मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ माघ १० शुक्रबार ०८:३०:००
Read Time : > 1 मिनेट
सेयर बजार

१५.९५ अंक घट्दा १३ सय बिन्दुमुनि नेप्से

Read Time : > 1 मिनेट
२०७६ माघ १० शुक्रबार ०८:३०:००

बिहीबार सेयर बजार १५ दशमलव ९५ अंक घटेर बन्द भएको छ । १ हजार ३ सय १४ बिन्दुबाट सुरु भएको सेयर बजार १ हजार ३ सय २० बिन्दुसम्म पुगेर ओरालो लागेको परिसूचक अन्त्यमा १ हजार २ सय ९७ दशमलव ४७ बिन्दुमा बन्द भएको छ । यस दिन अन्य र जीवन बिमा समूहको परिसूचम थोरै अंकले बढे पनि बाँकी समूहको परिसूचक घट्दा नेप्से घट्न पुगेको हो ।

आइतबारसम्म उच्च अंकले बढेको बजार सोमबार २६ अंकले घटेपछि बजार ओरालो लाग्न सुरु भएको हो । आइतबारदेखि बिहीबारसम्म नेप्से ३६ दशमलव ७९ अंकले बढेको छ भने ४९ दशमलव ५४ अंकले घटेको छ । दुई दिन बढेको बजार तीन दिन घटेको छ । नेप्से लामो समयसम्म एकनासले घटिरहँदा नाफा बुक गर्न नपाएका लगानीकर्ता सक्रिय भएको देखिन्छ । बजार १ हजार १ सय बिन्दुमा आइपुगेपछि एकैपटक साढे दुई सय अंकले बढ्न पुगेको थियो । बढेको बजारमा बिमा, लघुवित्त र बैंकिङका सेयरमा धेरैले नाफा बुक गरेका छन् । 

यस दिन नेपाल लाइफ इन्स्योरेन्स र ग्लोबल आइएमई बैंकको कारोबार अग्रस्थानमा भएको छ । इन्स्योरेन्सको १८ करोड ४० लाखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । कम्पनीले हालसम्म लाभांश घोषणा नगरेकाले लाभांशमा हल्ला भइरहेकाले उच्च कारोबार भएको एक लगानीकर्ताले बताए । जनता बैंकसँगको मर्जरपछि ग्लोबल आइएमई बैंकको कारोबार अग्रस्थानमा हुँदै आएको छ । बुधबार पनि उच्च कारोबार भएको बैंकको सेयर कारोबार बिहीबार पनि अग्रस्थानमा परेको छ ।

बैंकको १५ करोड ५२ लाखभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन कारोबारको अग्रस्थानमा बैंक र बिमा कम्पनी रहेका छन् । यस दिनको कारोबार रकम बुधबारको तुलनामा घटेको छ । बुधबार १ अर्ब ५८ करोडको सेयर कारोबार भएको थियो भने बिहीबार १ अर्ब ३८ करोडको सेयर कारोबार भएको छ । बुधबार ग्लोबल आइएमई बैंकको ६१ करोडको कारोबारले रकम बढाएको थियो । बिहीबार १ सय ७२ कम्पनीको ३७ लाख ५४ हजार ५ सय २१ कित्ता सेयर कारोबार भएको छ । 

बिहीबार सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य ९ दशमलव ४७ प्रतिशत बढेर १ सय ४ रुपैयाँ पुगेको छ । दोस्रोमा मिथिला लघुवित्तको सेयर मूल्य ४ प्रतिशत बढेको छ । सिद्धार्थ इक्विटी र मञ्जुश्री फाइनान्सको सेयर मूल्य घट्नेको अग्रस्थानमा रहेको छ । यस दिन कारोबार भएका कम्पनीमध्ये ३५ कम्पनीको मात्र सेयर मूल्य बढ्न पुगेको छ । १ सय २८ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनी नेप्से बन्द हुने वेलामा अघिल्लो दिनको मूल्यमा स्थिर भए ।