१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ ११ शनिबार १९:४५:००
Read Time : < 1 मिनेट
अर्थ

अन्नपूर्ण चिनी उद्योगमा उखु किसानको धर्ना

Read Time : < 1 मिनेट
२०७६ माघ ११ शनिबार १९:४५:००

अन्नपूर्ण चिनी उद्योगको मौज्दात चिनी निकासी रोक्न उखु किसान र जनप्रतिनिधिले उद्योगको मुलगेटमा धर्ना दिएका छन् । किसानको रकम भुक्तानी नगरी धनकौलस्थित उद्योगले गत वर्षको मौज्दात चिनी निकासी गर्न लागेको भन्दै स्थानीय किसानले अवरोध गरेका हुन् ।

चिनी निकासी गर्न शनिबार उद्योग परिसरमा ट्रक ल्याएको थाहा पाएपछि स्थानीय उखु किसानहरू उद्योगको मुलगेटमा जम्मा भएका थिए । उद्योग व्यवस्थापनले गोदाममा रहेको चिनी लोड लागेको भन्दै प्रदेश सांसद् वीरेन्द्रप्रसाद सिंह, धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहसमेत उद्योगको मुलगेटमा धर्नामा बसेको स्थानीय राजेन्द्र सिंहले जानकारी दिए । प्रदेश सांसद सिंहले किसानको सम्पूर्ण रकम भुक्तानी नगरेसम्म चिनी निकासी गर्न नदिने स्पष्ट पारे ।

विगतमा उद्योगले किसानको रकम भुक्तानी गर्न भन्दै गोदाममा रहेको चिनी बेचे पनि किसानको एक पैसा नदिएको स्थानीय उखु किसानहरूको भनाइ छ । धेरै उखु किसानले विगत पाँच वर्षदेखि भुक्तानी नपाएको स्थानीय उखु किसान वीरेन्द्र दासले बताए । उद्योगले किसानलाई ४० करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । उद्योगले केही समययता तीन करोड ९० लाख भुक्तानी गरेको भए पनि किसानले कुनै रकम नपाएको बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले भने उद्योग मन्त्रालय र गृहमन्त्रालयबाट प्राप्त निर्देशन पालना गरिएको बताए । मन्त्रालयको निर्देशनअनुसार अन्नपूर्णको चिनी निकासीका लागि आवश्यक सहजीकरण एवं सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ छ । उद्योग र उद्योग सञ्चालकको सम्पूर्ण बैंक खाता रोक्का भइसकेको भन्दै उनले उद्योगमा मौज्दात रहेको चिनी बिक्री गरेर आएको रकम किसानलाई नै भुक्तानी गरिने उद्योग मन्त्रालयले जनाएको बताए ।