अमेरिकी सरकारले 'बर्थ टुरिजम्' मा प्रतिबन्ध लगाउने भएको छ । बच्चा जन्माउन अमेरिका जाने महिलाहरुलाई भिजामा थप कडाइ गर्ने उनीहरुले बताएका छन् । जुन कानुन बिहीवार संसदबाट पारित हुनेछ । नियमअनुसार अमेरिकी भिजा लिन गर्भवती महिलाले ‘कन्सुलर अफिसर’ लाई ‘उपयुक्त कारण’ देखाउनु पर्ने छ ।
विदेश विभागले जनवरी २२ मा पठाएको निर्देशनपत्रमा नयाँ कानुनले गर्भवती महिलालाई प्रवेशाज्ञा लिनबाट नरोक्ने तर संयुक्त राज्यका कन्सुलर अधिकारीहरुले बच्चामात्र जन्माउने उद्देश्यले भ्रमणको योजना बनाइरहेको हो कि हैन भनेर निर्धारण गर्ने अधिकार पाउने उल्लेख गरेको छ ।
विदेश विभागका अधिकारीलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ ‘पर्यटक भिजालाई बर्थ टुरिजमका लागि प्रयोग गर्न नदिन विभागले टुरिजम् एक्ट (पर्यटन कानुन) संशोधन गरिरहेको छ । राष्ट्रिय सुरक्षा र कानुन कार्यान्वयनको जोखिमलाई सम्बोधन गर्ने उद्देश्यले नियम संशोधन गर्न लागेको हो ।’
अमेरिकी अधिकारीहरुले विदेश विभागले बिहीबार यो नियम जारी गर्ने बताएका छन् । अमेरिकी प्रशासनले अध्यागमनका सबै प्रारुपमा बन्देज लगाउँदै गएको छ, तर राष्ट्रपति डोनाल्ड ट्रम्प विशेषगरी ‘जन्मजात नागरिकता’ को मुद्दामा कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । गैरअमेरिकी नागरिकका बच्चाले अमेरिकामा जन्म लिनासाथ पाउने नागरिकतासम्बन्धी अधिकारको विरुद्धमा ट्रम्प लागिरहेका छन् । ट्रम्प राष्ट्रपति बनेपछि यसले गति लिएकाे छ ।
अमेरिकामा बढेको ‘बर्थ टुरिजम्’
पश्चिमी देशहरुमा ‘बर्थ टुरिजम्’ फस्टाउँदो छ । अमेरिकी कम्पनीहरुले यसका लागि विज्ञापनसमेत गर्ने गर्छन, सुविधाजनक होटल तथा चिकित्सकको सेवा आदिका लागि ८० हजार डलरसम्म लिने गरेका छन् ।
कति महिला ‘बर्थ टुरिजम्’ का लागि अमेरिका आउँछन्, त्यसको आधिकारिक तथ्याङ्क नभएपनि अध्यागमन विभागले सन् २०१२ मा सार्वजनिक गरेअनुसार ३६ हजार महिलाहरु बच्चा जन्माएर अमेरिका छोडिसकेका थिए । रसिया, चीन, नाइजेरियालगायतका देशबाट हरेक वर्ष सयौं महिलाहरु बच्चा जन्माउन अमेरिका जाने गर्छन् ।