मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ ९ बिहीबार ०७:४२:००
Read Time : > 2 मिनेट
सेयर बजार

जीवन बिमाबाहेक सबै उपसमूह घट्दा नेप्से घट्यो

Read Time : > 2 मिनेट
२०७६ माघ ९ बिहीबार ०७:४२:००

बुधबार सेयर बजार ७ दशमलव शून्य ५ अंक घटेर बन्द भएको छ । कारोबारको १० मिनेटमा यस दिनकै उच्च १ हजार ३ सय २५ बिन्दुमा पुगेपछि घटेर १ हजार ३ सय १० को न्यून बिन्दुमा आइपुगेको थियो । सो बिन्दुमा ओलिर्एको बजारमा खरिद चाप बढ्न पुगी १ हजार २३ सय २३ बिन्दुसम्म पुग्यो । कारोबार रकम १ अर्ब ५८ करोड रुपैयाँ बढीले बजारमा अझै खरिद–बिक्री चाप बढिरहेको संकेत गर्दछ । नेप्से परिसूचक १ हजार ३ सय ६० माथि पुगेको भए बजार बढ्ने विश्लेषक बताउँछन् । १३ सय ६० बिन्दुलाई पार गर्न नसकेको बजारबारे आगामी दिनमा अन्योल रहेको विश्लेषकहरूको भनाइ छ । 

ग्लोबल आइएमईको उच्च कारोबार, ११ समूहको परिसूचक राताम्मे

यस दिन ग्लोबल आइएमई बैंकको कारोबार अग्रस्थानमा भएको छ । बैंकको ६१ करोड १२ लाखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । जनता बैंकसँगको मर्जरपछि सोमबार दोस्रो बजारमा कारोबार भएको यस बैंकको सेयर मूल्यमा दुई दिन सकारात्मक सर्किट ब्रेक लागेको थियो । दुई दिनमा उच्च अंकले सेयर मूल्य बढेपछि जनता बैंक सेयरधनीहरूले नाफा बुक गरी सेयर बिक्री गरेको अनुमान गर्न सकिन्छ । 

यस दिन कारोबार भएका १२ समूहको परिसूचकमा जीवन बिमा समूहबाहेक बाँकी सबै समूह घटेका छन् । सो समूहमा कारोबार हुने एसियन लाइफ, प्राइम लाइफ, सूर्या लाइफ इन्स्योरेन्सको मूल्य बढेपछि परिसूचक २ दशमलव ३२ प्रतिशत बढेको हो । व्यापार, होटेल, जलविद्युत्, समूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ भने बाँकीको सोभन्दा कमले घटेको छ । यस दिन कारोबार भएका १ सय ७८ कम्पनीको ४९ लाख १४ हजार ४ सय ३७ कित्ता सेयर कारोबार भएको छ । ग्लोबल आइएमईको उच्च कारोबार भएपछि कारोबार रकम मंगलबारको तुलनामा बढेको छ । 

लाइफ इन्स्योरेन्सका सेयर मूल्यमा वृद्धि, १२७ कम्पनीको सेयर मूल्य घट्यो

बुधबार जीवन बिमा कम्पनीका सेयर मूल्यमा वृद्धि आएको छ । एसियन लाइफ, प्राइम लाइफ, सूर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य ५ देखि ८ प्रतिशतसम्म बढेका छन् । पाँचथर पावर कम्पनीको सेयर मूल्य ८ दशमलव ६९ प्रतिशत घटेर प्रतिकित्ता १ सय २६ मा आइपुगेको छ । दोस्रोमा कञ्चन डेभलपमेन्ट बैंकको ७ प्रतिशत घटेको छ । सेयर मूल्य घट्नेमा अधिकांश जलविद्युत् र होटेल कम्पनी परेका छन् । 

यस दिन कारोबार भएका १ सय ७८ कम्पनीमा ४३ कम्पनीको मात्र सेयर मूल्य बढ्न पुगेको छ भने १ सय २७ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनी नेप्से बन्द हुने वेलामा अघिल्लो दिनको मूल्यमा स्थिर भए । 

पिभट र मैनबत्तीले बिहीबार बजार घट्ने संकेत

बुधबारको कारोबारबाट कालो मैनबत्तीमा छोटो पुच्छर भएको आकृति बनेको छ । यसले बिहीबार बजार घट्ने संकेत गरेको छ । १४ दिने आरएसआई सूचक ७३ दशमलव ७६ ले बजारमा खरिद चाप ओभरबट जोन संकेत गरेको छ । 

मंगलबारको पहिलो टेवा बिन्दु १ हजार ३ सय ९ बिन्दु थियो । बुधबार बजारले सोही बिन्दुको वरिपरि टेवा पाएर १ हजार ३ सय १३ बिन्दुमा बन्द भएको देखिन्छ । बुधबारको पिभट विश्लेषणले बिहीबार बजार घट्ने संकेत गरेको छ । बुधबारको पिभट बिन्दु १ हजार ३ सय १६ छ । बजार बन्द बिन्दु १ हजार ३ सय १३ रहेको छ । पिभट बिन्दुभन्दा बजार बन्द तल रहेकाले बिहीबार बजार घट्ने संकेत देखिएको हो । बिहीबार परिसूचक घटेमा १ हजार ३ सय ७ बिन्दुमा पहिलो टेवा र बढेमा १ हजार ३ सय २२ बिन्दुमा पहिलो प्रतिरोध पाउने देखिन्छ ।

ऋणपत्र निष्कासन गर्न नबिल र आइसिएफसीलाई बोर्डको अनुमति

नेपाल धितोपत्र बोर्डले नबिल बैंक र आइसिएफसी फाइनान्सलाई ऋणपत्र जारी गर्न अनुमति दिएको छ । बोर्डबाट अनुमति पाएका यी दुई कम्पनीले बजारमा ऋणपत्र निष्कासन गरी बिक्री गर्ने सक्नेछन् । नबिल बैंकले १० प्रतिशत ब्याजदरमा २०८२ सम्मका लागि ऋणपत्र जारी गर्नेछ । बैंकले २० लाख कित्तामध्ये ८ लाख कित्ता सर्वसाधारणका लागि र १२ लाख कित्ता व्यक्तिगत संघसंस्थालाई बिक्री गर्नेछ । बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । त्यसैगरी, आइसिएफसी फाइनान्स कम्पनीले १२ प्रतिशत ब्याजदरमा २०८३ सम्मका लागि २ लाख कित्ता ऋणपत्रमध्ये ८० हजार कित्ता सर्वसाधारणका लागि र १ लाख २० हजार कित्ता व्यक्तिगत संघसंस्थाका लागि बिक्री गर्नेछ । बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

दुई कम्पनीको नगद लाभांश सेयरधनीको खातामा

दुई कम्पनीले साधारणसभाद्वारा पारित भएको लाभांश सेयरधनीहरूको बैंक खातामा जम्मा गरेका छन् । युनाइटेड फाइनान्स कम्पनीको २५औँ सभाले पारित गरेको प्रतिकित्ता ७ दशमलव ५२ का दरले नगद लाभांश माघ १० गते आइतबारदेखि जम्मा गर्न सुरु गरेको छ । त्यसैगरी, नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको ३३औँ वार्षिक सभाले पारित गरेको ८ दशमलव ५ प्रतिशत नगद लाभांश पुस २४ गतेसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएकोहरूको खातामा जम्मा गरेको छ । यी दुई कम्पनीले डिम्याट खातामा उल्लेख भएको बैंक खातामा उक्त रकम जम्मा गरेका हुन् ।