मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ माघ ९ बिहीबार १०:५२:००
Read Time : > 1 मिनेट
प्रदेश

छाउपडी प्रथा : विद्यालयको  ‘इस्यु’ले बन्यो राष्ट्रिय अभियान 

Read Time : > 1 मिनेट
२०७६ माघ ९ बिहीबार १०:५२:००

नयाँ पत्रिकामा गत ३० मंसिरमा ‘महिनावारी हुँदा कोठाबाहिरै कक्षा’ शीर्षकमा समाचार प्रकाशित भयो । तातोपानी गाउँपालिका– ८ बारागाउँस्थित जनजागृति आधारभूत विद्यालयका किशोरी र शिक्षिका महिनावारी हुँदा कक्षाभित्र बसे ‘देउता रिसाउँछन्, विद्या हराउँछ’ भन्ने अन्धविश्वासले कक्षामा नजाने गरेको समाचार प्रकाशित भएपछि १ पुसमा गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दियो ‘महिनावारी हुँदा कोठाबाहिरै किन पढाइयो, लिखित जवाफ पठाउनू ।’

गृहको निर्देशनपछि प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले विद्यालयका प्रधानाध्यापक अमर रावतलाई प्रशासन कार्यालयमै बोलाएर लिखित जवाफ मागे । ‘पत्रिकामा समाचार आएपछि गृहबाट फोन आयो, तत्काल सबै बुझेर लिखित जवाफ बुझाउन आदेश भएको छ,’ श्रेष्ठले भने, ‘माथिको आदेशलगत्तै मैले प्रधानाध्यापक रावतलाई प्रशासन कार्यालयमै बोलाएर लिखित जवाफ मागेर गृह मन्त्रालयमा पठाएको छु ।’ 

प्रधानाध्यापक रावतले सामाजिक कुसंस्कार र आस्थाका कारण छात्रा आफैँ कक्षाकोठाभित्र जान डराउने गरेको बताएका छन् । ‘विद्यालयभित्र पुराना मन्दिर छन्, मन्दिरनजिक कक्षाकोठा छन्, त्यसैले छात्राहरू जान मान्दैनन्,’ उनले भनेका छन्, ‘उनीहरूको सहजताका लागि मन्दिर छलेर कोठा व्यवस्थापन गरे पनि बस्न मान्दैनन् ।’ मन्दिर छलेर कोठा व्यवस्थापन गरेको बताउने रावतले महिनावारीको बेला मन्दिर छुँदा पनि फरक पर्दैन भन्ने शिक्षा भने छात्रालाई दिन सकेनन् । 

छाउगोठमा किशोरी र महिलाको ज्यान जाने क्रम नरोकिएपछि ९ पुसमा गृह मन्त्रालयले कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई छाउगोठ भत्काउन र सचेतना जगाउन अभियान सञ्चालन गर्न निर्देशन दियो । 

गृहको निर्देशनपछि प्रजिअ दुर्गा बन्जाडेले छाउपडी प्रथा उन्मूलनका लागि सरोकारवालाको उपस्थितिमा गत १० पुसमा प्रजिअको संयोजकत्वमा छाउपडी प्रथा उन्मूलन उपसमिति गठनसहित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, छाउपडी प्रथाविरुद्ध बहस पैरवी गर्ने र छाउगोठ भत्काउने निर्णय गरिन् । 

सामाजिक कुरीति र अन्धविश्वासका रूपमा रहेको छाउपडी ‘छुइप्रथा’ उन्मूलन गर्न जिल्ला प्रशासन कार्यालयको अगुवाइमा अभियान सञ्चालन भइरहेको छ । २१औँ शताब्दीमा पनि महिलामाथि छुइप्रथाका नाममा विभेद र अत्याचारका समाचार सञ्चारमाध्यममा निरन्तर आएपछि अभियान नै सञ्चालन गरिएको बन्जाडेले बताइन् । गत १७ पुसमा टुँडिखेलमा आयोजित कार्यक्रममा सरकारी कर्मचारी, सुरक्षाकर्मी, नागरिक अगुवा, विभिन्न संघ–संस्थाका प्रतिनिधिलगायतले छाउपडीविरुद्ध सामूहिक प्रतिबद्धता जनाए । 

नयाँ पत्रिकाको जस्तो पत्रकारिता आवश्यकता छ : मन्त्री भण्डारी

सोमबार जुम्ला पुगेका कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले तातोपानी गाउँपालिका– ८ बारागाउँका छात्रा महिनावारी हुँदा कक्षा कोठाभित्र जाँदैनन् भन्ने समाचार नयाँ पत्रिका राष्ट्रिय दैनिकले प्रकाशन गरेपछि कर्णाली र सुदूरपश्चिम प्रदेशमा जनचेतनामूलक अभियान तीव्र पारिएको बताए । उनले भने, ‘समाचार प्रकाशनपछि गृह मन्त्रालयले प्रशासनमार्फत विद्यालयका प्रधानाध्यापकसँग जवाफ माग्यो । सोही घटनालाई टेकेर गृह मन्त्रालयले कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा प्रशासनमार्फत छाउगोठ भत्काउने र छाउप्रथाविरुद्ध जनचेतना जगाउन अभियान सञ्चालन गर्न निर्देशन ग¥यो ।’ 
अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा छाउगोठ भत्काउने र जनचेतना जगाउने अभियान सञ्चालन भइरहेको उनले बताए ।