१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ माघ ९ बिहीबार १७:५२:००
Read Time : > 1 मिनेट
समाचार

राष्ट्रिय सभा निर्वाचन : मतदान सकियो, नतिजा आजै आउने

Read Time : > 1 मिनेट
२०७६ माघ ९ बिहीबार १७:५२:००

राष्ट्रिय सभा सदस्य चयनकालागि सातै प्रदेशमा मतदान सम्पन्न भएकोे छ । प्रदेश २ मा शतप्रतिशत मतदान भएको छ भने प्रदेश १, बागमती, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशमा ९९ प्रतिशत मतदान भएको छ । गण्डकी र कर्णाली प्रदेशमा ९८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचनमा सात प्रदेशका प्रदेश सभा सदस्य ५५० र स्थानीय तहतर्पm १५०६ गरी जम्मा २०५६ मतदातामध्ये प्रदेशतर्फ ५४५ र स्थानीय तहतर्फ १४९५ गरी २०४० ले मतदान गरेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मतदान सकिएपछि अब राजनीतिक दलहरुबीच सहमति गरेर तुरुन्तै मतगणना गर्ने र साँझसम्म मतपरिणाम आइसक्ने तयारी रहेको बताए । 

आयोगले विज्ञप्ति जारी गर्दै स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा निर्वाचन सम्पन्न गर्ने गराउने कार्यमा सहयोग पु¥याउने अपेक्षा गरेको जनाएको छ । प्रदेश मुकाम रहेका प्रदेश १ को मोरङ, दुईको धनुषा, बागमती प्रदेशको ललितपुर, गण्डकी प्रदेशको कास्की, प्रदेश ५ को दाङ, कर्णालीको सुर्खेत र सुदुरपश्चिमको डोटी जिल्लामा तोकिएका एक–एक वटा मतदान केन्द्रमा विहान १० बजेबाट ४ बजेसम्म मतदान भएको थियो । 

एक तिहाई सदस्यको पदावधि दुई वर्षमा सकिने व्यवस्थाअनुसार राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि आगामी २० फागुनमा सकिदैछ । संविधानले राष्ट्रियसभामा सदस्य रिक्त हुनुभन्दा ३५ दिन अगावै सोही प्रक्रियाबाट निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ । पदावधि सकिने १९ मध्ये सातै प्रदेशबाट एक–एक गरी महिलातर्फ सात, खुलातर्फ सात, दलिततर्फ दुई र अपाङ्गता भएका वा अल्पसंख्यक तर्फ दुई जनाकालागि मतदान भएको छ । 

निर्वाचनकालागि ११ दल दर्ता भएपनि नेकपाका १६, कांग्रेसका १६, समाजवादीका सात, राजपा नेपालका दुई, नेमकिपाका दुई र राष्ट्रिय जनमोर्चाका दुई जना गरी ४५ जना उम्मेदवार छन् । प्रदेश १ मा नौ जना, दुईमा आठ जना, बागमतीमा छ जना, गण्डकीमा पाँच, प्रदेश ५ मा नौ जना, कर्णालीमा चार जना र सुदुरपश्चिम प्रदेशमा चार जना उम्मेदवार छन् । बाँकी एक जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछिन् ।