मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ ९ बिहीबार १०:१६:००
Read Time : < 1 मिनेट
खेलकुद

हेल्प नेपाल सेमिफाइनलमा

Read Time : < 1 मिनेट
२०७६ माघ ९ बिहीबार १०:१६:००

त्रिभुवन आर्मी क्लब, एपिएफ र नेपाल पुलिससँगै हेल्प नेपाल स्पोर्टस् क्लब पाँचौँ एनभिए राष्ट्रिय क्लब भलिबलको पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको क्वार्टरफाइनल खेलमा आ–आफ्नो प्रतिद्वन्द्वीमाथि जित हात पार्दै आर्मी, एपिएफ, पुलिस र हेल्प नेपालले प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् । फाइनल प्रवेशका लागि आर्मी र एपिएफ भिड्नेछन् । अर्काे सेमिफाइनल खेलमा पुलिसले हेल्प नेपालसँग प्रतिस्पर्धा गर्नेछ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो क्वार्टरफाइनलमा मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान बनाएको हो । आर्मीले मणिमुकुन्दलाई २५–१९, २५–१८, २५–१७ को सोझो सेटमा पराजित गर्‍यो ।

अर्को खेलमा एपिएफले पनि बुद्ध टोल युवा भलिबल क्लबलाई ३–० कै सोझो सेटमा हरायो । एपिएफले बुद्ध टोलमाथि २५–१८, २५–१७, २५–११ को सेटमा जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । तेस्रो क्वार्टरफाइनल खेलमा पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लबमाथि २५–११, २५–९, २५–१२ को सेटमा जित निकाल्यो । त्यसपछि भएको क्वार्टरफाइनल चरणको अन्तिम खेलमा बुलबुले रारा क्लबलाई २५–१६, २५–२०, २५–१९ को सोझो सेटमा पराजित गर्दै हेल्प नेपालले सेमिफाइनलमा नेपाल पुलिससँगको भेट पक्का गरेको हो । 

लिगका अघिल्ला तीनै खेल एकपक्षीय देखिएको अवस्थामा अन्तिम क्वार्टरफाइनल खेल भने केही प्रतिस्पर्धात्मक देखियो । विशेषगरी दोस्रो र तेस्रो सेटमा बुलबुले राराले केही प्रतिस्पर्धात्मक खेल पस्किएको थियो । यद्यपि, बुलबुले रारा सोझो सेटमै खेल सुम्पन बाध्य भयो । दुवै टोलीले भारतीय खेलाडीलाई मैदानमा उतारेका थिए । प्रतियोगितामा बिहीबार महिला र पुरुष दुवैतर्फ सेमिफाइनल चरणका खेल हुनेछन् ।