मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
दिलबहादुर चौधरी टीकापुर
२०७६ माघ ९ बिहीबार १९:४६:००
Read Time : > 1 मिनेट
अर्थ

गरिमा धानमा किसानले अझैसम्म राहत पाएनन्

Read Time : > 1 मिनेट
दिलबहादुर चौधरी टीकापुर
२०७६ माघ ९ बिहीबार १९:४६:००

गरिमा जातको धान रोपेर उत्पादन लिन नपाएका किसानलाई राहत दिने भनिए पनि किसानले अझैसम्म राहत पाउन सकेका छैनन् ।

सबै किसानले धान भित्र्याएको करिब ४ महिना बढी भएपनि गरिमा जातको धानको बिउमा ठगिएका किसानले भने न धान भित्र्याउन पाए न राहत नै पाएका छन्  । गरिमा धान नफलेपछि कतैबाट राहतसमेत नपाउँदा किसानलाई समस्या भइरहेको छ ।

टीकापुर नगरपालिका–१ बनगाउँकी पार्वती चौधरीले धान नफल्दा घरमा खाने अन्नको अभाव हुँदै गएको बताइन् । उनले घरमा अन्नको कमीसँगै छोराछोरीहरूको लालनपालनमा समस्या हुँदै गएको बताइन्  । धरै उत्पादन लिन सकिने धान भन्दै धेरै किसानले गरिमा धान रोपेका थिए । केही किसानले आफ्नै निर्णयमा गरिमा धान रोपेका थिए भने केहीले गैरसरकारी निकायको सहयोगमा रोपेका थिए ।

थोरै क्षेत्रफलमा राम्रो र धेरै उत्पादन लिन सकिने भन्दै गरिमा धान रोपेका किसानहरू अहिले खाद्य संकटमा पर्ने भन्दै बिलौना गर्न थालेका छन् । उनीहरूले सम्बन्धित तह तथा निकायबाट क्षतिपूर्तिसहितको राहत पाउनुपर्ने माग गरिरहेका छन् । टीकापुर–१ बनगाउँका टुनप्रसाद चौधरीले धेरैतिरबाट आश्वासन पाए पनि राहत भने कहीँबाट पनि पाउने छाँटकाँट नदेखिएको बताए ।

कैलाली र कञ्चनपुरका करिब सात सय हेक्टरमा गरिमा धान लगाइएको थियो । उत्पादन नभएपछि करिब १७ सय किसान प्रभावित बनेका छन् । किसानहरू समस्यामा परेको भन्दै स्थानीय तहका कृषि शाखा, कृषि ज्ञान केन्द्र कञ्चनपुरको अनुगमन तथा मूल्यांकन समितिको टोलीले दुई महिनाअघि धान रोपिएको किसानको विवरण र तथ्यसमेत संकलन गरेकोे थियो । किसानलाई राहत दिन सरकारलाई सिफारिस गरे पनि राहत पाउन नसकेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले बताए ।

बिउको खराबीका कारण धान नफलेको भन्दै भट्टले बिउ वितरण गर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने र किसानलाई राहत दिनुपर्ने भनेर सिफारिस गरिएको जानकारी दिए । तर केन्द्र सरकारले राहतका लागि निर्णय नगरेकाले राहत नआएको उनको भनाइ छ । गत वर्ष सनराइज सिड्स कम्पनी दाङले सुदुरपश्चिमको कैलाली र कञ्चनपुरमा करिब १० गरिमा जातको धानको बिउ बिक्री गरेको थियो ।