मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ माघ ९ बिहीबार ११:१२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

दिक्क नर्स : काम धेरै तलब कम

Read Time : > 1 मिनेट
२०७६ माघ ९ बिहीबार ११:१२:००

रश्मि भण्डारी विगत एक वर्षदेखि कैलालीको एक अस्पतालमा नर्सका रूपमा कार्यरत छिन् । उनको तलब १३ हजार छ, तर चौबीसै घन्टा ड्युटीका लागि अलर्ट बस्नुपर्छ । नर्सिङ पढिसकेपछि उनले झन्डै आठ महिना स्वयंसेवकका रूपमा यहाँ काम गरेकी थिइन् । ‘लाखौँ खर्चर पढेंं तर के गर्ने, जागिर पाउनै मुस्किल छ । पाइहाले पनि कामको चाप धेरै , तलब छैन राम्रो,’ उनले भनिन् ।

सविना परियार पनि रौतहटको एक अस्पतालमा तीन महिनादेखि न्यून तलबमा काम गरिरहेकी छिन् । सरकारी अस्पतालमा काम नपाएपछि कम तलबमै रौतहटमा काम गर्न बाध्य भएको उनले बताइन् । अस्पतालमा बिरामीको चाप धेरै हुने भएकाले नर्सले धेरैभन्दा धेरै समय ड्युटीमा खटिनुपर्ने अवस्था रहेको उनी बताउँछिन् । ‘हाम्रो ड्युटी आठ घन्टा हुनुपर्ने हो, तर झन्डै १४ देखि १५ घन्टासम्म काम गर्नुपर्ने बाध्यता छ,’ उनले भनिन् । 

पिसिएल नर्सिङ पढिसक्दासम्म विद्यार्थीले पाँचदेखि १५ लाख रुपैयाँसम्म खर्च गरिसकेका हुन्छन्, यसपछि विनातलब केही समय काम गरेर बल्ल उनीहरूले जागिर पाउँछन्, त्यो पनि न्यून तलबमा । नर्सिङ संघकी अध्यक्ष प्रा. मनकुमारी राईका अनुसार बिरामीको चाप रहने अस्पतालमा रातिको समयमा एउटै नर्सले २० देखि ३० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ । ‘विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार जनरल वार्डमा पाँचजना बिरामीबराबर एक नर्स, प्रसूति कक्षमा एक बिरामीबराबर दुईजना नर्स, शल्यक्रिया कक्षमा एक बिरामीबराबर तीनजना नर्स, आइसियू र सिसियूमा एक बिरामीबराबर एक नर्स र हाईकेयरमा दुई बिरामीबराबर एक नर्स हुनुपर्ने व्यवस्था छ,’ राईले भनिन्, ‘यस सिद्धान्तलाई नेपालले व्यावहारिक रूपमा कार्यान्वयन गरेको छैन ।’

बिरामीको हेरचाह गर्नुपर्ने नर्स आफैँ तनावमा छन् । काम  चुनौतीपूर्ण छ, तलब कम । 

नर्सिङ संघले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा ९० हजार ६२ जना नर्स छन् । यसमध्ये झन्डै १२ हजार नर्स मात्र सरकारी अस्पतालमा कार्यरत छन् । राई भन्छिन्, ‘सरकारी अस्पतालमा काम गर्ने नर्सका लागि तलबको समस्या छैन, तर निजी अस्पतालमा निकै कम तलब छ ।’ उनका अनुसार नर्सिङ शिक्षामा बढ्दो आकर्षण, आवश्यकताभन्दा बढी कलेज खुल्नु र अस्पतालमा आवश्यकताअनुसार दरबन्दी नहुनुले नर्सहरू बेरोजगार हुनुपर्ने बाध्यता सिर्जना भएको हो । महँगो शुल्क तिरेर अध्ययन पूरा गरेका कतिपय नर्स उचित जागिर नपाउँदा गैरसरकारी संस्थामा न्यून तलबमा काम गर्न बाध्य भएको उनी बताउँछिन् । 

बिरामी नै मारमा 
नर्सको व्यवहार रुखो हुने, कुरुवासँग झर्केर बोल्ने वा नराम्रो व्यवहार देखाउने, बिरामीप्रति सहृदयी व्यवहारको खडेरी हुनेलगायत गुनासो बिरामी वा उनीहरूका आफन्तले गर्ने गरेका छन् । राईका अनुसार नर्सले झेलिरहेको समस्याले उनीहरूको व्यवहारमा पनि असर गर्ने गरेको छ । ‘कामको ओभरलोड, न्यून तलब, स्वस्थ प्रतिस्पर्धाको साटो सोर्सफोर्समा दिइएको जागिर र आवश्यक तालिमको कमीले यसमा असर गरेको देखिन्छ,’ उनले भनिन् । 

एक विद्यालय एक नर्सको अवधारणा
शिक्षा मन्त्रालयले हरेक विद्यालयमा एक नर्स राख्ने गरी ल्याएको नीतिले बेरोजगारी समस्यालाई हल गर्न केही हदसम्म सहयोग गर्ने देखिन्छ । प्रदेश ३ मा यो कार्यक्रम लागू भइसकेको छ । नर्सिङ संघका अनुसार देशभर यस्तो कार्यक्रम लागू भएमा झन्डै २४ हजार नर्सले जागिर पाउनेछन् । विद्यालयमा नर्स राख्दा विद्यार्थीले स्वास्थ्यसम्बन्धी आधारभूत ज्ञान त पाउनेछन् नै, बिदेसिने नर्सको संख्या पनि घट्नेछ । 

बिदेसिनेको संख्या बढ्दो
नर्सिङ काउन्सिलको तथ्यांकअनुसार हाल काउन्सिलमा दर्ता भएकामध्ये १३ हजारभन्दा बढीले विदेशमा उच्च शिक्षा र कामका लागि प्रस्ताव पेस गरेका छन् । अधिकांश नर्सको गन्तव्य अस्ट्रेलिया, क्यानडालगायत मुलुक हुने गरेको छ ।