मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ १३ सोमबार १२:११:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

नेकपा केन्द्रीय कमिटी बैठक सभामगृहमा हुने, अध्यक्षको प्रतिवेदन तयार

Read Time : > 1 मिनेट
२०७६ माघ १३ सोमबार १२:११:००

आगामी बुधबार बस्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकमा पेश गर्ने प्रतिवेदन संशोधनसहित अन्तिम रुप तयार भएको छ । २९ मङ्सिर– ६ पुससम्म चलेको नेकपाको स्थायी समिति बैठकमा सहभागी सदस्यहरूले राखेका प्रतिक्रिया र टिप्पणीहरूमाथि आवश्यक संशोधन गर्न पार्टीका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहकार्य थालेका थिए ।

पार्टीको विधानअनुसार स्थायी समितिले गरेका निर्णयहरू अनुमोदनका लागि पोलिटब्युरो र केन्द्रीय समितिको बैठकमा पेश गर्नुपर्ने हुन्छ ।  नेकपामा हाल पोलिटब्युरो गठन भइनसकेकाले १५ माघमा बस्ने केन्द्रीय समिति बैठकमा स्थायी समितिका सुझाव र प्रतिक्रियाहरू पेश हुने भएका छन् ।

स्थायी समिति बैठकले उठाएका विषयमा आइतबार अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको थियो । स्थायी समिति बैठकमा प्रतिवेदनमाथि आएका प्रतिक्रिया र टिप्पणीहरूलाई पार्टीको सचिवालय बैठकले टुंगो  लगाउने सहमतिसहित बैठक समापन भएको थियो ।

स्थायी समितिका सदस्यले गरेको सोही प्रतिक्रियाहरूलाई अध्यक्षद्वयले आवश्यक संशोधन गरेका छन् । प्रतिक्रियाहरूलाई आवश्यक सम्बोधन र संशोधन गर्न पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड थप सक्रिय रहेका थिए । ‘स्थायी समितिमा उठेका विषयहरू समेटेर राजनीतिक प्रतिवेदन तयार भइसकेको’ प्रचण्ड निकट एक नेताले नयाँ पत्रिकासँग भने । यसलाई अब  बस्ने पार्टीको सचिवालय बैठकले टुंगो  लगाई १५ माघमा बस्ने केन्द्रीय कमिटीको बैठकमा पार्टीका अध्यक्षले प्रतिवेदन पेश गर्ने छन् ।

२९ मङ्सिरको उक्त बैठकमा स्थायी समिति सदस्य विष्णु रिमाल, घनश्याम भुसाल, भीम रावललगायत नेताहरूले पार्टीमा गुटबन्दी झङ्गिएको, पार्टी विधि र पद्धतिअनुसार नचलेको, सभामुख चयन चाँडै गर्नुपर्ने र अमेरिकाले सहयोग गर्ने भनेको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे थप छलफल हुनुपने लगायतका विषयमा टिप्पणी गरेका थिए । ‘स्थायी समिति बैठकमा हामीले राखेका विचारमा अध्यक्षद्वयले छलफल गर्नु भएको बुझेका छौं,’ स्थायी समिति सदस्य विष्णु रिमालले भने, ‘यसलाई सचिवालय बैठकले टुंगो  लगाउने छ ।’

स्थायी समितिको उक्त बैठकमा सहभागी सबै नेताले पार्टीमा गुटबन्दी हावी भएको र यसबाट जनताले अपेक्षा गरेका काम गर्न नसकिने धारणा राखेका थिए । २९ मङ्सिरमा प्रचण्डले १६ पृष्ठको राजनीतिक प्रतिवदन प्रस्तुत गरेपछि सदस्यहरूले उठाएका विषयमा आवश्यक संशोधान गरिने बताएका थिए ।

यसै विषयमा ११ माघ र आइतबार (आज) दुवै अध्यक्षबीच छलफल भएको हो ।‘स्थायी समितिका सदस्यहरूले राख्नु भएको धारणाबारे दुवै अध्यक्षले पटक–पटक छलफल गर्नु भएको छ । १५ गते पेश हुने प्रतिवेदनमाथि आवश्यक सबै विषय अब टुङ्गिन बाँकी छैनन्,’ पार्टी महासचिव विष्णु पौडेलले नयाँ पत्रिकासँग भने ।

सभागृहमा आयोजना हुने पार्टीको केन्द्रीय समिति बैठक प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा बस्ने भएको छ । यसअघि पार्टी कार्यालय धुम्बारहीमा बैठक बस्ने बताइए पनि सीट क्षमताका कारण कार्यालयमा बैठक बस्ने नसकेको हो ।

‘स्थायी समितिका कमरेडहले राख्नुभएको धारणा दुवै अध्यक्षहरूले आवश्यक संशोधन गरिसक्नु भएको छ,’ नेकपा केन्द्रीय समिति सदस्य कृष्णगोपाल श्रेष्ठले भने, ‘दुवै अध्यक्षले संशोधन गरेको प्रतिवेदनमा संस्थागत धारणा दिन पार्टीको सचिवालय आज या भोलि बसेर प्रतिवेदन फाइनल गर्नेछ ।’