मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ ९ बिहीबार २१:००:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

त्यो काठमाडौं, यो काठमाडौं

Read Time : > 3 मिनेट
२०७६ माघ ९ बिहीबार २१:००:००

काठमाडौं, भक्तपुर र ललितपुर नेपालका पुराना शहर हुन् । यी शहर ५/६ सय वर्षदेखि शहरीकरण भएका हुन् । गाउँका मानिसहरू काठमाडौं जानुलाई ‘नेपाल जाने’ भन्थे । बुढापाकाहरू अहिले पनि त्यसै भन्छन् । काठमाडौंलाई ‘नेपाल’ भन्थे । 

झुप्प भएर बस्ने बस्ती शहरको चरित्र हो । कृषिभन्दा व्यापार, उद्योगजस्ता सेवामुलक गतिविधि हुने वासस्थानलाई शहर भनिन्छ । काठमाडौं, भक्तपुर र ललितपुरबाट भारत–तिब्बतको व्यापार हुने भएकाले पनि शहरी क्षेत्रको रूपमा विकासित भए । भौगोलिक एकीकरण भइसकेपछि नेपालको राजधानी काठमाडौं भयो । प्रशासनिक केन्द्र बन्यो ।

साँघुरा गल्लीमा घर 
२०२६ मा एसएलसी दिएर गोरखाबाट प्लेनमा काठमाडौं आएँ, पहिलो पटक । एयरपोर्टबाट थापाथलीसम्म आएँ । असन, न्यूरोड हुँदै ठमेलसम्म आएर बेलुका बसेँ । इन्द्रचोकका साँघुरा गल्लीका त्यस्ता घर, वस्ती देख्दा मलाई अचम्म लाग्यो ।  त्यसअघि चित्रमा मात्रै देखेको थिएँ । यस्ता घरमा मानिसहरू कसरी बसेका होलान भन्ने अनुभूति हुन्थ्यो । त्यसको मलाई अहिले पनि सुखद् सम्झना हुन्छ ।   

त्यतिबेला टेकुदेखि ठमेल, पकनाजोल, सोह्रखुट्टे, डिल्लीबजार, घट्टेकुलो, मैतिदेवी र पुरानो बानेश्वरलाई काठमाडौँका मुख्य शहरमा लिइन्थ्यो । अन्य ठाउँ खाली थिए । धेरै ठूलाठूला फाँटहरू थिए । हामी अमृत साइन्स क्याम्पस (अस्कल) मा पढ्दा ती फाँट देखिन्थे । गल्कोपाखाबाट तल लागेपछि ठूलो फाँट देखिन्थ्यो । अहिले नयाँ बसपार्क भएको क्षेत्रपनि फाँट नै थियो । नयाँबानेश्वर, कोटेश्वर पनि ठूलाठूला फाँट थिए । यी फाँटहरु मैले आफ्नै आँखाले देखें । भक्तपुरको सानो ठिमीमा कम बस्ती थियो । ठिमी नपुगुन्जेल बीचबीचका सबै ठाउँ खाली थिए । ललितपुरमा पनि मुख्यबजार पाटनढोकादेखि लगनखेलसम्मको ठाउँमा मात्रै बस्ती थियो । चक्रपथ बाहिर सबै खुला ठाउँ थियो ।  

विदेशमा घर बनाउँदा खुला ठाउँ नराखी बनाउन पाइँदैन । घर बनाउनुभन्दा अगाडि नै हरियाली बनाएका हुन्छन् । तर हामीकहाँ खुला ठाउँ राख्ने र बोटबिरुवा रोप्ने संस्कारै छैन 

व्यवस्थापनविनाको बढ्दो वस्ती
आर्थिक, सामाजिक विकाससँगै जनसंख्या विकास हुँदै जान्छ । मानिसहरू उच्च जीवनस्तरको खोजीमा शहरतिर पस्ने गर्छन् । नेपालमा पनि विकास हुँदै गयो, शहरमा मानिसहरू बढे । 

शहरीकरणको दईवटा पाटा हुन्छन् । एक, शहरको सुविधाले गाउँका मानिसहरुलाई आकर्षण गरेर आफूतिर तान्छ । अर्को, गाउँको आर्थिक अवस्थाले खर्च धान्न नसकेर गाउँ छोड्ने र शहर पस्ने प्रवृत्ति हुन्छ । त्यसैले नेपालको सन्दर्भमा शहरीकरणको प्रक्रिया आकर्षण र विकर्षण दुबै हो । काठमाडौँमा अव्यवस्थित बसोबासको मुख्य कारण यो हो ।  

योजनाबद्ध विकासको अभाव  
काठमाडौंमा लैनचौरस्थित भारतीय दुतावास वरपर, पशुपति, टोखामा अलिकति हरियाली देख्न पाइन्छ । यी ठाउँबाहेक काठमाडौँमा हरियाली खासै देखिँदैन । हरियाली र खुला ठाउँ नदेख्दा मलाई दिक्कमात्रै होइन, अत्यासपनि लाग्छ ।  

विदेशमा घर बनाउँदा खुला ठाउँ नराखी बनाउन पाइँदैन । घर बनाउनुभन्दा अगाडि नै हरियाली बनाएका हुन्छन् । तर हामीकहाँ खुला ठाउँ राख्ने र बोटबिरुवा रोप्ने संस्कारै छैन । यसका निम्ति हरियालीको प्रवद्र्धन आवश्यक छ । त्यसको चेतना जगाउन ‘क्लिन काठमाडौं, ग्रिन काठमाडौं’ अभियान चलाएका थियाैं ।  

हरियाली अभावबाहेक काठमाडौँको शहरीकरणको सबैभन्दा नराम्रो पक्ष खुला ठाउँ नहुनु हो । यहाँका खाली ठाउँ प्रायः सबै मासिइसकेका छन् । काठमाडौं कंक्रिटको जंगल बनेको छ, जुन वातावरणीय र जनस्वास्थ्यको हिसावले पनि अत्यन्तै खराब छ । अव्यवस्थित बसोबासका कारणले नै यस्तो भएको हो । 

हरियाली अभावबाहेक काठमाडौँको शहरीकरणको सबैभन्दा नराम्रो पक्ष खुला ठाउँ नहुनु हो

करोडौँ जनसंख्या भएका देशहरुले योजनाबद्ध ढंगले शहर विकास गर्ने गरेका छन् । उनीहरुले भू-उपयोग योजना बनाएर कुन ठाउँमा बस्ती विकास गर्ने, कुन ठाउँमा खाली राख्ने, कुन ठाउँमा आवास क्षेत्र बनाउने, कुन ठाउँमा अफिस क्षेत्र बनाउने भन्ने विभाजन गरेका हुन्छन् । यसो गरियो भने हरियालीयुक्त क्षेत्रको संरक्षण हुन्छ, खुला ठाउँ पनि बाँकी रहन्छन् ।

तर हामीकहाँ यस्तो योजना बनाउने परिपाटी भएन । काठमाडौँको विकास योजना त बनेको छ । तर कार्यान्वयन भएको छैन ।

भूमाफियाको कब्जा
म प्रधानमन्त्री भएको बेला शहरी विकास मन्त्रालयबाट योजना बनाएर शहरको विकास गर्ने अभियान सुरुवाता गरेको थिएँ । मुख्य शहरका सडक विस्तार गर्दा सवारी आवागमनको दृष्टिले उपयुक्त त हुनुपर्छ नै, ठाउँ–ठाउँमा खाली ठाउँ पनि राख्नुपर्छ भन्ने मेरो बुझाई थियो ।

काठमाडौँ भूकम्पको दृष्टिले जोखिमयुक्त शहर भएकाले ८३ वटा खुला ठाउँ राख्ने योजना पनि त्यही बेला ल्याएको थिएँ । मल्लकालिन खुला चौरहरू मासिँदै गएका थिए । टुँडिखेल मासिँदै गएको थियो । त्यो योजनामा टुँडिखेललाई खुला राखेर रक्षा गर्नुपर्छ भनेर किटान गरिएको थियो । खुला ठाउँहरु भूमाफियाले कब्जा गर्दै जान थालेको स्थिति मध्यनजर गर्दै मैले यस्तो योजना बनाएको थिएँ ।

नयाँ शक्ति पार्टी बनाएपछि हामीले ‘क्लिन काठमाडौं, ग्रिन काठमाडौं’ अभियान    शुरू गर्नुको एउटा प्रयोजन खुला ठाउँको संरक्षण गर्नु पनि हो । नदीमा प्रदूषण, बाटोघाटोमा फोहोर बढ्दै गएकाले तिनलाई सफाई गर्ने

अभियान सञ्चालन गरेका थियौँ । खुला ठाउँमा वृक्षारोपण गर्ने, हरियाली प्रवद्र्धन र संरक्षण गर्ने भन्ने कुरापनि अभियान अन्तर्गत थियो ।

अहिले ‘अकुपाइ टुँडिखेल’ अभियान सञ्चालन भएको छ, त्यसलाई मैले समर्थनमात्र गरेको छैन, आफैँ सहभागी समेत भएको छु ।

प्रस्तुति : रमेश दवाडी