Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
प्रकाश गुरागाईं
२०७५ माघ ३ बिहीबार ०८:१०:००
Read Time : > 4 मिनेट
साहित्य

प्रगति राईका सात किस्सा : उपन्यास लेख्दा कामबाटै निकाले

Read Time : > 4 मिनेट
प्रकाश गुरागाईं
२०७५ माघ ३ बिहीबार ०८:१०:००

प्रगति राई यतिवेला आफ्नो तेस्रो उपन्यास ‘थाक्रो’ लेखिरहेकी छिन् । पहिलो उपन्यास ‘लेखककी स्वास्नी’कै पात्रहरूलाई समातेर नयाँ उपन्यास अघि बढेको छ । त्यसो त उनी मूलबाटो प्रतिष्ठान खोलेर महिला हकहितका काम पनि गरिरहेकी छिन् । महिला अधिकारको कुरा गर्दा आफ्नो कर्तव्य भुल्न नहुने विचार राख्छिन् । भर्खरै पूर्वी र पश्चिम नेपालको भ्रमण गरेर आएकी छिन् । नयाँ ठाउँ पुग्दा कविताका विषय भेटिने उनको अनुभव छ । उनी कवितासंग्रहको पनि तयारीमा छिन् । प्रगतिले नयाँ पत्रिकाका प्रकाश गुरागाईंलाई आफ्ना केही किस्सा सुनाएकी छिन् ।

कोरियामा दिउँसो काम राति लेखन

लेखककी स्वास्नी उपन्यास लेख्दा काठमाडौंकै एउटा स्कुलमा काम गर्थें । स्कुलकै कम्प्युटरमा लेख्थेँ । एक दिन कसले कम्प्युटरबाटै उपन्यासको फाइल नै डिलिट गरिदिएछ । एकदमै निराश भएकी थिएँ । त्यसपछि कोरिया गएँ । त्यहाँ काम गर्दै लेख्न थालेँ । हाम्रो निवास बोसको घरकै सामुन्ने थियो । दिनभरि काम गर्नुपथ्र्यो । म राति–राति लेख्थेँ । बोसले साथीलाई  ‘तिम्रो कोठामा किन रातभरि बत्ती बल्छ ?’ भनेर सोधेछ । साथीलाई पनि सायद डिस्टर्ब भइरहेको थियो । उसले  मैले राति लेख्ने गरेको भनिदिइछन् । अनि त मलाई  सस्पेन्ड गरिदियो । काम गर्न थालेको एक वर्षमा नवीकरण गर्नुपर्छ । साहुले मेरो नवीकरण गरिदिएन । त्यसको अर्थ कम्पनीले मलाई निकालिदियो । 

आठ लाख घाटा सहेर उपन्यास 

कोरिया गएको एक वर्षपछि कम्पनी छाडे वा निकालिदिए अर्को काम खोज्न तीन महिनाका लागि भिसा दिन्छ । त्यो अवधिमा काम खोजे पनि भयो, घुमे पनि भयो । फुर्सद हुन्छ । म भने भाइको कोठामा बसेर उपन्यास लेख्न थालेँ । तर, साथी र आफन्तको गाली खानुप-यो । ‘उपन्यास नै लेख्ने भए नेपालमै बसेर लेख्नु नि ! यहाँ त कमाउने हो,’ भन्थे । हुन पनि महिनाको डेढ लाख कमाउन छाडेर उपन्यास लेखिबसेको थिएँ । त्यसमाथि भाइको कमाइको भर । त्यही पनि म उनीहरूलाई  ‘ठीकै छ, तपार्ईंहरू कमाउनस्, म लेख्छु,’ भनेँ, लेखिरहेँ । यसो गर्दा उपन्यास त सकियो, तर दोहोरो घाटा भयो । मैले कमाउने करिब पाँच लाख र भाइको खर्च गरेर आठ–नौ लाखजति घाटा भयो । उपन्यास सकेपछि भने काम गर्न थालेँ । 

कोरियामा एक सदस्यीय समिति

पहिलोपटक कोरिया जाँदा चार वर्ष ६ महिना बसेँ । त्यतिवेला झक थापा, डम्बर सुब्बा, देवेन्द्र सम्बाहाम्फेलगायत लेखक थिए । संगठन थिएन । म कोरिया पुगेपछि उहाँहरूले ‘साहित्यको संगठन गरौँ’ भन्नुभयो । ‘म कमाउन आएको, श्रीमान् लेख्नुहुन्छ, उहाँलाई सघाउन पनि मैले कमाउनुपर्छ, तपाईंहरू गर्नुस्, म बाहिरबाटै सघाउँछु’ भनेँ । तर, संगठन नै बनेन । रघु त्रिपाठी नेपाल फर्कने वेला संगठन नबनेकोमा मसँग चित्त दुखाउनुभयो । अनि संगठन बनाउन अघि सरेँ ।  

सन् २०१२ मा मेरै संयोजकत्वमा नेपाली साहित्य समाज बन्यो । त्यसको केही समयपछि नेपाल फर्किएँ । अस्ति जुन २०१८ मा कोरिया जाँदा त नेपाली साहित्य समाजमा एकजना यल्जी विवश मात्र हुनुहँदो रहेछ । एक्लैले धानिरहनुभएको । राजनीति, विचार र विधापिच्छेका संगठन खुलेछन् । कोही इतर आवाज, कोही मुक्त अभियान, कोही अन्तराष्ट्रिय नेपाली साहित्य समाज, कोही विश्व नेपाली साहित्य समाजमा विभाजित भएछन् । वास्तवमा त्यहाँ सबै युवा लेखक कवि छन् । सबैले मान्ने व्यक्तिको अभावमा यस्तो भएको होला । जे भए पनि यल्जी विवशलाई तपाईं भने नछाड्नुहोला भनेको छु । 

कविताले धानिदिएको इज्जत

मेरो पहिलो पुस्तक ‘वादी विज्ञप्ति’ कवितासंग्रह हो । त्यसपछि उपन्यास लेखेँ । यसपटक कोरिया जाँदा भने कविताले नै  इज्जत धानिदियो । आफैँले बनाएको संगठन नेपाली साहित्य समाज फुटे पनि मलाई भने फाइदै भयो । सबैले छुट्टाछुट्टै बोलाएर सम्मान गरे । उपन्यास ‘बिर्सिएको मृत्यु’ सय प्रति लिएर गएको थिएँ । पहिलो कार्यक्रममा नै सकियो । दोस्रो कार्यक्रमका लागि सातवटा मात्र बाँकी भए । थोरै भएपछि आयोजकले नै नदेखाउनू भने ।

लुकाउँदालुकाउँदै नेपाल नै फर्काएर ल्याउनुप-यो । यस्ता कार्यक्रममा मलाई आख्यानकार भनेर बोलाउँछन् । अब कार्यक्रममा आख्यान सुनाउन भएन । कविता लेख्न छाडेको चार–पाँच वर्ष भएको थियो । तर, कोरियामा पुरानै कविता  भन्दै हिडेँ । पछिल्लो समय सिरियाको युद्धविरुद्ध उन्मुक्त पुस्ताले गरेको सडक कविताका लागि लेखेको थिएँ । त्यो चार वर्षपछि लेखेको कविता हो । उपन्यासतिर लागेपछि जानेजति त्यसमै हालिँदो रहेछ । अनि विषय नै बाँकी नरहने । कविता लेख्नुपर्दोरहेछ । अभरबाट बचाउँदो रहेछ भन्ने कोरियामा नै ज्ञान भयो । कविता खजाना हो, काम लागिरहन्छ ।

पश्चिम पुग्दा भाषाको समस्या

गत महिना पश्चिम नेपालको भ्रमणमा गएँ । धेरै समय बैतडीको सुरनयाँमा बसेँ । त्यहाँको समाज, भाषा, संस्कृति फरक रहेछ । लवज बुझ्नै गाह्रो प-यो । उनीहरूले ‘के खाने ?’ भनेर सोधे । मैले ‘तमी जे खान्छ, म पनि त्यही खान्छ,’ भनेँ । ‘रोटा साग ?’ भनेर सोधे । ‘हुन्छ,’ भनेँ । रोटी र आलुको तरकारी ल्याइदिए । सुगर हाई भएर आलु बारिरहेकी थिएँ । ‘म त साग खाने,’ भनेँ । फेरि आलु ल्याइदिए । दुई–तीनपटकसम्म साग मागिरहेँ । आलु नै ल्याइदिए । मैले पछि पो बुझेँ उतातिर सबै तरकारीलाई साग भन्दारहेछन् ।

मैले साग मागेपछि आलुको तरकारी थपिदिएका रहेछन् । पश्चिमतिर लोग्नेमान्छे बिहानै काममा हिँड्दा रहेछन् । म अबेरसम्म सुत्ने । अनि ढिला गरी घर आउने । उनीहरू आउँदा म सुतिसकेकी हुन्थेँ । त्यसैले लोग्नेमानिसहरूसँग विरलै भेट भयो । महिलाहरू मैले बोल्ने भाषा खास नबुझ्ने । त्यसकारण भाषाको समस्या भयो । पश्चिम डुल्दा मलाई भेटेजति सबैले ‘विवाह भएको छैन ?’ भनेर सोधे । ‘ओहो, म त किशोरीजस्ती देखिँदोरहेछु,’ भनेर उसै कपाल छाडेर डुलिहिडेँ । लास्टमा थाहा भयो, सिन्दुर–पोते नलगाएकाले पो त्यसो भनेका रहेछन् ।

सम्पत्ति नकमाउँदा आफन्तलाई चिन्ता

म अहिले लेखनमै छु । सम्पत्तिलाई महत्व  दिन्नँ । त्यहीकारण आफन्तले चिन्ता गर्छन् । ‘नाति भइसक्यो, श्रीमान् सँगै नभएपछि उसको सम्पत्ति खाउँला भन्ने छैन, अहिले पो सक्ने भएर घस्रिएको छेस्, पछि थला परेपछि कसले हेर्छ, आफ्नो लागि सोच्,’ भन्छन् । मान्छेको आ–आफ्नै सपना हुन्छ । लेख्न पाइनँ भने मरेजस्तै लाग्छ । मरेर बाँच्नुभन्दा बाँच्दाबाँच्दै मर्नु राम्रो । त्यसकारण आफन्तसँग धेरै जान्न । उहाँहरूले सहयोग त गरिरहनुहुन्छ ।  बहिनी जापानमा छ । उनीहरूको गाडी नै तीन–चारवटा छन् । जग्गा–जमिन छ । घरै पनि छन् । जापानको पिआर छ । मसँग त केही छैन । आफ्नो गाडी त होइन, अर्काको गाडी चढ्ने पैसा पनि हुँदैन कहिलेकाहीँ । अनि उसले चिन्ता गर्छे ।  ‘कहिले तेरो लेख्ने रहर पुग्ने ?’ भन्छे । मेरो त लेखन बल्ल सुरु भयो । पहिला श्रीमान्कै लागि लेख्ने वातावरण बनाएँ । ‘अब एउटा अर्को उपन्यास लेख्दै छु, अनि सोचौँला,’ भन्छु । मलाई सम्पत्तिको चिन्ता छैन । घरै गए पनि कसैले नबस् भन्दैन । भलै श्रीमान्सँग नराम्रो भयो, मनमा चिसो होला । अहिलेसम्म घर त मैले नै हेरेको छु । मलाई हार्दिकता नै देखाउलान् ।

पहिलो रजस्वला हुँदाको आश्चर्य

मैले भोगेका पुराना रोचक किस्सा पनि छन् । जब, महिला र पुरुषको संसर्गबाट बच्चा जन्मिन्छ भन्ने थाहा पाएँ, आश्चर्य लागेको थियो । त्यतिवेला म ‘बच्चा पाउन कस्तो खालको पुरुषलाई सहवासको लागि निम्ता दिने होला ?’ भनी सोच्थेँ । मनमनै स्कुलमा पढाउने शिक्षकमध्येबाट एकजना छान्थेँ । जब सहवासका लागि विवाह गर्नुपर्छ भन्ने थाहा पाएँ, तब फाँटिलो जमिनहरू मेरो रोजाइमा पर्थे । त्यहाँका पुरुषहरूसँग विवाह गर्ने सोच्थेँ ।  पहिलोचोटि रजस्वला हुँदाको दिन सम्झँदा मलाई अझै हाँसो लाग्छ । रगत आएको थाहा पाएपछि जुका पसेजस्तो लाग्यो । अनि साथीलाई जुका पसेछ भनेर हेर्न लगाएको थिएँ । जुका नभेटेपछि साथीले नै आमाकहाँ रिपोर्ट पु-याइदिई । आमाले हाँस्दै कपडा लगाउन सिकाउनुभयो ।