मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ ९ बिहीबार ०९:००:००
Read Time : > 3 मिनेट
अर्थ

निजगढ विमानस्थल बनाइने १९ सय हेक्टरमध्ये १३ सयमा खेत, बस्ती र बुट्यान 

बाँकी ६ सय हेक्टरमा २०२८ सालमा वृक्षरोपण गरिएको पातलो जंगल, कुकाठको मात्रा बढी

Read Time : > 3 मिनेट
२०७६ माघ ९ बिहीबार ०९:००:००

नयाँ पत्रिका स्थलगत रिपोर्ट  

निजगढ विमानस्थल बनाउन लागिएकोमध्ये ७० प्रतिशत क्षेत्रमा घना वन होइन, काट गाउँ, टाँगिया बस्ती र खेत छ । बाँकी ३० प्रतिशत जग्गामा पनि कुकाठ मानिने सिन्दुरे, कर्म, साज, बढधँगेरोको मात्रा धेरै भएको पातलो जंगल छ, जहाँ  सरकारले ४८ वर्षअघि अतिक्रमण हटाएर वृक्षरोपण गराएको थियो ।

निजगढ विमानस्थलका लागि छुट्याइएको जमिनको मध्य भागमा एउटा ठूलो बस्ती छ जुन टाँगिया बस्ती हो । यो बस्तीभन्दा अलि तल दक्षिण–पश्चिमपट्टि काट गाउँ भन्ने अर्को बस्ती छ । यी बस्तीका बासिन्दाले घरबार मात्र बनाएका छैनन्, ठूलो क्षेत्रमा खेती पनि गर्दै आएका छन् । 

टाँगिया बस्ती बसेको क्षेत्र सरकारी जमिन हो । यसले ६ सय ५० हेक्टर ओगटेको छ । अर्को काट गाउँले पनि १ सय १० बिघा (१८ हेक्टर) ओगटेको छ । जसमध्ये ८० बिघा जमिनको मुआब्जा पनि वितरण भइसकेको छ । ‘हामीले १९ सय हेक्टरमा विमानस्थल बनाउने भनिएको जमिनमध्ये टाँगिया बस्तीले मात्र ६ सय ५० हेक्टर ओगटेको छ,’ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विजय यादवले भने, ‘थप ६ सय ४२ हेक्टर पनि झाडी, बुट्यान, कुकाठले भरिएको छ ।’ 

निजगढ विमानस्थल बनाउने भनिएको क्षेत्रमा स्थलगत अवलोकन गर्दा पूर्व–पश्चिम राजमार्गबाट दक्षिणतर्फ लागेपछि त्यति बाक्लो र पुरानो जंगल देखिँदैन । अलि तल झरेपछि साढे १४ सय घर धुरी भएको टाँगिया बस्ती पुगिन्छ । त्यहीँ आसपास पहिलो चरणको एकल धावनमार्गसहित टर्मिनल भवन बनाउने सरकारको योजना हो । धावनमार्गको लम्बाइ ४ हजार मिटर र चौडाइ ६० मिटर हुनेछ । अन्तर्राष्ट्रिय टर्मिनल भवन १ लाख वर्गमिटर क्षेत्रफलमा तयार हुनेछ । आन्तरिक टर्मिनल भवन १५ हजार वर्गमिटर क्षेत्रफलमा निर्माण हुनेछ ।

विमानस्थलसम्म जाने सडक निर्माण हुने क्षेत्रमा समेत रूख नगण्य मात्रामा देखिन्छ । नागरिक उड्डयन प्राधिकरणले अर्को चरणमा पनि टाँगिया बस्ती र काट गाउँ क्षेत्रमै दुई धावनमार्ग, टर्मिनल भवन, फायर फाइटिङ भवन, आयल निगमका लागि जग्गा, एटिसी टावर, ह्यांगर, एटिसी भवन, अध्यागमन भवन, कार्गो भवनलगायत सबै संरचना सोही स्थानमा निर्माण गर्ने योजना बनाएको छ । 

विमानस्थलको सीमारेखा 

विमानस्थलको उत्तरतर्फ महेन्द्र राजगमार्ग पर्छ । पश्चिमतर्फ पसाह खोला नै सिमाना हो । पूर्वपट्टि बकैया खोला पर्छ । दक्षिणतर्फको सिमाना भने कोल्हवी गाउँ हो । पसाह खोलादेखि दक्षिणतर्फ कोल्हबीसम्म ६ दशमलव ३ किलोमिटर, बकैया खोलादेखि कोल्हवीसम्म दक्षिणतर्फ साढे ८ किलोमिटर छ । पसाह खोलादेखि बकैया खोलासम्मको पूर्व–पश्चिम राजमार्गतर्फ १० किलोमिटर र दक्षिणतर्फ रहेको कोल्हवीतर्फको पसाह र बकैया खोलासम्म करिब १४ किलोमिटर छ । विमानस्थलले ८० वर्गकिलोमिटर क्षेत्र ओगट्छ । 

सोही क्षेत्रभित्रको जंगललाई लिएर वातावरणको विषय सतही रूपमा उठाइएको यादवको भनाइ छ । ‘विमानस्थल बन्ने क्षेत्रमा भएका रूख पनि काम लाग्ने खालका छैनन्,’ उनी भन्छन्, ‘झाडी, बुट्यान र केही मात्रै रूख छन् ।’

टाँगिया बस्ती र काट गाउँका बासिन्दा सर्न तयार 

विमानस्थल बनाइने भनिएको क्षेत्रका बासिन्दा सरकारले वैकल्पिक व्यवस्था गरिदिएमा स्थानान्तरण हुन तयार रहेको बताएका छन् । सरकारले पनि उनीहरूका लागि बस्ने स्थान र खेती गर्ने जग्गाको खोजिरहेको छ । 

‘हामीलाई महेन्द्र सरकारले यस क्षेत्रमा बस्ती बसालेका हुन्,’ टाँगिया बस्ती सरोकार समितिका सचिव सुमन थोकरले भने, ‘अहिले पनि सरकारले यहाँबाट हटाएर अन्यत्र लैजाँदा समस्या छैन, विमानस्थल बन्नुपर्छ ।’

सरकारले विमानस्थल बनाउने भनेर हल्ला मात्रै गरेको, तर ठोस कदम नचाल्दा स्थानीयमा अन्योल छाएको थोकरको गुनासो छ । टाँगिया बस्तीमा ७ हजारभन्दा बढी जनसंख्या छ । यता, काट गाउँमा धेरै हेक्टर जमिनको मुआब्जा वितरण भइसकेको छ । 

अन्य केहीले भने सरकारले पैसाको सट्टा जग्गा दिनुपर्ने अडान राखेका छन् । मुआब्जा लिएर थातथलो छाड्ने तरखरमा रहेका शान्तिमान कार्की विकासका लागि सरकारलाई सहज बनाइदिएको बताउँछन् । 

‘म ४५ लाख मुआब्जा लिएर जग्गा छाड्ने तयारीमा छु,’ कार्कीले भने । यता, दुई पुस्तादेखि काट गाउँमा बस्दै आएका मञ्जु चौधरी भने मुआब्जा नभएर जग्गा नै दिनुपर्ने अडान राख्छन् । ‘विमानस्थल बनाउन कुनै पनि अवरोध छैन,’ उनले भने, ‘सरकारलाई सहयोग गर्छौँ, तर जग्गा दिए खुसी हुने थियौँ ।’
 
विमानस्थल बन्ने क्षेत्रमा ८० प्रतिशत कुकाठ
विमानस्थल बन्ने १९ सय हेक्टर जमिनमध्ये ५ सय ९० हेक्टरमा पातलो वन क्षेत्र छ । स्थानीयका अनुसार त्यहाँ ८० प्रतिशत कुकाठ छन् । ‘२० प्रतिशत रूख मात्रै सग्ला र सालका रूख होलान्,’ थोकर भन्छन्, ‘जंगली जनावर पनि त्यति छैनन्, जंगली हात्तीको बाटो भन्ने हल्ला गलत हो ।’

आयोजना प्रमुख यादवका अनुसार यस क्षेत्रमा काँटरी, बडधाइरो, साज, कर्म, सिन्दुरेजस्ता कुकाठ छन् । ‘धेरै कुकाठ भएर नै १ लाख १४ हजार मात्रै ठूला रूख काटेर सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागेका हौँ ।’ 

विमानस्थल निर्माणमा सहयोग गर्छौँ, हाम्रो पनि व्यवस्था होस् : सुमन थोकर 
सचिव
टाँगिया बस्ती सरोकार समिति

लामो समयदेखि विमानस्थल बनाउने भनेर चर्चा गरिएको छ । सरकारले व्यवस्था गरेमा हामी नै यो स्थानबाट अन्यत्र जान तयार छौँ । टाँगिया बस्तीमा १४ सय घरधुरीमा ७ हजारभन्दा बढी जनसंख्या छ । चर्चा गरिएजस्तो यहाँ रूख तथा जंगली जनवारको समस्या छैन । धेरैजसो खाली जग्गा र कुकाठ छन् । हामीलाई धेरै वर्षदेखि अलमलमा राखिएको छ । विमानस्थल बन्ने भनिएको छ, तर प्रक्रिया अहिलेसम्म टुंगिएको छैन । हामीलाई कहाँ राख्ने भन्ने विषय पनि सरकारले टुंग्याएको छैन । विमानस्थल बनाउने नै हो भने हाम्रो व्यवस्था पहिले गरोस् । सरकारलाई विकासमा सहयोग गर्छौँ । 

राजा महेन्द्रले वृक्षरोपण गराएको नयाँ वन क्षेत्र

दक्षिणतर्फबाट अतिक्रमण हुँदै आएपछि राजा महेन्द्रले ०२६/२७ सालतिर पुनः वृक्षरोपण गरे । त्यतिखेर चाँडै हुर्कने बोट बिरुवा रोपिएका थिए । अहिले हुर्किएका केही रूख ठूला बनेका छन् । केही हेरचाहको अभावले त्यसै मरे । ती ठाउँमा बुट्यानले भरिएको छ । तर, बिरुवाको हेरचाह गर्न जंगलको बीचमा मजदुरलाई बस्ने कटेरो बनाइदिएका थिए । त्यहाँ सयौँको संख्यामा वनरक्षक बस्थे । अहिले यही क्षेत्रले टाँगिया बस्तीको रूप लिएको हो ।