१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ ९ बिहीबार १९:२९:००
Read Time : > 1 मिनेट
समाचार

माघ १३ मा हुँदै थियो विवाह तर टिपरले लियो रमिताकाे ज्यान

Read Time : > 1 मिनेट
२०७६ माघ ९ बिहीबार १९:२९:००

यही १३ माघमा उनको विवाह हुँदै थियो । जीवनमा एक पटक हुने विवाहका लागि उनमा कम्ति उमङ्ग थिएन । त्यसैले उनी आफ्नाे विवाहको निम्ता साथीहरुलाई बाँडन हिड्दै थिईन । तर विवाहको मिति नजिकिंदै गर्दा उनले यस धर्ती छोडिन । 

बिहीबार अपरान्ह कञ्चनपुरको पुर्वपश्चिम महेन्द्र राजमार्गकाे भीमदत्त नगरपालिका ४ मा टिपरको ठक्करबाट उनको ज्यान गयो । मृतक हुन् रमिता भट्ट(रोशनी) । ग्राभेल बोकेको से १ क ८८७ नम्बरको टिपरले ठक्कर दिएर दशरतचन्द नगरपालिका १ गुरुखोलाकी २० वर्षीया भट्टको घटनास्थलमै मृत्यु भयो । साइकल चढेकी रमितालाई टिपरले ठक्कर दिएको थियो । टिपरको पछाडिको चक्काले उनको टाउको किचेपछि घटनास्थलमा नै ज्यान गयाे ।

घटना जिल्ला ट्राफिक कार्यालयदेखि झण्डै ५ सय मिटर पश्चिममा भएको हो । स्थानीयले टिपर आतङ्क बढेको भन्दै टिप्परमाथि ढुङ्गामुढा प्रहार गरेका थिए । 

भीमदत्त नगरपालिका १५ गोबरैयामा डेरागरी बस्ने रमिता जनज्योती बहुमुखी क्याम्पस स्नातक तेस्रो वर्षमा अध्ययनरत थिइन् । डेढ वर्षअघि उनले प्रकाश टेरसँग भागी विवाह गरेकी थिइन् । प्रकास टेरका भाइ महेश टेरले भागेर विवाह भएको बताए । ‘डेढ वर्षअघि दाजु प्रकाशसँग रमिताको भागेर विवाह भएको थियो’ ‘उनले भने ‘साँस्कृतिक परम्पराअनुसार विवाह भएको थिएन, यही १३ माघमा विवाह हुन लागेको थियो ।’ 

रमिताको विवाहका लागि केटा र केटीपक्षबीच तयारी भइरहेको थियो । नजिकका आफन्त र साथीभाइलाई निमन्त्रणा दिन उनी गोबरैया डेराबाट साइकल चढेर बजार निस्केका बेला दुर्घटना भएकाे थियाे ।

उनको शव महाकाली अस्पतालमा राखिएको छ । ठक्कर दिने टिपरलाई घटनास्थलबाट साँझ अवेरसम्म पनि प्रहरीले कार्यालय ल्याउन सकेको थिएन् । भिड नियन्त्रण गर्न प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । स्थानीयले घटनाको सत्यतथ्य छानबिन गरेर दोषी उपर कारबाहीकाे माग अघि सारेका छन् । कञ्चनपुर प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । घटना लगत्तै भागेका चालक जयराज पनेरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।