मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ ११ शनिबार १९:१०:००
Read Time : < 1 मिनेट
समाचार

प्रदेशको नाम र राजधानी सहमतिमै : मुख्यमन्त्री पोखरेल

Read Time : < 1 मिनेट
२०७६ माघ ११ शनिबार १९:१०:००

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाबाट सहमतिमै प्रदेशको नाम र राजधानीको विषय टुंगो लाग्ने बताएका छन् ।

शनिबार बुटवलमा प्रेस संगठनको प्रदेश भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको नाम र राजधानीका विषयमा निर्वाचनका बेला गरेको प्रतिबद्धतालाई थाँती राखेर सहमतिको प्रयासमा जुट्नुपर्ने बताए । निर्वाचनका बेला विभिन्न दलका नेताले फरक–फरक स्थानका जनतासमक्ष फरक–फरक प्रतिबद्धता जनाएको भन्दै उनले ती प्रतिबद्धतामा अडिग हुने हो भने सहमति बन्न नसक्ने बताए । उनले राजधानी र नामका विषयमा आफ्नो कुनै निजी विचार नभएको स्पष्ट पारे ।

‘समृद्ध प्रदेश, खुशी जनता’ बनाउने प्रदेश सरकारको लक्ष्य रहेको भन्दै मुख्यमन्त्री पोखरेलले आफूहरू सबै त्यसतर्फ अग्रसर भएको बताए । ‘प्रदेशसभामा अब त्यही विषय प्रवेश हुन्छ,’ उनले भने, ‘हामीलाई विभाजित नगर्नुहोला, प्रदेशसभामार्फत सहमतिमा टुंग्याउँछौँ ।’ केन्द्र सरकारले बुटवलस्थित सडक विभागको कम्पाउण्डभित्र बनेका विभिन्न संरचना प्रदेश सरकारलाई उपयोग गर्न दिने निर्णय गरेलगत्तै प्रदेशको स्थायी राजधानी र नामको विषयले बढी चर्चा पाएको छ ।

सडक विभागको कम्पाउण्डभित्र अहिले भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय रहेका छन् । यहाँको जग्गा र भवनहरू प्रदेश सरकारलाई उपयोग गर्न दिए धेरै मन्त्रालय र प्रदेश सरकारका निकायहरूको व्यवस्थापन गर्न सकिने निष्कर्ष प्रदेश कार्यालय व्यवस्थापन सहयोग समितिले निकालेको थियो । गत ५ माघबाट सुरु भएको प्रदेशसभाको अधिवेशनले प्रदेशको नाम र राजधानी टुंगो लगाउने बताइएको छ ।