मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ माघ ९ बिहीबार ०६:३७:००
Read Time : > 2 मिनेट
समाचार

स्थानीयलाई अवैध क्रसर सञ्चालकको धम्की

स्थानीय रीता भुलेज भन्छिन्– अब त ज्यान जोगाउनै समस्या होलाजस्तो छ

Read Time : > 2 मिनेट
२०७६ माघ ९ बिहीबार ०६:३७:००

गाउँ नै उठिबास लगाएको विषयमा उजुरी गरेको भन्दै अवैध क्रसर सञ्चालकले पनौती–२ बाघवीर डाँडाका स्थानीयलाई धम्की दिएका छन् । बाघवीर–२ की स्थानीय रीता भुजेलका अनुसार काठमाडौं रोडा तथा ढुंगाखानी उद्योगका सञ्चालक कैलाश कुँवरले स्थानीयलाई धम्की दिएका हुन् ।

बाघवीर डाँडामा अहिले भुजेल समुदायको ६ घरपरिवार बस्छन् । खानी सञ्चालनका लागि उद्योगले भुजेल गाउँबाहेक वारिपारिका तीन सय रोपनी डाँडा खरिद गरिसकेको छ । सोही डाँडाको फेदमा उनीहरूले ढुंगाखानी तथा क्रसर उद्योग सञ्चालन गरेका छन् । 

उद्योगबाट चल्ने डोजरले भुजेल गाउँको फेद र बायाँतर्फको भाग ताछिसकेको छ । पहिरोले गाउँ नै लैजाने डर भएपछि भुजेल गाउँका स्थानीयले वडा, जिल्ला प्रशासन र प्रहरी कार्यालयमा उजुरी गरेका थिए । क्रसरको सम्बन्धमा उजुरी गरेको र पत्रकारलाई समेत उनीहरूले नै जानकारी दिएको भन्दै उद्योगका सञ्चालक कुँवरले भुलेज गाउँका स्थानीयलाई धम्की दिएका हुन् ।

क्रसरले पु-याएको क्षतिबारे नयाँ पत्रिकाले स्थलगत रिपोर्टिङ गरेको थियो । ‘पत्रकार बोलाएर जानकारी दिएको भन्दै कैलाशबाट हामीलाई धम्की आएको छ, अब त ज्यान जोगाउनै समस्या होलाजस्तो छ ।’ कैलाशको भनाइ उद्धृत गर्दै रीताले थपिन्, ‘जहाँ–जहाँ गएर जे–जे सक्छौ गर । तर, हामी पनि चुप लागेर बस्दैनौँ, तिमीहरूले सकेको गर, सकेको हामी पनि गर्छौँ ।’ रीताका अनुसार भुजेल गाउँका स्थानीयको जग्गा एक वर्षको भाका राखेर उद्योगले हडप्न लागेको छ । 

हामी निरीह छौँ 
पुरुषोत्तम अधिकारी, वडाध्यक्ष, पनौती–२ 

पनौती–२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले क्रसर उद्योगको ज्यादती थामिनसक्नु रहेको बताए । उनले भने, ‘क्रसर उद्योगको ज्यादती धेरै छ । तर, यसमा हामीले गर्न सक्ने केही छैन । स्थलगत रूपमा म पनि गएको छु । स्थानीयको पीडा मलाई थाहा छ । तर, हामी निरीह छौँ । बन्द गर्ने तहमा जिल्ला समन्वय समिति छ । त्यहाँ सिडिओ र प्रहरीको समेत निर्णायक भूमिका रहन्छ । उनीहरूले केही गर्दैनन् । हामीले के गर्न सक्छौँ ?’

बदमासीले सीमा नाघ्यो
उद्धव केसी, प्रमुख, जिसस काभ्रे

काभ्रेमा २२ वटा ढुंगाखानी र ३२ वटा क्रसर उद्योग छन् । तिनीहरूको अनुगमन हामीले भर्खरै गर्‍यौँ । स्थिति भयावह छ । हामी प्रतिवेदन बनाउँदै छौँ । हामीले दुईवटा क्रसर र दुईवटा ढुंगाखानीलाई त बन्द नै गर्‍यौँ । बाँकीका पनि मापदण्ड पुगेको छैन । उनीहरूलाई मापदण्डभित्र आउन भनेका छौँ । जसले मापदण्ड पूरा गर्न सक्दैन, उसलाई स्थानान्तरण गर्न भनेका छौँ ।

उनीहरू उद्योगमा दर्ता छन् । उद्योग बन्द गराउने अधिकार हामीसँग छैन । बदमासीको त सीमै नाघेको देखिन्छ । दुई सय रोपनी जग्गा दर्ता भएको उनीहरू भन्छन् । लालपुर्जा माग्दा आठ रोपनीको दिन्छन् । एउटाको मात्रै होइन, सबैको स्थिति उस्तै छ । प्रतिवेदन बोकेर अब हामी उद्योग, वनलगायतका मन्त्रालय जान्छौँ । प्रकृतिको दोहन गर्न दिने कि रोक्ने भनेर हामी उनीहरूलाई भन्नेछौँ ।

समाचार लेखेर ठीक गर्नुभएन
ठाकुर गौतम, सञ्चालक, काठमाडौं रोडा तथा ढुंगाखानी

तपाईंहरूले बाघवीरका स्थानीयको समाचार छाप्नुभएछ । उनीहरूको सम्बन्धमा जे सुकै गर्नुहोस् । तर, हाम्रो समाचार तपाईंहरुले  बनाउन पाउनुहुन्न । यसअघि समाचार बनाउनुभएछ । यसमा हाम्रो आपत्ति छ । हामीलाई फोन नगर्नुस् । अहिले गरिहाल्नुभयो, आइन्दा नगर्नुस् । गर्नुभयो भने ठीक हुँदैन ।

हामीले उद्योग दर्ता गरेका छौँ । क्रसर मात्रै हो दर्ता नभएको । यसको पीडा हामीसँगै छ । खानी चलेको डाँडा हामीले किनेका हौँ । हामीसँग लालपुर्जा छ । यसमा जे गरौँ, त्यो हाम्रो मर्जी हो । जहाँसम्म भुजेलगाउँको कुरो छ । त्यसलाई हामीले चलाएका छैनौँ । हाम्रो जग्गामा मात्रै खनेका हौँ । आफ्नो जग्गामा पनि खन्न नपाउने ? तपाईंहरुले  समाचार बनाएर हामीलाई टर्चर भयो । आइन्दा यस्तो नगर्नुहोला ।

 डायमन्डबाट जबर्जस्ती हस्ताक्षर 
अवैध रूपमा बाघवीर डाँडामै चलेको अर्को क्रसर उद्योग डायमन्ड रोडा तथा ढुंगाखानीले डाँडा खरिदका लागि सरजमिन गराउन स्थानीयको जबर्जस्ती हस्ताक्षर संकलन गरेको खुलेको छ । डायमन्डका कर्मचारी सोमबार गाउँमै पुगेर फसकुमार साही, जानुका साही र रवि साहीको हस्ताक्षर लिएका छन् । क्रसर तथा खानी उद्योगको सेयर दिने प्रलोभन दिएर डायमन्डका कर्मचारीले उनीहरूको हस्ताक्षर गराएका हुन् । डायमन्डले बाघवीरको तीन सय रोपनीभन्दा धेरै डाँडा खरिद गरिसकेको छ । सोही डाँडाको फेदमा उसले केही वर्षदेखि क्रसर तथा खानी उद्योग सञ्चालन गर्दैै आएको छ ।