साढे चार घण्टा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठक निष्कर्षबिना सकियो
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्र देखिएको आन्तरिक विवाद समाधानमा गर्न देउवा निवास बुढानिलकण्ठमा जुटेका शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष सकिएको छ ।
बुधवार दिउँसो ३ बजेदेखि साढे चार घण्टासम्म चलेको बैठकले पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला विच पुनः छलफल जारी राख्ने सहमति भने जुटेको छ । त्यसैगरी बुधबार सहभागि नेताहरु सहित फेरि शुक्रवार छलफल गर्ने सहमति पनि भएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठक बारे प्रतिक्रिया दिंदै शीर्ष नेताहरु बीच पार्टीको आन्तरिक विषयका बारेमा देखा परेका बिबाद बारे समझदारी नजिक पुगेको जानकारी दिए । उनले बुधबारको बैठकले समझदारी नजिक पुर्याएको र शुक्रवार बस्ने बैठकले औपचारिकता दिने दाबी गरे ।
महाधिवेशनको मिति घोषणा, सदस्यता सम्बन्धी विधानको धारा निलम्बन र विभाग संख्या थप जस्ता विषयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच विवाद रहँदै आएको छ ।
बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल, कृष्णप्रसाद सिटौला, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह लगायतका नेता सहभागी रहेका थिए ।