१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ १२ आइतबार १०:३८:००
Read Time : > 3 मिनेट
सेयर बजार

डेढ वर्षकै उच्च बिन्दुमा नेप्से कारोबार रकम साढे ८ अर्ब

Read Time : > 3 मिनेट
२०७६ माघ १२ आइतबार १०:३८:००

सातामा नेप्से १२ दशमलव ७६ अंक घट्न पुगेको छ । गत साताको बिहीबार र यस साताको बिहीबारको तुलनामा बजार सो अंकले घटेको हो । गत साता बिहीबार १ हजार ३ सय १० दशमलव २३ बिन्दुमा बन्द भएको बजार यस साता बिहीबार १ हजार २ सय ९७ दशमलव ४७ बिन्दुमा बन्द भएको छ । आइतबार बजार बढेर २० महिना तथा ०७५ को वैशाखपछिकै उच्च बिन्दुमा पुगेको थियो । आइतबार १ हजार ३ सय ४९ बिन्दुमा पुगेको नेप्से सोमबारदेखि घट्न थालेको हो ।  सातामा आइतबार ३३ दशमलव ४३ र मंगलबार ३ दशमलव ३६ अंक बढेको थियो भने बाँकी तीन दिन घटेको थियो । नेप्से दुई दिनमा ३६ दशमलव ७८ अंक बढ्दा तीन दिनमा ४९ दशमलव ५४ अंक घट्न पुगेको छ । 

परिसूचक एक वर्षयताकै उच्च बिन्दुमा पुगेपछि लगानीकर्ता नाफा बुकिङमा सक्रिय भएका हुन् । बजारका विश्लेषकले नेप्से १ हजार ३ सय ६० बिन्दुमा बलियो प्रतिरोध रहेको बताएका थिए । नेप्से परिसूचकले सोही बिन्दुविरिपरि प्रतिरोध पाएर घटेको विश्लेषकहरूको भनाइ छ । नेप्सेले १ हजार ३ सय ६० बिन्दु पार गरेको भए १ हजार ४ सय बिन्दु समाउने थियो । परिसूचकले प्रतिरोधलाई सामना गर्न नसक्दा घट्न पुगेको विश्लेषकको बुझाइ छ । 

सेयर बजार घटे पनि दैनिक कारोबार अर्बमाथि भएको छ । यसले बजारमा लगानी भित्रिएको बुझिन्छ । यतिवेला सुनको भाउ बढ्न र बैंकबाट सहज रूपमा कर्ज पाउनुले सेयर बजारमा कारोबार रकम बढेको लगानीकर्ता बताउँछन् । 

प्राविधिक विश्लेषण
सातामा भएको कारोबारबाट निकालिएको पिभटअुनसार आगामी दिनमा बजार घट्ने संकेत देखिन्छ । साताको उच्च, न्यून र बन्द बिन्दुलाई लिएर निकालिएको पिभटले यस्तो संकेत गरेको हो ।  साताको उच्च, न्यून, बन्द बिन्दुको पिभट विश्लेषण गर्दा, नेप्सेको पिभट बिन्दु १ हजार ३ सय १७ बिन्दु रहेको छ । साताको पिभट बिन्दुभन्दा बिहीबार बन्द भएको बिन्दु तल रहेकाले घट्ने संकेत गरेको हो । आगामी साता नेप्से ओरालो लागे १ हजार २ सय ७५ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने बजार उकालो लागे १ हजार ३ सय ३९ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्ने देखिन्छ । साताको सुरु, उच्च, न्यून र बन्द बिन्दुबाट सुटिङ स्टार मैनबत्ती बनेको छ । यसले आगामी दिनमा बजारबारे अन्योल संकेत गरेको छ । 

बिमा समूहमा खरिद चाप, चार उपसमूह मात्र सकारात्मक, सेन्सेटिभ इन्डेक्स र बजार पुँजीकरण  घट्यो

सातामा बिमा समूहको परिसूचकमा खरिद चाप परेको देखिन्छ ।  जीवन बिमा समूहको ७ दशमलव ६७ प्रतिशत बढेको छ भने निर्जीवन बिमा समूहको ४ दशमलव शून्य ६ प्रतिशत बढेको छ । लगानीकर्ताहरूले बिमा समूहको सेयर खरिद माग बढाएको देखिन्छ । बिमा कम्पनीको पुँजी वृद्धि तथा लाभांश घोषणा हुने हल्लाले खरिद चाप बढेको लगानीकर्ता बताउँछन् । १२ उपसमूहको परिसूचकमा चार समूह मात्र बढेका छन् भने आठ समूह घटेका छन् । दुई बिमा समूह, वित्त र म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ । होटेल समूहको ३ दशमलव ३४, जलविद्युत्को २ दशमलव ८० र लघुवित्तको २ दशमलव ५९ प्रतिशत घटेको छ । बाँकी समूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

धेरै पुँजी भएका बैंकको सेयर मूल्य घट्दा बजार पुँजीकरण पनि घट्ने गरेको छ । यस साता बजार पुँजीकरणमा नेपाल दूरसञ्चार कम्पनीको अग्रस्थानमा परेको छ । कम्पनीको सेयर मूल्य बढेपछि पुँजीकरण पनि बढेको हो । बैंकहरूको सेयर मूल्य घटेकाले बजार पुँजीकरण २ दशमलव ४५ प्रतिशत घट्न पुगेको छ । बिहीबार बजार पुँजीकरण १६ खर्ब ५४ अर्बमा आइपुगेको छ । सेन्सेटिभ इन्डेक्स १ दशमलव ४७ र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव २७ प्रतिशत घटेको छ ।

सातामा ऐतिहासिक साढे ८ अर्बभन्दा बढीको कारोबार, ग्लोबल आइएमई अगाडि

लामो समयपछि बजारमा ऐतिहासिक सेयर कारोबार भएको छ । दैनिक १ अर्बभन्दा माथिको कारोबारले सातामा ८ अर्ब ५४ करोड ६८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । गत साता ६ अर्ब ६७ करोडको कारोबार भएको थियो । गत साताको तुलनामा कारोबार रकम २८ प्रतिशत बढेको छ । साढे ६ महिनापछि जनता बैंकसँगको मर्जर सफलपछि नेप्सेमा सूचीकृत भएको ग्लोबल आइएमई बैंक सेयर कित्तादेखि कारोबार रकमसम्म अग्रस्थानमा परेको छ । बैंकको मात्र सातामा ८० करोड ६२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बैंकको २६ लाख २९ हजार ७ सय १९ कित्ता सेयर कारोबार भएको छ । दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्सको ४८ करोड ५५ रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

आइपिओ निष्कासन गर्न दुई कम्पनीको निवेदन बोर्डमा, लघुवित्तमा हालसम्मकै ठूलो आइपिओ एनआइसीको

सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्न दुई कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । मध्यभोटेकोसी जलविद्युत् कम्पनी र एनआइसी एसिया लघुवित्तले निवेदन दिएका छन् । मध्यभोटेकोसी जलविद्युत् कम्पनीले १ करोड ५० लाख कित्ता सेयर स्थानीय र सर्वसाधारणलाई बिक्री गर्न निवेदन दिएको हो । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई बैंक रहेको छ । 

त्यसैगरी, एनआइसी एसिया लघुवित्तले लघुवित्तमा हालसम्मकै धेरै कित्ता सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले ४७ लाख ५५ हजार कित्ता सर्वसाधारणलाई निष्कासन गर्न लागेको हो । कम्पनीको बिक्री प्रबन्धमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । 

सानिमा र एनसिसीले ऋणपत्र जारी गर्न बोर्डमा दिए निवेदन

नेपाल धितोपत्र बोर्डमा ऋणपत्र निष्कासनका लागि सानिमा बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकले निवदेन दिएका छन् । नेपाल राष्ट्र बैंकले चुक्ता पँुजीको २५ प्रतिशत ऋणपत्र निष्कासन गर्नुपर्ने व्यवस्था गरेअनुसार यी कम्पनीले निवेदन दिएका हुन् । सानिमा बैंकले ४ अर्ब रुपैयाँबराबरको ४० लाख कित्ता ऋणपत्र जारी गर्ने लागेको हो । बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा १० वर्षे अवधिको ऋणपत्र निष्कासन गर्नेछ । कुल कित्तामध्ये बैंकले १६ लाख कित्ता सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणलाई बिक्री गर्नेछ भने बाँकी २४ लाख कित्ता व्यक्तिगत तबरबाट विभिन्न संघसंस्थालाई बिक्री गर्नेछ । बैंकको ऋणपत्र बिक्री प्रबन्धकको जिम्मेवारी एनआइसी एसिया क्यापिटलले लिएको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार रहेको छ । 

त्यसैगरी, एनसिसी बैंकले एनसिसी ऋणपत्र १० वर्षे अवधिका लागि वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदरमा बिक्री गर्न निवेदन दिएको हो । बैंकले ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्रमा १२ लाख कित्ता सर्वसाधारणमा र १८ लाख कित्ता व्यक्तिगत तथा संघसंस्थालाई बिक्री गर्नेछ । बैंकले ऋणपत्र बिक्रीका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक तोकेको छ । 

शतप्रतिशत हकप्रदका लागि सिभिल लघुवित्तको निवेदन बोर्डमा

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले कायम चुक्ता पुँजी ११ करोड ४१ लाख १४ हजारको आधारमा शतप्रतिशत हकप्रद जारी गर्न निवदेन दिएको हो । कम्पनीले ११ लाख ४१ हजार १ सय ४० कित्ताबराबरको ११ करोड ४१ लाख १४ हजारको हकप्रद बिक्री गर्नेछ । कम्पनीको २०७५ पुस २९ गते सम्पन्न भएको सभाले उक्त हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । हकप्रदको बिक्री प्रबन्धकमा सेन्चुरी क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले १० प्रतिशत लाभांश प्रस्ताव गरे पनि हालसम्म सभाको सूचना भने दिएको छैन ।