मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ १२ आइतबार १०:२४:००
Read Time : > 1 मिनेट
अर्थ

अरनिको राजमार्ग स्तरोन्नति चीनको प्राथमिकताबाहिर 

Read Time : > 1 मिनेट
२०७६ माघ १२ आइतबार १०:२४:००

अरनिको राजमार्गलाई स्तरोन्नति गर्ने कार्य तत्काल सुरु नहुने भएको छ । राजमार्ग स्तरोन्नतिको कार्यलाई चीनले प्राथमिकता नदिएपछि डेडिकेटेड डबल लेनमा स्तरोन्नति गर्ने कार्य अहिलेलाई रोकिएको सडक विभाग, वैदेशिक सहायता महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए । उनका अनुसार अहिलेकै सडकबाट काम चलाउँदै जाने र आवश्यक भएमा पछि स्तरोन्नति गर्ने प्रस्ताव चिनियाँ अधिकारीको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले धुलिखेलदेखि कोदारीसम्मलाई दुई चरणमा विस्तार गर्ने योजना बनाएको थियो । पहिलो चरणमा कोदारीदेखि बाह्रबिसेसम्मको २६ दशमलव २१ किलोमिटर र दोस्रो चरणमा बाह्रबिसेदेखि धुलिखेलसम्मको ५६ दशमलव ६२ किलोमिटर सडक विस्तार गर्ने योजना छ । ‘यही योजनाअनुसार चिनियाँ अधिकारीसँग प्रस्ताव गरिएको, तर उनीहरूले अनिच्छा देखाए,’ वैदेशिक सहायता महाशाखा प्रमुख थापाले भने । 

 चिनियाँ राष्ट्रपतिको भ्रमणमा स्तरोन्नति गर्ने समझदारी

गत असोज (२५–२६) मा भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा दुई देशबीच अरनिको राजमार्गलाई चरणबद्ध रूपमा स्तरोन्नति गरिने समझदारी भएको हो । प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सी जिन पिङको उपस्थितिमा अरनिको राजमार्गलाई दीर्घकालीन रूपमा सञ्चालनका लागि स्तरोन्नति र पुनर्निर्माण गर्न दुवै पक्षबीच समझदारी भएको थियो । दुवै देशका सरकार प्रमुखको उपस्थितिमा भएको समझदारीलाई प्राथमिकताका आधारमा स्तरोन्नति गरिने संयुक्त वक्तव्यमा समेत उल्लेख छ । अरनिको राजमार्ग चीन सरकारकै सहयोगमा निर्माण भएको चीन जोड्ने पहिलो सडकनाका हो । 

सिंहदरबारनजिकै माइतीघर मण्डलादेखि सुरु हुने यो राजमार्ग कोदारीस्थित मितेरी पुलमा गएर टुंगिन्छ । यसको कुल लम्बाइ १ सय १२ दशमलव ८३ किलोमिटर छ । तर, धुलिखेलदेखि कोदारीसम्मको लम्बाइ भने ८२ दशमलव ८३ किलोमिटर रहेको छ । काठमाडौंदेखि धुलिखेलसम्म सडक विस्तार भइरहेका कारण धुलिखेलदेखि कोदारीसम्मको सडक पूर्णतः डबल लेनमा स्तरोन्नति गर्ने सरकारको योजना छ । यो सडक सन् १९६० मा चिनियाँ सहयोगमा बनेको हो । त्यसवेला याक हिँड्ने बाटोलाई सडकमा रूपान्तरण गरिएको थियो ।

तीन चरणमा विस्तार गर्ने चीनको प्रस्ताव 

नेपाली अधिकारीहरूको प्रस्तावमा अनिच्छा देखाएका चिनियाँ टोलीले तीन चरणको योजना ल्याउन माग गरेका छन् । त्यसअनुसार पहिलो चरणमा भूकम्पले बिग्रिएको तातोपानीदेखि कोदारीसम्मको सडकलाई सञ्चालनयोग्य बनाइनेछ । सञ्चालनयोग्य बनाउनका लागि सो खण्डमा कालोपत्रेसमेत गर्ने चिनियाँको भनाइ छ । त्यसपछि मात्र आवश्यकता हेरेर कोदारीदेखि बाह्रबिसेसम्मको दोस्रो चरणमा र बाह्रबिसेदेखि धुलिखेलसम्मको सडकलाई तेस्रो चरणमा विस्तार गर्ने बताएका छन् ।