Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ७ बुधबार
  • Wednesday, 23 September, 2020
२०७६ माघ ९ बिहीबार २१:५५:००
समाचार

सर्लाहीका बिसौँ बिगाहामा गाँजा खेती

२०७६ माघ ९ बिहीबार २१:५५:००

सर्लाहीको उत्तरी क्षेत्रका बिसौँ बिगाहामा व्यावसायिक रूपमा गाँजा खेती हुने गरेको पाइएको छ । चुरे क्षेत्रमा रहेका गाउँहरूमा गाँजा खेती हुने गरेको सुराकीको आधारमा पछिल्लो समय प्रहरीले १० बिगाहाभन्दा बढी क्षेत्रमा लगाइएको गाँजा नष्ट गरिसकेको छ ।

सुराकीको आधारमा केही क्षेत्रमा लगाइएको गाँजा फडानी गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जिल्लाको चुरे क्षेत्रमा व्यापक मात्रामा गाँजा खेती भइरहेको पाइएको बताए । बस्ती पातलिँदै गएको चुरेका हरिऔनको बेलडाँडा, लालबन्दीको नारायण खोला, मोटर दोभान, तोरीबारीलगायत आधा दर्जन स्थानमा गाँजा खेती हुने गरेको उनले बताए ।

स्थानीयहरू सेवा, सुविधाको खोजीमा सहर पस्न थालेपछि चुरेका केही गाउँ अहिले मानवविहीन जस्तो बनेको छ । गाउँमा कोही नभएपछि उनीहरूका जग्गा पनि बाँझो बसेको छ । त्यही बाँझो जमिनमा गाँजा खेती हुने गरेको पाइएको हो । तर केही क्षेत्रमा स्थानीयको समेत मिलेमतोमा गाँजा खेती हुने गरेको पोखरेलको दावी छ ।

जिल्लाकै र भारतका व्यापारीसमेत आएर लगानी गरेर गाँजा लगाउने गरेको लालबन्दी नगरपालिका–१४ नारायण खोलाका बुद्धिमान गोलेले बताए । गाँजाको बिरुवा उत्पादन गर्ने बेलामा, गाँजा छिप्पिने बेलामा र पाक्ने बेलामा प्राविधिक नै आउने गरेको स्थानीय एक शिक्षकले बताए । प्राविधिकहरूले गाँजाको हेरचाह र मलजल गर्नसमेत स्थानीय कुरुवालाई सिकाएर जाने गरेको बताइएको छ ।

प्रहरीले एक महिनाको अवधिमा १० बिगाहाभन्दा धेरै क्षेत्रफलको गाँजा फडानी गरिसकेको छ भने अझै दशौँ बिगाहामा गाँजा खेती भइरहेको प्रहरीको आशंका छ । केही दिनयता नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली नै चुरे क्षेत्रमा लगाइएको गाँजा खेती नष्ट गर्न परिचालन गरिएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए ।