मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७६ माघ १३ सोमबार १८:५१:००
Read Time : > 2 मिनेट
समाचार

वर्तमान-निवर्तमान सभामुखका ६ समानता 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडौँ
२०७६ माघ १३ सोमबार १८:५१:००

अन्य दलबाट उम्मेदवारी नपरेपछि प्रतिनिधिसभाको रिक्त सभामुख अग्निप्रसाद सापकोटा निर्विरोध भएको घोषणा (आइतबार) १२ माघमा प्रतिनिधि सभाका जेष्ठ सदस्य महन्थ ठाकुरले गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख सापकोटालाई सोमबार विहान पद तथा गोपनियताको शपथ ग्रहण समेत गराइसकेकी छन् । 

यौन दुव्र्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले १४ असोजमा राजीनामा दिएपछि सापकोटालाई सभामुख बन्ने अवसर मिलेको हो । संयोगवश निवर्तमान सभामुख महरा र नयाँ सभामुख सापकोटाबीच आधा दर्जन समानता भेटिन्छन् । फरक कति मात्र छ भने जेलमा रहेकाले महरा निलम्बित अवस्थामा छन् भने त्यही कारण सापकोटाले महराको उत्तराधिकारी बन्ने अवसर पाएका छन् ।  

शिक्षक पृष्ठभूमि 
महरा रोल्पा सदरमुकाम लिवाङस्थित बालकल्याण माविको प्रधानाध्यापकबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिमा होमिँदै ०४८ को निर्वाचनमा रोल्पाबाट संयुक्त जनमोर्चा (संजमो)को उम्मेदवार बनेका थिए । महराजस्तै सापकोटा पनि सिन्धुपाल्चोकको कुभिन्डेस्थित जनजागृति माविको प्रधानाध्यापक थिए । र, राजीनामा दिएर ०४८ को निर्वाचनमा सिन्धुपाल्चोकबाट जनमोर्चाकै उम्मेदवार बनेका थिए । 

समान व्यावसायिक पृष्ठभूमिबाट पूर्णकालीन राजनीतिमा प्रवेश गरेका उनीहरूमध्ये महरालाई सफलता मिल्यो, ०४८ को प्रतिनिधिसभामा निर्वाचित भए । सापकोटालाई भने सफलता मिलेन ।  दुवैजना मोहनविक्रम सिंह नेतृत्वको तत्कालीन नेकपा (मसाल) हुँदै प्रचण्ड नेतृत्वको मशालको राजनीतिमा सक्रिय थिए । 

वार्ता टोलीका सदस्य 
१० वर्षे जनयुद्धका क्रममा माओवादी ०५८ मा सरकारसँग वार्तामा बस्यो । पाँच वर्ष लामो सशस्त्र संघर्षपछि वार्तामा बसेकाले पहिलो वार्ता माओवादी जनयुद्धको क्रममा महत्वपूर्ण मानिन्छ । त्यही क्रममा माओवादीले पहिलोपटक संविधानसभा निर्वाचनको माग वार्ताको टेबुलमा प्रस्तुत गरेको थियो । त्यसको ६ वर्षपछि ०६४ मा मात्रै संविधानसभाको निर्वाचन हुन सक्यो । 

महरा र सापकोटा दुबैले दुइटै संविधानसभाको सदस्य बन्ने अवसर पाए । संयोगवश संविधानसभाको मागसहित वार्ता गर्न काठमाडौं पुगेको पहिलो वार्ता टोलीमा महरा र सापकोटा दुवै थिए । महराले टोलीको नेतृत्व गरे भने टोपबहादुर रायमाझी र सापकोटा सदस्य थिए ।

लगातार सांसद 
०६४ को पहिलो संविधानसभामा प्रत्यक्षतर्फ दुई सय ४० मध्ये एक सय २० सिटमा विजय हासिल गरेको माओवादी ०७० कोे दोस्रो संविधानसभामा भने प्रत्यक्षतर्फ २६ सिटमा खुम्चिन पुग्यो । माओवादीका शीर्ष नेताहरूसमेत पराजित भएको दोस्रो संविधानसभा निर्वाचनमा सापकोटा र महरा दुवै आ–आफ्नो गृहजिल्लाबाट निर्वा्चित भए । 

अन्तरिम संविधान जारी भएपछिको पहिलो संविधानसभा निर्वाचनमा पनि दुवै विजयी भएका थिए । र, नयाँ संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभा निर्वाचनमा पनि दुवैजनालाई सफलता मिल्यो । 

प्रचण्डका विश्वासी 
निवर्तमान सभामुख महराको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जति निकटता थियो, सापकोटाको निकटता पनि उत्तिकै देखिन्छ । यही निकटताकै कारण माओवादी शान्ति प्रक्रियामा आएयता महराले अर्थ, गृह, परराष्ट्र, सूचना तथा सञ्चारजस्ता महत्वपूर्ण मन्त्रालयका साथ उपप्रधानमन्त्रीको जिम्मेवारीपछि पनि सभामुखको जिम्मेवारी पाए । 

महराको तुलनामा राजकीय जिम्मेवारी अलिक कम पाए पनि सूचना तथा सञ्चार मन्त्रालय र वन मन्त्रालयको जिम्मेवारी पाइसकेका सापकोटा अहिले सभामुख बने । 

प्रस्तावक–समर्थक एकै 
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीचको लामो छलफलपछि मात्र सापकोटा पार्टीको तर्फबाट ६ माघमा सभामुख उम्मेदवार तय गरिए । ओली संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सभामुख बनाउन चाहन्थे भने प्रचण्ड सापकोटालाई । देव गुरुङलगायतका नेता पनि सभामुखको दाबेदार थिए । 

यस्तै स्थिति दुई वर्षअघि पनि थियो । उतिवेला पनि ओलीले नेम्वाङलाई सभामुख बनाउन चाहेका थिए भने गुरुङ पनि दाबेदार थिए । तर, माओवादीको कोटामा परेको सभामुखको उम्मेदवार महरा बने । अहिले जसरी सापकोटाको प्रस्तावक नेम्वाङ र समर्थक गुरुङ बसेर सापकोटाको उम्मेदवारी दर्ता गराइयो, उतिवेला पनि प्रस्तावक र समर्थक क्रमशः नेम्वाङ र गुरुङ नै थिए । 

दुवै निर्विरोध 
प्रमुख प्रतिपक्षी कांग्रेस वा प्रतिपक्षी बेन्चमा रहेका अन्य कुनै दलले दाबी गर्दै उम्मेदवारी दिएको भए सभामुख पदका लागि आइतबार मतदान हुने थियो । तर, सापकोटाबाहेक अरू कसैले उम्मेदवारी दिएनन् । र, उनी निर्विरोध निर्वा्चित हुने स्थिति बन्यो । 

सापकोटाका पूर्ववर्ती महरा पनि यसैगरी सभामुख निर्वा्चित भएका थिए । कांग्रेसलगायतका प्रतिपक्षी दलले उम्मेदवारी नदिँदा महरा २६ फागुन ०७४ मा सभामुख निर्विरोध भएका थिए । प्रमुख प्रतिपक्षी कांग्रेसले उतिवेला राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभाको उपसभामुखलगायतका पदमा भने आफ्नो तर्फबाट उम्मेदवारी दिएको थियो । 

र, यो पनि समानता
सभामुखका सापकोटा निर्वाचित भएको घोषणा आइतबारको बैठकमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुर गरे भने राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शपथग्रहण गराइन् ।  

संयोगवश वर्तमान सभामुख सापकोटा र निवर्तमान सभामुख महरा निर्वा्चित भएको घोषणा र शपथग्रहणबीच पनि समानता भेटिन्छ । जस्तो कि, महरा सभामुख निर्वाचित भएको घोषणा ज्येष्ठ सदस्यका हैसियतमा ठाकुरले नै गरेका थिए भने महरालाई शपथग्रहण गराइँदापनि राष्ट्रपति भण्डारी नै थिइन् ।