मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका भक्तपुर
२०७६ माघ ११ शनिबार १९:४२:००
Read Time : > 1 मिनेट
समाचार

धर्मभक्त राष्ट्रिय केन्द्रमा पाँचौ पटक कलेजो प्रत्यारोपण, नेपालभन्दा विदेशमा पाँच गुणा बढी खर्च लाग्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका भक्तपुर
२०७६ माघ ११ शनिबार १९:४२:००

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पाँचौ पटक सफल कलेजो प्रत्यारोपण गरेको छ । केन्द्रमा गत २८ पुसमा सर्लाहीका ६२ वर्षे योगेन्द्र महतोको सफल अपरेसन भएको हो । उनलाई छोरा ३५ वर्षे पंकज महतोले कलेजो दान गरेका हुन् ।

नेपाल र भातरका ३० जना चिकित्सक तथा नर्सहरुको टोलीले केन्द्रमा कलेजो प्रत्यारोपण गरेको केन्द्रका निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । केन्द्रले २२ मंसिर, ०७३ बाट कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो । अब हरेक महिना कम्तिमा एउटा कलेजो प्रत्यारोपण गर्ने गरी योजना बनाएको डा. श्रेष्ठले बताए ।

०६९ मा खुलेको केन्द्रले नेपाललाई मानव शरीरको अङ्ग प्रत्यारोपणमा आत्मनिर्भर बनाउने उद्देश्य लिएको केन्द्रले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । केन्द्रले मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला र कलेजोलगायत अन्य व्यक्तिमा सफल प्रत्यारोपण गरेको छ । केन्द्रबाट अहिलेसम्म ६ सय ८० जनाको ९९ प्रतिशत सफल मिर्गौला प्रत्यारोपण भएको छ भने पछिल्लो आर्थिक वर्ष ०७५-७६ मा मात्रै एक सय ७९ को मिर्गौला प्रत्यारोपण भएको थियो । 

सातामा आठ वटासम्म मिर्गौला प्रत्यारोपण गर्ने केन्द्रले केही समययता अवरोधपछि पुनः आगामी सातादेखि पूर्ण क्षमताका साथ सेवा सुरु गर्ने डा.श्रेष्ठले जानकारी दिए । नेपालमा वार्षिक करिब एक हजार जनाभन्दा बढीको कलेजो फेल हुने अनुमान छ । कलेजो प्रत्यारोपणका लागि करिब बिस लाख रुपैयाँ खर्च लाग्छ । डा.श्रेष्ठ भन्छन्, ‘कलेजो प्रत्यारोपणको खर्च हामी कहाँ २० लाख हाराहारी मात्रै हो, तर भारत र अन्य विकसित देशमा एक करोडसम्म रहेको छ ।’

अध्ययनका अनुसार नेपालमा करिब आठ लाख मानिसमा कुनै न कुनै कलेजोसम्बन्धी समस्या छ । त्यसमध्ये करिब १० हजारको कलेजो फेल हुन सक्ने अनुमान छ । मदिरा सेवन गर्ने कारणले नेपालमा यत्तिका ठूलो संख्यामा कलेजोसम्बन्धी समस्या रहेको डा. श्रेष्ठले बताए ।