१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ ११ शनिबार ०६:३५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

परराष्ट्रमन्त्री फागुनमा बंगलादेश जाँदै : कनेक्टिभिटी मुख्य प्राथमिकता

Read Time : > 1 मिनेट
२०७६ माघ ११ शनिबार ०६:३५:००

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ६ फागुनमा बंगलादेशको दुई दिने औपचारिक भ्रमणमा जाँदै छन् । बंगलादेशका समकक्षी डा. एके अब्दुल मोमेनको निमन्त्रणामा ज्ञवाली मन्त्रालयका उच्च अधिकारीसहित जान लागेका हुन् ।  बंगलादेशका उच्च अधिकारीसँगको भेटवार्तामा ज्ञवालीले नेपाल र बंगलादेशबीच विस्तृत कनेक्टिभिटी सम्झौता, ऊर्जा व्यापार, लगानी, नेपाली वस्तुलाई बंगलादेशमा पहुँच विस्तारलगायत विषयमा छलफल गर्ने कार्यसूची तयार भएको छ । ‘परराष्ट्रमन्त्रीको भ्रमण फागुन ६ र ७ गते हुने तय भएको छ, हामी बंगलादेशको परराष्ट्र मन्त्रालयसँग समन्वय गरिरहेका छौँ,’  बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले ढाकाबाट टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘बंगलादेशसँग नेपालले विस्तृत कनेक्टिभिटीमा जोड दिनेछ ।’ 

बंगलादेश र भारतबीच सतह मार्ग, जल मार्ग, व्यापार र हवाई सम्पर्कसहितको विस्तृत कनेक्टिभिटीमा सहकार्य भइरहेकोमा नेपालले पनि त्यसैअनुसार सहकार्य गर्ने प्रस्ताव गरेको छ । यसमा दुवै पक्षबीच छलफल भइरहेको छ । ‘बंगलादेशको ढाकाबाट काठमाडौंको हवाई सम्पर्क त छँदै छ, अब त्यहाँका क्षेत्रीय विमानस्थलबाट नेपालका पनि विराटनगर, लुम्बिनीजस्ता क्षेत्रीय विमानस्थलमा हवाई सम्पर्क विस्तार गर्नुपर्छ भन्नेमा हाम्रो जोड छ,’  राजदूत मिश्रले भने । 

नेपाल र बंगलादेशबीच सतह मार्गबाट जनस्तरको आवतवाजतमा कठिनाइ भइरहेको विषयमा पनि छलफल हुनेछ । दुई देशबीच सीधा बस र कार्गो यातायात सहजीकरणबारे छलफल हुनेछ । त्यसैगरी, बंगलादेश र भारतबीचको रेलवे कनेक्टिभिटीमा नेपाल पनि जोडिने विषयमा छलफल हुनेछ । कोसी, गंगा हुँदै बंगलाबन्द बन्दरगाहमा जल यातायातमार्फत कनेक्टिभिटीका लागि भविष्यमा सम्झौता गर्ने विषयमा पनि यो भ्रमणमा छलफल हुने कार्यक्रम छ ।

गंगा नदीबाट पूर्वोत्तर भारतमा जलयातायात प्रभावकारी छ । नेपाल र भारतबीच भारत हुँदै बंगलादेशसम्म ऊर्जा पु-याउन डेडिकेटेड विद्युतीय प्रसारण लाइन बनाउने सहमति भएको छ । यसको कार्यान्वयन मोडालिटीका विषयमा पनि परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणमा छलफल हुनेछ । प्रसारण लाइनमार्फत नेपालले बंगलादेशलाई भविष्यमा ऊर्जा बेच्नेछ । नेपालको जलविद्युत्मा बंगलादेशबाट हुने लगानीका विषयमा पनि छलफल गर्ने कार्यक्रम छ । 

नेपालले नेपाली वस्तु व्यापारको पहुँचमा भएको असहजता हटाउन बंगलादेशलाई आग्रह गर्नेछ । वस्तु व्यापार सहजीकरणका लागि नेपाल र बंगलादेशबीच प्रिफरेन्सियल टेड एग्रिमेन्ट गर्न नेपालले पहिले नै प्रस्ताव गरिसकेको छ । यसबारे थप छलफल हुनेछ । नेपाली वस्तु निर्यातमा राजस्व र भन्सार धेरै तिर्नुपर्ने अवस्था हटाउनुपर्ने नेपाली पक्षको भनाइ छ । नेपालबाट बंगलादेशमा चिया, फकी अम्रिसो, दालचिनीको निर्यात हुँदै आएको छ । तर, बंगलादेशको आन्तरिक कानुन नेपाली वस्तुलाई बंगलादेशमा सहज प्रवेशका लागि सहज नभएको नेपालको गुनासो छ । 

नेपाल र बंगलादेशबीच यस वर्ष उच्चस्तरीय भ्रमण आदानप्रदान भइरहेको छ । यस सर्ष बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले नेपालको औपचारिक भ्रमण गरे । प्रधानसेनापति पूर्णचन्द्र थापाले हालै बंगलादेशको औपचारिक भ्रमण गरेका छन् । बंगलादेशका प्रधानसेनापति अजिज अहम्मद २४ माघमा नेपालको औपचारिक भ्रमणमा आउँदै छन् ।