मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ १० शुक्रबार ०९:२८:००
Read Time : > 1 मिनेट
विश्व

डाभोसमा ट्रम्प र खानबीच भेटवार्ता : कस्मिरबारे मध्यस्थता गर्न ट्रम्प तयार

Read Time : > 1 मिनेट
२०७६ माघ १० शुक्रबार ०९:२८:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कस्मिर समस्या समाधानका लागि आफू मध्यस्थता गर्न तयार रहेको बताएका छन् । स्विट्जरल्यान्डको डाभोसमा विश्व आर्थिक मञ्चको ५०औँ वार्षिक सम्मेलनका अवसरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग भएको साइडलाइन वार्तामा उनले कस्मिरको समस्या समाधान गर्न मध्यस्थता गर्न इच्छा देखाएका हुन् । तर, भारतले कस्मिर मामिला आन्तरिक समस्या भन्दै बाह्य मध्यस्थता आवश्यक नभएको बताउँदै आएको छ । त्यसअघि खानले सम्मेलनलाई सम्बोधन गर्दै कस्मिर मामिलामा राष्ट्रसंघले मध्यस्थता गर्नुपर्ने बताएका थिए ।

सो अवसरमा ट्रम्पले कस्मिरका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गर्ने खानलाई आश्वासन दिएका थिए । ‘हामी कस्मिरबारे छलफल गरिरहेका छौँ । कस्मिर विषयलाई हामीले नजिकबाट नियालिरहेका छौँ,’ ट्रम्पले भने । केही सातापछि भारतको भ्रमण गर्ने ट्रम्पको कार्यक्रम छ । ट्रम्प र खानबीच भारत–पाकिस्तान तनाव, अफगानिस्तानको युद्ध, अमेरिका र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धलगायत विषयमा छलफल भएको थियो ।

अफगानिस्तानलाई हेर्ने दृष्टिकोण समान

प्रधानमन्त्री खानले अफगानिस्तानमा सशस्त्र विदोह गरेका तालिवानबारे पाकिस्तान र अमेरिकाको हेर्ने दृष्टिकोण पछिल्लो समय समान भएको बताए । तालिवान समस्या वार्ताबाटै समाधान गर्न सकिने खानको भनाइ थियो । ‘अमेरिका पनि तालिवानसँग शान्तिवार्ता गरिरहेको छ । तालिवानसँग वार्ताको विकल्प छैन,’ खानले भने । 

शान्तिप्रति पाकिस्तानको अडानलाई दोहोर्‍याउँदै खानले अफगानिस्तानका विषयमा पुनः ट्रम्पसँग छलफल गर्ने बताए । राष्टपति ट्रम्पले अमेरिका र पाकिस्तानबीचको सम्बन्ध सुमधुर रहेको रहेको चर्चा गर्दै इस्लामाबादलाई जुनसुकै सहयोग गर्न तयार रहेको बताए । सो अवसरमा खानले इरानसँगको युद्ध विश्वकै लागि दुर्घटना हुने बताए । खानको सो भनाइपछि ट्रम्पले कुनै प्रतिक्रिया दिएनन् ।

के हो कस्मिर समस्या ?

भारत सरकारले गत अगस्टमा ५ मा कस्मिरलाई दिँदै आएको विशेषाधिकार खोस्ने घोषणा गरेको थियो । सो घोषणासँगै मुस्लिमहरूको बाहुल्य रहेको कस्मिरमा विरोध प्रदर्शन हुँदै आएका छन् । सरकारले कस्मिरलाई विशेषाधिकार दिने संविधानको धारा ३७० खारेज गरिदिएर सम्पत्ति, शिक्षा र रोजगारीलगायत विभिन्न क्षेत्रमा कस्मिरले पाउँदै आएको विशेषाधिकार खोसिदिएको थियो । कस्मिरको विशेषाधिकार खोसेपछि पाकिस्तान भारतसँग क्रूद्ध छ । कास्मिरलाई भारत र पाकिस्तान दुवैले दाबी गर्दै आएका छन् । कस्मिरलाई लिएर दुईपटकसम्म युद्ध भएको छ । भारत प्रशासित कस्मिरमा सन् १९८० को दशकदेखि विखण्डनकारीले हिंसा मच्चाउँदै आएका छन् । 

नागरिकता कानुनबारे खानको चिन्ता

ट्रम्पसँगको भेटवार्तामा भारतले हालै ल्याएको नागरिकतासम्बन्धी विवादास्पद कानुनको विरोधमा मुसलमानहरूलाई निसाना बनाएको भन्दै खानले चिन्ता व्यक्त गरे । भारतको संसद्ले एक महिनाअघि पारित गरेको सो कानुन एक सातादेखि कार्यान्वयनमा आएको छ । कानुनको विरोधमा भारतमा देशव्यापी प्रदर्शन हुँदै आएका छन् । हिंसात्मक प्रदर्शनबाट विश्व समुदायको ध्यान अन्यत्र मोड्न भारतले पुनः पाकिस्तानमाथि हमला गर्न सक्ने खानको अनुमान छ ।