मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १२ आइतबार १५:४३:००
Read Time : < 1 मिनेट
समाचार

राजपालाई उपसभामुख दिन नेकपाका दुवै अध्यक्ष सहमति नजिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १२ आइतबार १५:४३:००

प्रतिनिधिसभाको रिक्त उपसभामुख पद राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पाउने निश्चित भएको छ । आइतबार बालुवाटारमा दुवै अध्यक्षबीच भएको साढे ३ घण्टा लामो छलफलमा उपसभामुख पद राजपालाई दिनेमा सहमति नजिक पुगेका हुन् ।

‘उपसभामुख राजपालाई दिने विषयमा दुवै अध्यक्षहरुको एकमत छ । यसबारे पार्टीको आधिकारिक धारणा आउन भने बाँकी छ,’ नेकपा सचिवालयका एक सदस्यले भने । राजपाका अध्यक्ष मण्डलका नेताहरुले नेकपाका दुवै अध्यक्षहरुलाई भेटेर यसबारे औपचारिक निर्णय गर्ने बताएका छन् ।

नेकपा र राजपाले २ पुसमा नै बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा प्रदेश–२ मा गठबन्धन गर्ने सहमति गरेका थिए । प्रदेश–२ बाट राष्ट्रिय सभामा निर्वाचित हुने चार सिटमध्ये २-२ सिटमा बाँडफाँड भएको हो । राष्ट्रियसभा निर्वाचनमा दुवै पार्टीबाट इमान्दारीपूर्वक मत खसेपछि सम्बन्ध थप सुदृढ भएको नेताहरुको प्रतिक्रिया छ ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले ६ माघमा राजीनामा दिएपछि उपसभामुख पद रिक्त रहेको छ । आइतबार संसदमा सभामुख पदको चुनाव सकेपछि उपसभामुखको चुनावी कार्य तालिका सार्वजनिक गर्ने कार्यक्रम संसद सचिवालयले जारी गरेको छ । प्रतिनिधिसभामा एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्न नपाउने संवैधानिक व्यवस्था रहेकाले सभामुख र उपसभामुखबीचमा सत्तारुढ नेकपाले आफू ‘नजिक’को दललाई उपसभामुख दिने भएको हो ।

प्रमुख प्रतिपक्षी कांग्रेसको दाबी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि उपसभामुखमा दाबी गर्दै आएको थियो । माघ ७ गते कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रचण्ड निवास खुमलटार पुगेर प्रचण्डसँग सभामुखबारे कुराकानी चलाएका थिए । उपसभामुखकै विषयमा कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपाका दुवै अध्यक्षबीच छलफल भएको थियो । 

‘शनिबारको छलफलमा कांग्रेसलाई उपसभामुख दिन दुवै अध्यक्षहरु तयार नभएपछि आजको छलफलबाट राजपाले उपसभामुख पाउने सम्भावना बलियो देखाएको छ,’ ती नेताले भने ।