१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ माघ १४ मंगलबार ०६:४६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

नयाँ सभामुखको सतर्कतापूर्ण प्रतिक्रिया

Read Time : > 1 मिनेट
२०७६ माघ १४ मंगलबार ०६:४६:००

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले विवादित मुद्दामा सतर्कतापूर्ण अभिव्यक्ति दिएका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतलनिवासमा पद तथा गोपनियताको शपथ लिएलगत्तै पदभार ग्रहणका लागि सिंहदरबार पुगेका सभामुख सापकोटाले आफूविरुद्ध सर्वोच्च अदालतमा परेको रिट र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विषयमा सतर्कतापूर्ण प्रतिक्रिया दिएका हुन् । 

एमसिसीलाई लिएर सत्तारुढ दल नेकपाभित्रै ठूलो विवादले यसलाई संसद्बाट अनुमोदन गराउन ढिलाइ भइरहँदा नवनिर्वाचित सभामुख सापकोटाले यसबारे निर्णय गर्न हतार नभएको प्रतिक्रिया दिए । ‘अहिले यस विषयको बहस छेडिएको छ । त्यसकारण यो निचोडतिर जान्छ । सबैजनाले अध्ययन गर्दै जाऊँ न । अहिले नै किन हतार गर्नुप¥यो र !,’ सभामुख सापकोटाले भने ।

एमसिसी कार्यान्वयनमा ल्याउन सरकारले एमसिसीसँग भएको सम्झौता संसद्बाट पारित गर्नुपर्नेछ । सम्झौता अनुमोदनको प्रस्ताव मन्त्रिपरिषद्को स्वीकृतिपछि ३१ असारमा संसद्मा दर्ता गरिएको छ । तत्कालीन सभामुख कृष्णबहादुर महराले यसलाई संसद्बाट अनुमोदन गराउने प्रक्रिया अघि बढाएका थिएनन् । 

सम्झौताअनुसार एमसिसीअन्तर्गत अमेरिकाले नेपालको विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नतिका लागि घोषणा गरेको ५० करोड अमेरिकी डलर अनुदान परिचालन गरिनेछ । अहिले एमसिसीका पक्ष र विपक्षमा बहस भइरहेको छ । विरोध गर्नेहरूले यो राष्ट्रहितविपरीत भएको भन्दै आलोचना गरिरहेका छन् । प्रमुख विपक्षी कांग्रेस यसको पक्षमा भए पनि सत्तारुढ नेकपाभित्र यसबारे मतभेद छ । नेकपाको १५ माघबाट सुरु हुने केन्द्रीय समिति बैठकले यसबारे निर्णय गर्ने सम्भावना छ । 

यसैगरी, सभामुख सापकोटाले सर्वाेच्च अदालतमा परेको रिटबारे पनि अहिले बोल्नु परिपक्वता नहुने बताए । प्रश्नहरू उठे पनि त्यसको निरूपण हुँदै गएको उनको भनाइ थियो । ‘के सही हो, के गलत हो भन्ने कुरा करोडौँ जनताले छुट्याइहाल्छन् नि ! यो विषयमा धेरै कुरा नगरम्,’ सभामुख सापकोटाको संक्षिप्त प्रतिक्रिया थियो, ‘नयाँ जिम्मेवारीमा थपिएकाले बुझेर बोल्नुपर्ने हुन्छ । राम्रोसित अध्ययन गर र बोल भन्छन् दार्शनिकहरू । मलाई पनि इतिहासले त्यस्तै जिम्मेवारी थपिदिएको छ ।’ उनीविरुद्ध भइरहेको विरोधबारे पनि सापकोटाले बोल्न मानेनन् । लोकतन्त्रमा विरोध गर्न पाउने अधिकार भएकाले यसलाई सामान्य रूपमा लिन आग्रह गरे । उनले आगामी मार्गचित्रबारे पनि स्पष्ट गर्ने कोसिस गरे । 

सदनलाई जीवन्त बनाउन सबै लाग्नुपर्ने सभामुख सापकोटाको भनाइ छ । ‘जननिर्वाचित प्रतिनिधिहरू भएको संस्थाको प्रतिष्ठालाई माथि उठाउने ढंगबाट अघि बढ्छौँ । यहाँ मैले ठूलो चुनौती देखेको छैन । किनकि, मेरो काम भनेको सांसदहरूको भावनालाई समेटेर निष्कर्ष निकालेको कुरालाई प्रक्रियामा अघि बढाउने हो,’ उनले भने, ‘कहिलेकाहीँ अलि बढी छलफलको आवश्यकता पर्छ । त्यस्तो वेला पार्टीहरूबीच समन्वय गर्नुपर्छ । प्रक्रियामा अघि बढ्दै जाँदा समस्याहरू पनि समाधान हुँदै जान्छन् ।’ 

चिनियाँ राजदूतको बधाई 
सभामुख सापकोटाले पदभार ग्रहण गरेलगत्तै चिनियाँ राजदूत होउ यान्छीले भेट गरेकी छिन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमै पुगेर भेट गरेकी राजदूतले बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिएकी छिन् । 

पार्टीबाट राजीनामा
सभामुखको शपथ लिएसँगै सापकोटाले पार्टीबाट राजीनामा दिएका छन् । सभामुखको भूमिकालाई स्वतन्त्र र निष्पक्ष बनाउन राजीनामा दिएको उनले जनाएका छन् । ‘संघीय संसद्को प्रतिनिधिसभामा सभामुखको भूमिकालाई स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाह गर्नका लागि यसभन्दापूर्व म संलग्न भई कार्य गर्दै आएको नेकपा राजनीतिक दलको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिबाट मेरो संलग्नता नरहेको व्यहोरासमेत अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि म अलग रहेको जानकारी गराउँदछु,’ राजीनामापत्रमा भनिएको छ ।