१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ ९ बिहीबार ०७:५३:००
Read Time : > 1 मिनेट
प्रदेश

कोदो प्रवर्द्धन गर्दै  इस्मा गाउँपालिका

Read Time : > 1 मिनेट
२०७६ माघ ९ बिहीबार ०७:५३:००

नेपालीको खानपान अचम्मले बदलिएको छ । पहिले मीठो–मसिनो (भात) खानेलाई धनी भन्थे । आँटो–पिठो र ढिँडो खानेलाई गरिबमा गन्थे । अहिले धनी आँटो–पिठो र ढिँडो खान्छन्, गरिबले भात । 

गाउँ मकै र कोदोले भरिएको छ । तर, मधेसको चामल नभए भान्सा चल्दैन । अझै पनि गाउँमा कोदोलाई हेला र दुःखको खेती मानिएको छ । कैयौँ खेत बाँझिएका छन् । त्यसको चौगुना बारी बाँझा छन् । कोदोको माग ठूलो बजार र मान्छेमा बढी छ । गाउँमा खेती गर्न छाडे । यही अवस्थाको अन्त्यका लागि जिल्लाको इस्मा गाउँपालिकाले कोदोको प्रवद्र्धन थालेको छ । गाउँपालिकाका प्रमुख लक्ष्मण विष्टका अनुसार यसका लागि घरमै पुगेर कोदो खरिद गरिएको छ । 

मूल्य निर्धारण
गाउँपालिकाले कोदोको मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको छ । सहकारीले प्रतिकिलो एक रुपैयाँ गाउँपालिकाको तर्फबाट ढुवानी अनुदान पाउने व्यवस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए । अहिलेसम्म गाउँमा बिचौलियाले मनलाग्दो मूल्यमा कोदो खरिद गर्ने गरेका थिए । 

गाउँपालिकाको यो अभियानले बिचौलिया अन्त्य भएको बस्नेतले दाबी गरे । उनले गाउँपालिकाले सहकारीलाई कोदो प्रशोधन गर्ने र तौल लिने मेसिन तथा गाउँपालिकाको पहिचानसहितको बोरा अनुदानमा उपलब्ध गराउने बताए । 

माग बढ्दै
गाउँपालिकाले इस्मा कृषि तथा पशु महिला सहकारी संस्था र भविष्य निर्माण साना किसान सहकारी संस्था लिमिटेडमार्फत कोदो खरिद तथा बजारीकरणको काम गरेको छ । संस्थाले अहिलेसम्म १ हजार २० किलो कोदो बिक्री गरेको छ । २ हजार ४ सय किलो सहकारीमा संकलन भएको सहकारीको व्यवस्थापक कमला अधिकारीले बताइन् । त्यस्तै, विन्ध्यवासिनी चिउरा उद्योग पोखराले प्रतिकिलो ५१ रुपैयाँमा १० टन कोदोको माग गरेको इस्मा गाउँपालिकाका प्रवक्ता गनुप्रसाद अधिकारीले जानकारी दिए । 

मूल्य पाएपछि किसान खुसी
गाउँपालिकाले सहकारीमार्फत उचित मूल्यमा कोदो खरिद गर्न थालेपछि किसान खुसी छन् । ‘गाउँमा पहिले किलोको ३० पनि पर्थेन, अहिले ५० रुपैयाँमा गाउँपालिकाले किन्यो, खुसी नहुने कुरै भएन,’ इस्मा गाउँपालिका–४ का शेरबहादुर विष्टले भने, ‘उत्पादनसँगै बजारको ग्यारेन्टी भए किसानले काम गर्छन् ।’ सोही गाउँकै हिमलाल अर्यालले पनि भर्खरै सहकारीमार्फत करिब दुई क्विन्टल कोदो बेचे । उत्पादनले मूल्य पाउँदा बल्ल कृषि गरेजस्तै भएको प्रतिक्रिया दिए ।