मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ ९ बिहीबार १०:५०:००
Read Time : > 2 मिनेट
नयाँCity

साढे पाँच सय वर्ष पुरानो इतिहास

Read Time : > 2 मिनेट
२०७६ माघ ९ बिहीबार १०:५०:००

उपत्यकाका शिख समुदाय

शिख समुदायका गुरु नानक करिब साढे पाँच सय वर्षअघि काठमाडौं आए । तत्कालीन राजा जयजगत मल्लको परिवार नै बिरामी परेको थियो । र, गुरु नानकले उनीहरू सबैको उपचार गरे । उनीसँग खुसी भएर राजाले बालाजुदेखि सोह्रखुट्टेसम्म करिब पाँच सय रोपनी जग्गा र गुरुद्वारा बनाउन ठाउँ दिए । अहिले पनि ललितपुर कुपन्डोलबाहेक उपत्यकाका पााँचवटा गुरुद्वारा र तिनले चर्चेको जग्गा गुरु नानककै नाममा छ ।

धर्मग्रन्थ राखिएको स्थानलाई गुरुद्वारा भनिन्छ । गुरुहरूको वाणीलाई ग्रन्थमा लिपिबद्ध गर्ने गरिन्छ । कुपन्डोलस्थित गुरुद्वाराका गुरु दलेर सिंहका अनुसार उपत्यकामा एउटा गुरुद्वारा र पाँचवटा नानक मठ छन् । थापाथलीको ‘उदासिया’, पशुपतिका ‘भस्मेश्वर’ र ‘निर्मला’ तथा बालाजु र शोभाभगवतीका नानक मठ छन् । कुपन्डोलको भने गुरुद्वारा हो । यो गुरुद्वारा सन् १९७२ देखि सञ्चालनमा छ । दलेर सिंह यसका गुरु छन् । गुरुद्वाराको जिम्मेवारी कमिटी प्रधान पृतम सिंहले सम्हाल्दै आएका छन् । पशुपति भस्मेश्वर मठको २० रोपनी जग्गा छ । त्यस्तै, सोही ठाउँको निर्मला मठसँग आठ रोपनी छ । बालाजु मठको नाममा पाँच सय रोपनी जग्गा छ ।

ज्ञानेश्वर नानक मठका पुजारी हुन्, रमेशकुमार गजुरेल । उनले ०४१ सालदेखि ‘ज्ञानेश्वर नानक मठ’ र पशुपतिनाथस्थित ‘भश्मेश्वर नानक मठ’को हेरचाह गर्दै आएका छन् । उनका अनुसार मल्लकालमा स्थापना भएको हो, ‘ज्ञानेश्वर नानक मठ’ । त्यसअघि लिच्छवीकालमा ‘निर्मला नानक मठ’ स्थापना भएको थियो । अरू सबै मठ शाह वंशको शासनका वेला स्थापना भएका हुन् । गुरु नानक पुगेका विभिन्न ठाउँमा अध्ययनपछि अन्य मठ स्थापना भएको गजुरेलको भनाइ छ । शिख समुदायका मन्दिर हुन्, गुरुद्वारा । बिहान साढे पाँचदेखि आठ बजेसम्म गुरुद्वारामा प्रवचन हुन्छ । साँझ भजनकीर्तन गरिन्छ ।

यातायातका सुरुवातकर्ता
नेपालमा सार्वजनिक यातायातको सुरुवात शिख समुदायले नै गरेको कृष्ण सिंह बताउँछन् । सुरुमा ठूला ट्रक नेपाल ल्याएको थियो, उक्त समुदायले । वि.सं. १९९६ तिर पुल नभएका नदीमा डुंगामा राखेर उनीहरूले ट्रक भित्र्रयाएका थिए । कुपन्डोल सत्संगका गुरु दलेर सिंहका अनुसार काठमाडौं उपत्यकाभित्र बसोवास गर्ने शिख समुदायका सदस्य यातायात क्षेत्रमा बढी संलग्न छन् । गाडी चलाएरै उनीहरूले गुजारा गर्दै आएका छन् ।

वीरगन्जका शिख समुदाय भने गाडी चलाउनेबाहेकका व्यवसायमा पनि संलग्न छन् । अन्य समुदायले पनि गाडी चलाउन थालेपछि शिखहरू सीमा क्षेत्रतिर जान थाले । ‘६० वर्षभन्दा अघिसम्म पन्जाबी ड्राइभर मात्र थिए, नेपालमा,’ सिंह भन्छन् । उनका अनुसार उपत्यकामा शिख समुदायको जनसंख्या करिब डेढ सय छ । कुपन्डोल सत्संगका प्रधान पृतम सिंहले पनि पहिले बस र ट्रक चलाउँथे । अहिले उनी चोभारस्थित मोडर्न इन्डियन स्कुलका प्रबन्धक तथा सचिव छन् । उनका २५ भन्दा बढी स्कुलबस छन् । ‘पहिले बाइरोडको बाटोबाट गाडी लिएर आउँदा हेर्न आउने नेपालीको भीड हुन्थ्यो,’ सिंह भन्छन्, ‘हर्न बजाएपछि सबै भाग्थे ।’

गुरुद्वारामा निःशुल्क भोजन
कुपन्डोलको गुरुद्वारा ‘गुरु नानक सत्संग’मा सातामा एक दिन शनिबार निःशुल्क खाना वितरण गरिन्छ । शिख समुदायमा भोजनलाई ‘लंगर’ भनिन्छ । सिंहका अनुसार बिहान ११ देखि १ बजेसम्म निःशुल्क भोजन गराउने गरिएको छ । बिहानको पूजा सकिएपछि सबैजना एकसाथ बसेर भोजन गर्छन् । ‘सरदारहरू टाढा–टाढा बस्नुहुन्छ । त्यसैले दैनिक निःशुल्क भोजन गराउन सकिएको छैन,’ सिंह भन्छन् । अन्य गुरुद्वारामा पनि यसअघि निःशुल्क भोजनको व्यवस्था थियो । तर, गुठी संस्थानमातहतका जग्गा आफ्नो नाममा ल्याउने सरकारी निर्णयपछि त्यसमा ‘ब्रेक’ लाग्यो ।

नेपालका शिख समुदायसँग इतिहासका तीनवटा पाटा जोडिन्छन् । पहिलो– मल्लकालमा गुरु नानकको नेपाल आगमन । दोस्रो– पन्जाबका महाराजा रणजित सिंहको सेनामा भर्तीसँगै ‘लाहुर’ जाने संस्कृतिको विकास । र, तेस्रो– रणजित सिंहकी बहिनीको नेपाल आगमनसँगै यहाँ भित्रिएका शिख समुदाय ।

गुरुद्वारामा प्रवेश गर्न जुत्ता–चप्पल खोलेर हात–खुट्टा पखाली शिरमा रुमाल बाँध्नुपर्ने नियम छ । गुरुलाई ढोगेर भक्तजन प्रवचन सुन्न बस्छन् । महिला र पुरुषका लागि अलग–अलग लहर छुट्याइएको हुन्छ, प्रवचनका लागि । गुरुद्वारामा बाँडिने प्रसादलाई ‘कडा प्रसाद’ भनिन्छ, जुन आँटा र घ्यूबाट बनाइन्छ । गुरुद्वारा र मठमा धर्मशाला बनाइएको छ । टाढाबाट आएका मानिसले धर्मशालामा वास पाउँछन् ।

‘लाहुरे’ संस्कृतिको विकास
नेपालमा ‘लाहुर’ जाने संस्कृतिको विकास शिखकै कारण सुरु भएको हो । तत्कालीन पन्जाबको शिख साम्राज्यका राजा रणजित सिंहलाई अंग्रेजविरुद्धको लडाइँमा नेपालबाट सैनिक पठाइएको थियो । पछि उनको सेनामा नेपाली युवालाई भर्ती लिन थालियो । लाहोर (हाल पाकिस्तान)मा नेपाली युवालाई भर्ती लिने गरिएकाले ‘लाहुर’ र ‘लाहुरे’ शब्दको उत्पत्ति भएको हो । पछि रणजित सिंहकी एक बहिनी नेपालमा शरण लिन आइपुगिन् । उनकै साथ लागेर शिख समुदायका अन्य सदस्य पनि नेपाल आएर बस्न थाले । गोर्खाली र शिख सैन्य कलामा निपुण भएका कारण धेरै युद्ध साथसाथै लडे पनि । भारतमा अहिले पनि शिख र गोर्खा रेजिमेन्टलाई उत्कृष्ट मानिन्छ । त्यसैले शिख समुदाय नेपाल आएका दुईवटा इतिहास छन्– मल्लकालमा गुरु नानकसँग र रणजित सिंहकी बहिनीको साथ लागेर ।