१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ माघ ९ बिहीबार ०७:१०:००
Read Time : > 1 मिनेट
समाचार

ठेकेदारको लापरबाहीले मुढे–चरिकोट सडक निर्माणमा ढिलाइ

Read Time : > 1 मिनेट
२०७६ माघ ९ बिहीबार ०७:१०:००

ठेकेदारको लापरबाहीले मुढे–चरिकोट (३० किमि) सडक निर्माणमा ढिलाइ भएको छ । ठेकेदार कम्पनीले पुसभित्रै सडकमा ग्राभेल बिछ्याइसक्ने प्रतिबद्धता जनाए पनि त्यसअनुसार काममा प्रगति हुन सकेको छैन । यो सडक निर्माणको ठेक्का भारतीय सकिल हैदर र नेपाली शंकर माली निर्माण सेवा तथा सुनौला खिम्तीले संयुक्त रूपमा लिएका छन् ।

ठेकेदार कम्पनीले पाँच वर्षदेखि सडक अलपत्र पार्दै आएको छ । यो सडकखण्डको काम दुई वर्षमा सक्ने गरी ०७२ भदौमा ठेक्का लागेको थियो । पटक–पटक म्याद थप्दा पनि कामले गति लिन सकेको छैन । अहिलेसम्म यो सडकको प्रगति ६० प्रतिशत मात्रै छ ।

नागरिकस्तरबाट विरोध
चरिकोटबाट एकतर्फी आंशिक काम सुरु गरेको ठेकेदार कम्पनीले चरंगे खोला नपुग्दै काम छाडेको छ । ठेकेदारले सडक निर्माणमा ढिलाइ गरेको भन्दै नागरिकस्तरबाट विरोध हुँदै आएको छ । नागरिकको विरोधपछि तीन साताअघि ठेकेदार कम्पनी, सडक विस्तार आयोजना र नागरिक अगुवाबीच सिन्धुपाल्चोकको मुढेमा भएको वार्तामा पुसभित्र सडकमा ग्राभेल बिछ्याइसक्ने र फागुनबाट कालोपत्रे सुरु गर्ने सहमति भएको थियो । तर, सहमतिअनुसार अहिले पनि ठेकेदार कम्पनीले काम अघि बढाएको छैन ।

सिन्धुपाल्चोकको खाडीचौर बजारदेखि मुढेभन्दा तल्लो मोडसम्मको पहिलो र मुढेदेखि चरिकोटसम्म दोस्रो गरेर दुई प्याकेजमा छुट्टाछुट्टै निर्माण व्यवसायीमार्फत यो सडक निर्माणको काम भइरहेको छ । पहिलो खण्ड खाडीचौर–मुढे सडकखण्डमा भने ८५ प्रतिशत काम सकिएको छ ।

तुरुन्त काम सुरु गर्न ताकेता
शंकर माली निर्माण सेवाले चरिकोट र मुढे गरेर दुवैतर्फबाट काम सुरु गर्ने सहमति गरे पनि एकातिरबाट मात्र काम सुरु गरेको छ । त्यही काम पनि केही दिनदेखि बन्द भएको सडक विस्तार आयोजनाका प्रमुख दीप बाराहीले बताए । ‘निर्माण कम्पनीलाई चरिकोटसँगै मुढेतर्फबाट समेत काम सुरु गर्न ताकेता गरिरहेका छौँ,’ उनले भने । दठेकेदारले तुरुन्त काम सुरु नगरे पुनः आन्दोलनमा उत्रिने चरिकोटका नागरिक अभियन्ता चिरञ्जीवी मास्केले बताए । खाडीचौर बजारदेखि मुढेसम्मको २५ किलोमिटर खण्डमा काम गरिरहेको गौरीपार्वती निर्माण सेवाले भने १७ किलोमिटर कालोपत्रे सकेको छ । बाँकी क्षेत्रमा अहिले उसले ग्राभेल बिछ्याउने काम गरिरहेको आयोजना प्रमुख बाराहीले बताए ।