मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी काठमाडाैं
२०७६ माघ ९ बिहीबार १३:४६:००
Read Time : > 1 मिनेट
विश्व

तनावले फुल्ने कपाल रोक्न सकिने तथ्य सार्वजनिक !  

Read Time : > 1 मिनेट
एजेन्सी काठमाडाैं
२०७६ माघ ९ बिहीबार १३:४६:००

वैज्ञानिकहरुले तनावले कपाल फुलाउने तथ्य पत्ता लगाएका छन् । त्यस्तै उनीहरुको अनुसन्धानबाट कुनै रंगको प्रयोग नगरेरै कपाल फुल्नबाट जोगाउन सकिनेसमेत देखिएको छ ।

तनावको कारण छाला र कपालको रंगलाई नियन्त्रण गर्ने कोषमा पर्ने असरबारे मुसामा गरिएको परीक्षणबाट देखिएको हो । कालो रंगको मुसाको आन्द्रमा गरिएको परीक्षणपछि एक हप्ताभित्रै मुसाको रंग सेतो भएकोे छ ।

अमेरिका र ब्राजिलका अनुसन्धानकर्ताले यो तथ्य पत्ता लागेसँगै युवा अवस्थामै कपाल फुल्ने तथा बुढेसकालमा फेरिने कपालको रंगलाई प्राकृतिक रुपमै राख्न सकिने औषधि बनाउन सहयोग गर्ने दावी गरेका छन् । यो उमेरअनुसार प्राकृतिक र आनुवंशिक परिवर्तनका कारण हुने भएपनि यसमा तनावले पनि भुमिका खेल्ने यो परीक्षणबाट देखिएको छ । 

कपाल र छालाको रंगका लागि मेलानिन (मानव शरीरमा पाइने छाला तथा कपालको रंगसँग सम्बन्धित तत्व) ले मुख्य भुमिका खेल्ने गर्छ । मेलानोसाइट स्टिम सेलले मेलानिन उत्पादन गर्छ ।  अनुसन्धानमा सम्मेलित साओ पाउलो र हार्वड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुका अनुसार तनावले मेलानोसाइट स्टिम सेलमा असर गर्छ । 

हार्वड विश्वविद्यालयका प्रोफेसर या ची ह्सुले भने, ‘तनावले कपालको रंग सेतो पार्ने मुसामा गरिएको परीक्षणले देखाएको छ । हाम्रो अनुसन्धानले कुनै उपचार पद्धति देखाएको होइन । यसले एउटा बाटोमात्रै देखाएको छ ।’ 

अनुसन्धानका क्रममा प्रयोग गरिएको मुसाको मुटुको गति र रक्त चाप बढाइएको थियो । स्नायु प्रणालीमा समेत असर पारेर मुसालाई तिव्र तनाव दिइएको थियो । यसबाट मेलानिन उत्पादन गरेर कपाल एवं छालालाई रंग दिने स्टिम कोषिकाहरु नष्ट भएका थिए । र केही दिनमै मुसा रंग फेरिएको थियो । 

त्यसपछि अनुसन्धानकर्ताहरुले तनावका कारण नष्ट हुने ती स्टिम सेलहरुलाई नष्ट हुन नदिन ‘साइक्लिन–डिपेन्डेन्ट–किनेज’ प्रोटिनलाई सक्रिय पारेर कपालको रंग सेतो हुनबाट पनि जोगाउन सफल भएका छन् । यसबाट ‘साइक्लिन–डिपेन्डेन्ट–किनेज’लाई सक्रिय पार्ने औषधि बनाएर कपालको रंग सेतो हुनबाट जोगाउन सकिने सम्भावना देखिएको हो ।