मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ माघ ११ शनिबार ०९:२४:००
Read Time : < 1 मिनेट
खेलकुद

एपिएफले जित्यो क्लब भलिबल उपाधि

Read Time : < 1 मिनेट
२०७६ माघ ११ शनिबार ०९:२४:००

न्यु डायमन्डकी महत्वपूर्ण खेलाडी प्रतिभा माली घाइते भएको फाइदा उठाउँदै नेपाल एपिएफले शुक्रबार एनभिए राष्ट्रिय क्लब महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा एपिएफले न्यु डायमन्डलाई ३–१ को सेटमा हराउँदै उपधि हात पारेको हो । तेस्रो सेटमा प्रतिभा घाइते भएकी थिइन् । घुँडामा चोट लागेपछि उनले खेल्न सकिनन् । तत्कालै प्रतिभालाई अस्पताल पुर्‍याइयो ।

न्यु डायमन्डका प्रशिक्षक कुमार राईले आफ्ना मुख्य खेलाडी घाइते हुँदा तेस्रो सेटपछि दबाब परेको बताए । ‘प्रतिस्पर्धात्मक सेट चलिरहँदा प्रतिभा घाइते हुनु नै हाम्रा लागि दुर्भाग्य भयो,’ प्रशिक्षक राईले भने । एपिएफले लगातार दुई सेट २५–२३ र २५–२१ ले जितेको थियो । अघिल्ला दुई सेटमा राम्रो प्रदर्शन गरे पनि न्यु डायमन्डले एपिएफको डिफेन्स तोड्न सकेको थिएन । तेस्रो सेटमा पुनरागमन गरी न्यु डायमन्डले २५–२३ को नतिजा निकाल्यो । चौथो सेटमा एपिएफले २५–१८ ले बाजी मार्‍यो । 

यसैगरी, पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्टस् क्लबले जितेको छ । उपाधि भिडन्तमा हेल्प नेपालले एपिएफलाई ३–० को सेटमा हरायो । हेल्प नेपालले २५–१७, २५–१४ र २५–२१ को सहज जित निकालेको हो । तीन भारतीय खेलाडीको साथ पाएको हेल्प नेपालले एपिएफमाथि पूरै सेटमा दबाब बनायो ।