१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
फाइल तस्बिर
२०७६ माघ १३ सोमबार १७:४९:००
Read Time : > 1 मिनेट
पर्यटन

चिनियाँ पर्यटकको सिजनमै कोरोनाको प्रकोप, व्यवसायी मारमा

Read Time : > 1 मिनेट
२०७६ माघ १३ सोमबार १७:४९:००

नेपाल भ्रमण वर्ष २०२० मा चीनबाट ३  लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य थियो ।

तर चीनमा देखिएको कोरोना भाइरसका कारण नकारात्मक असर परेको छ । कोरोना भाइरसकका कारण चीनले केही समयको लागि ट्राभल कम्पनीहरूलाई अन्तर्राष्ट्रिय टुर प्याकेज सञ्चालनमा रोक लगाएको छ । 
गत २७ तारिखदेखि कुनै पनि देशमा पर्यटक नपठाउन चीनिया सरकारले ट्राभल एजेन्सीलाई भनिसकेको छ ।

अहिले नेपालमा चिनियाँ पर्यटक अत्याधिक भित्रिने प्रमुख सिजन हो । चाइनिज नयाँ वर्ष चलिरहेकाले यो चीनिया पर्यटक नेपाल आउने सिजन भएको पोखरास्थित थ्रि सिस्टर्स ट्रेक एन्ड एक्स्पिडिसनमा कार्यतर ट्रेकिङ गाइड लक्ष्मी भारतीले बताइन् ।

अध्यागमन विभागले निकालेको तथ्यांकअनुसार गत वर्ष फेब्रुअरीमा १६ हजार भन्दा बढी चिनियाँ पर्यटक नयाँ वर्ष मनाउन नेपाल आएका थिए । फेब्रुअरी र मार्च महिनामा नेपालमा चिनियाँ पर्यटकको वर्चस्व हुने गर्छ । विशेषगरी यी महिनामा लामो समयको विदामा रहेका चिनिया पर्यटक ‘स्प्रिङ फेस्टिभल’ मनाउन नेपाल आउने गर्छन् ।

पर्यटन व्यवसायी सुवर्ण श्रेष्ठले यो सिजनमा ठमेलमा ७० प्रतिशत चिनियाँ पर्यटकले भरिने गरेको बताए । तर कोरोना भाइरसले गर्दा अहिले व्यवसायी मारमा छन् । ‘पर्ख र हेरवाहेक हामीसँग केही विकल्प छैन’, उनले भने ।
श्रेष्ठका अनुसार यतिबेला १५ दिनको अन्तरालमा २० हजारको दरले चिनियाँ पर्यटक नेपाल आउनुपर्ने हो । तर अहिले भने उनीहरूको आगमन ठप्पजस्तै छ । सिजनमै यस्तो अवस्था आइलाग्नु भ्रमण वर्षको लागि ठूलो धक्का भएको भन्दै उनले थपे, ‘समयमै यसको नियन्त्रण भएन भने पर्यटकको संख्या न्यून हुन सक्छ ।’

संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयका प्रवक्ता रूद्रसिंह तामाङले यसप्रति मन्त्रालय सतर्कताका साथ लागि परिरहेको बताए । भ्रमण वर्षलाई नकारात्मक प्रभाव पर्नबाट बचाउनेगरि काम अघि बढिरहेको उनले जनाए ।

‘चीनका पर्यटक घटिरहेका छन् भन्ने आधिकारिक तथ्यांक आइसकेको पनि छैन्,’ उनले भने, ‘विमानस्थलबाट आउने यात्रु हेर्दा पर्यटक घटेको जस्तो देखिँदैन । पर्यटकको संख्या पोहोर भन्दा बढेकौ छ ।’