मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अरिष्मा मोक्तान  काठमाडाैं
२०७६ माघ १३ सोमबार १८:०४:००
Read Time : > 1 मिनेट
अर्थ

७५ प्रतिशत नेपाली खाडी मुलुकमा, आधा मात्रै भित्रिन्छ रेमिट्यान्स 

Read Time : > 1 मिनेट
अरिष्मा मोक्तान  काठमाडाैं
२०७६ माघ १३ सोमबार १८:०४:००

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६-७७ को पहिलो चार महिनाको सार्वजनिक तथ्याङ्कमा कुल रोजगारीमा जाने कामदारमध्ये ७५.३ प्रतिशत खाडी मुलुकतर्फ गएको जनाएको छ । सार्वजनिक प्रतिवेदनमा अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने विप्रेषण आप्रवाहमा खाडी मुलुक पसेका नेपालीको योगदान ५०.३ प्रतिशत रहेको छ । जबकी तीन चौथाई कामदार खाडी मुलुकमा पसेता पनि आधा मात्रै विप्रेषण भित्रिएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

विप्रेषण नेपाल पठाउँदा लाग्ने औसत लागत विश्वको औसतभन्दा कम देखिएता पनि भारत र बंगलादेशको भन्दा बढी रहेको छ । विप्रेषणलाई नेपालको अर्थतन्त्रको राष्ट्रिय पुँजी निर्माणको क्षेत्रमा उपयोग गर्दै विप्रेषण आप्रवाहमा आउन सक्ने कमीले अर्थतन्त्रमा प्रभाव पर्ने निष्कर्ष राष्ट्र बैंकले गरेको छ । नेपालको बाह्य क्षेत्र सन्तुलनको प्रमुख आधारको रूपमा विप्रेषण आप्रवाह रहँदै आएको हुनाले विगत दश वर्षमा विप्रेषण आप्रवाहको कुल गार्हस्थ्य उत्पादनसँगको औसत अनुपात २५ प्रतिशत रहेको प्रतिवेदमा उल्लेख गरेको छ ।

वैदेशिक रोजगारीले समष्टिगत आर्थिक स्थायित्व, सामाजिक–आर्थिक सुधार एवम् मानव पुँजी निर्माणमा पुर्याएको योगदानका सन्दर्भमा नेपालको वैदेशिक रोजगारीको स्थिति, विप्रेषण आप्रवाहको पछिल्लो अवस्था र विप्रेषणको देशगत तथ्याङ्कमा उल्लेख गरेका छन् । विप्रेषणको लागत तथा खाडी मुलुकलगायत विप्रेषणका हिसाबले महत्वपूर्ण मुलुकका अर्थतन्त्रमा घट्ने घटनाले नेपालको विप्रेषण आप्रवाहमा पर्न सक्ने निष्कर्ष निकालेका छन् ।  

वैदेशिक रोजगारीमा जाने क्रम घट्दो 

वैदेशिक रोजगारीको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०५०-५१ मा ३ हजार ६ सय ५ नेपालीलाई वैदेशिक रोजगारीका लागि स्वीकृति प्रदान गरिएकोमा यो संख्या क्रमशः वृद्धि हुँदै गएको छ । आव २०६५-६६ देखि २०७६-७७ सम्मको विवरणमा सबैभन्दा बढी २०७०-७१ मा धेरै विदेशिएका छन् । आव २०७०-७१ मा अधिकतम ५ लाख २७ हजार ८ सय १४ विदेशिएको  तथ्याङ्कमा उल्लेख छ । तर, पछिल्ला वर्षहरूमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने कामदारहरूको संख्या घट्दै गएको  पाइन्छ । आर्थिक वर्ष २०७५-७६ मा घटेर २ लाख ४३ हजार ८ सय ६८ जनाले स्वीकृति लिएको तथ्याङ्कमा उल्लेख गरेका छन् । 

आव २०७६-७७ को चार महिनाको तथ्याङ्कको आधारमा कुल कामदारको १२.५ प्रतिशत मात्र मलेसियामा रोजगारीको लागि गएका छन् । विगतमा मलेसियामा जाने कामदारको संख्या पनि उल्लेखनीय रहेको छ । तर, रोजगारीमा लाग्ने शुल्कलगायतका कारण केही समस्याले मलेसिया रोजागारी बन्द भएको कारणले कमी आएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आव २०६५-६६ देखि हालसम्म वैदेशिक रोजगारीमा सबैभन्दा बढी ३२.७६ यूएई पुगेका छन् । त्यसैगरी, क्रमशः साउदी अरेबिया १९.५७, कतार १४.४०, मलेसिया १२.५४, कुबेत ४.८३ र अन्या १४.९० प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको चार महिनाको तथ्याङ्कको आधारमा सबैभन्दा धेरे रेमिट्यान्स कतारबाट आएको छ । 

कतारबाट चार महिनाको अवधिमा ५३ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । त्यस्तै, भारतबाट ४३ अर्ब १५ करोड रुपैयाँ भित्रिएको छ भने यूएईबाट ४० अर्ब ८७ करोड रुपैयाँ भित्रिएको छ । त्यसैगरी, साउदी अरेबियाबाट ३८ अर्ब १५ करोड, मलेसियाबाट २९ अर्ब ९९ करोड र अमेरिकाबाट २५ अर्ब ४२ करोड रुपैयाँ भित्रिएको छ । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा भने जम्मा ७९ हजार ६ सय ८० जना वैदेशिक रोजगारमा गएका छन् । त्यसैले घट्दो वैदेशिक रोजगारीले गर्दा नेपालको अर्थतन्त्रमा असर पर्ने आँकलन राष्ट्र बैंकले गरेका छन् ।