१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ ९ बिहीबार ०६:३८:००
Read Time : > 1 मिनेट
समाचार

अपांगता भएका यात्रुलाई बोक्नै मान्दैनन् सार्वजनिक यातायात

Read Time : > 1 मिनेट
२०७६ माघ ९ बिहीबार ०६:३८:००

काठमाडौं उपत्यकाभित्रै सञ्चालन हुने सार्वजनिक सवारीसाधन अपांगतामैत्री नहुँदा अपांगता भएका व्यक्तिहरू दिनहुँ कष्टकर यात्रा गर्न बाध्य छन् । कष्टपूर्ण यात्रासँगै दुर्व्यवहारको सिकारसमेत बन्नुपर्ने भएपछि उनीहरू सार्वजनिक सवारीसाधनको यात्रालाई यातना ठान्ने गर्छन् । शारीरिक अपांगता भएका दिनेश भट्टका अनुसार अपांगता भएका यात्रु देख्नासाथ सवारीसाधन हुइँक्याउने गर्छन् । अझै ह्विलचियर प्रयोगकर्ता भए त रोके पनि सीधै नलैजाने भन्दै दुर्व्यवहार गर्ने उनको दुःखेसो छ ।

हरेक दिनजसो यात्रामा सवारीचालक र सहचालकको दुर्व्यवहार भोग्नुपरेको उनको भनाइ छ । दृष्टिविहीन इच्छा केसीले भने सरकारले नै बनाएको सवारीसाधन बिसौनीमा कमजोरी रहेको बताइन् । उपत्यकाका सबै बस बिसौनी अपांगता मैत्री नभएको बताइन् । उनले भनिन्, ‘त्यसमाथि चालकले जथाभावी सवारीसाधन रोक्दा र यात्रु उकाल्दा ओराल्दा दुर्घटनाको जोखिम बढेको छ । अपांगता भएका व्यक्तिहरू दुर्घटनामा समेत पर्ने गरेका छन् ।’  

शारीरिक अपांगता भएकी शान्ति नकर्मीले अपांगता भएका व्यक्तिले सार्वजनिक सवारीसाधनमा सधैँजसो दुर्व्यवहार भोग्नुपरेको बताइन् । उनले भनिन्, ‘यात्रा गर्दा सहचालकले सबै हेप्छन् । हाम्रो आर्थिक हैसियतमाथि नै प्रश्न गर्छन् । भाडा नै तिर्न नसक्नेजस्तो ठान्छन् ।’ अपांगता भएका व्यक्तिको आवश्यकताअनुसार बस बिसौनीबाहेक अन्य स्थानमा ओराल्दा ट्राफिकले पनि कारबाही गर्न नहुने उनको माग छ । ट्याक्सी चालकहरूले त अपांगता भएका व्यक्तिलाई झनै बढी शुल्क लिने गरेको उनले गुनासो गरिन् । 

केही समयअघि सरकारले सबै सार्वजनिक सवारीसाधनमा अपांगता आरक्षण सिटलाई अनिवार्य बनाएको थियो । तर, सम्बन्धित निकायले नियमित अनुगमन नगर्दा यस्ता सिट अहिले हटिसकेका छन् । जसका कारण अपांगता भएकाहरू उभिएरै यात्रा गर्न बाध्य छन् । सबलांग यात्रुहरूले पनि अपांगता भएकाहरूलाई प्राथमिकता नदिने गरेको उनीहरूको दुःखेसो छ । सवारीसाधनमा साँघुरा ढोकाबाट ह्विलचियर नै नछिर्ने, चियर छिरे पनि राख्ने ठाउँ नहुने अवस्था छ । फुटपाथ र सडकमै हि“ड्दा पनि सवारीसाधनहरूले हेप्ने गरेको उनीहरूको भनाइ छ । 

नेसनल ब्लाइन्ड एसोसिएसनमा आबद्ध दृष्टिविहीन सुमन घिमिरेका अनुसार सार्वजनिक सवारीसाधनको बेथितिका बारेमा गुनासो गर्दा ट्राफिक प्रहरीले सवारीसाधनको नम्बर माग्ने गर्छन् । तर, दृष्टिविहीनले सवारीसाधनको नम्बर दिन सक्दैन । यातायात व्यवस्था विभागले यातायातसम्बन्धी ऐन परिमार्जन गर्ने तयारी गरेको छ । परिमार्जित ऐनले सबै सार्वजनिक सवारीसाधनलाई अनिवार्य रूपमा अपांगतामैत्री बनाउन मार्गनिर्देश गर्ने विभागका प्रवक्ता तीर्थराज खनालको भनाइ छ ।
 बहुअपांगता भएका व्यक्ति झनै मारमा
बहुअपांगता (देख्न, सुन्न, बोल्न नसक्ने) भएका व्यक्तिले सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा झनै कष्ट भोग्दै आएका छन् । यस्ता व्यक्तिलाई लक्षित गरी सरकारले कहीँ पनि ट्राफिक संकेत बनाएको छैन । महाशाखा प्रमुख ढकालका अनुसार जेब्रा क्रसिङलाई अपांगतामैत्री बनाउन सकिने बताए । जेब्रा क्रसिङमा साउन्ड सिस्टम जडान गरी अपांगतामैत्री बनाउन सकिने उनको भनाइ छ ।

 दुर्व्यवहार गरे कारबाही गर्छौँ : ढकाल
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाभित्र निजी र सार्वजनिक गरी १० लाखभन्दा बढी सवारीसाधन दर्ता भएका छन् । तर, तीमध्ये सबैजसो सवारीसाधन अपांगतामैत्री छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार सार्वजनिक सवारीसाधनलाई अपांगतामैत्री बनाउन कुनै एक पक्ष मात्रै सक्रिय भएर सम्भव छैन ।

यसका लागि समाजका सबै पक्षबीच समन्वयको खाँचो छ । उनले भने ‘अपांगता भएको व्यक्तिहरूको समस्या समाधान गर्न स्थानीय सरकारले पहलकदमी लिन जरुरी छ । हामीले स्थानीय सरकारसँग समन्वय गरेर अपांगता भएका अशक्त, महिला वृद्धवृद्धालाई विशेष प्राथमिकता राखेर सेवा दिने गरेका छौँ ।’ अपांगता भएका व्यक्तिहरूले सवारीसाधनमा भोगेको समस्याको सन्र्दभमा सवारीसाधनको अनुगमन र कारबाही भइरहेको उनको दाबी छ ।