएको थियो ।