मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका बेइजिङ
२०७६ माघ ८ बुधबार १२:१५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

रहस्यमयी ‘कोरोनाभाइरस’ का कारण चीनमा ६ को मृत्यु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका बेइजिङ
२०७६ माघ ८ बुधबार १२:१५:००

‘कोरोनाभाइरस’ नाम दिइएको  रहस्यमयी रोगका कारण चीनमा अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । सो रोगबाट प्रभावितहरूको सङ्ख्या २९१ पुगेको चिनियाँ समाचार एजेन्सीले जनाएका छन् । 

रोगको प्रकोप विस्तारै चीनबाट बाहिरी देशमा पनि फैलनसक्ने भएकाले सावधानीका लागि एशियाली मुलुकहरूका विमानस्थलहरूमा चीनबाट प्रवेश गर्ने यात्रुहरूको परीक्षणलाई कडा बनाइएको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले ‘कोरोनाभाइरस’ मानवबाट मानवमा सर्नसक्ने पुष्टि गरेपछि छिमेकी मुलुकहरूका साथै चीनसँग प्रत्यक्ष हवाई यातायात रहेका पश्चिमा मुलुकहरूले पनि सावधानी अपनाउन थालेका छन् ।


सुरूमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने र टाउको, जीउ दुख्ने जस्ता साधारण चिसो, फ्लु वा न्यूमोनियासँग मिल्दाजुल्दा लक्षण भएको नयाँ रोगले विश्वलाई चिन्तित तुल्याएको छ । विश्व स्वास्थ्य सङ्गठनद्वारा ‘२१ औँ शताब्दीको खतरनाक स्वास्थ्य समस्या’ को रूपमा चित्रित श्वास–प्रश्वाससम्बन्धी रोग ‘सार्स’ लाई ‘सिभेयर एक्युट रेस्पिरेटरी सिण्ड्रोम’ भनिन्छ ।

 पछिल्लो समय देखा परेको रोगको उत्पत्ति श्वासनलीमा आक्रमण गर्ने ‘कोरोना’ वर्गको अपरिचित भाइरसबाट भएको र बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा र सास फेर्दा निस्किने जीवाणु स्वस्थ मानिसको नाक, मुख र आँखाको सम्पर्कमा आएर सरेको हुनसक्ने अनुमान गरेका छन् । रोगको कारण, सर्ने माध्यम र प्रभावकारी उपचारबारे खोज र अध्ययन जारी छ ।

अनुसन्धानकर्ताहरूले नयाँ रोगको सङ्क्रमण चीनबाहिर नगन्य मात्रामा रहेको बताएका छन् । उनीहरूका अनुसार थाइल्याण्डमा दुई र जापान र दक्षिण कोरिया पनि एक÷एक जनामा सङ्क्रमण देखिएको छ । 

सिङ्गापुर र हङ्कङले वुहानबाट आउने हवाई यात्रीहरूको स्वास्थ्य जाँच गर्न थालिसकेको छ । सङ्क्रमण फैलिन नदिन अन्य मुलुकमा पनि सावधानी अपनाउन विश्व स्वास्थ्य सङ्गठनले आग्रह गरेको छ । 

रोग फैलिनसक्ने माध्यम हावा र पानीसमेत भएकोले यसबाट सावधानी अपनाउन भनिएको छ । नेपाल, भारत, पाकिस्तानलगायतका मुलुकहरूमा पनि सावधानी अपनाइएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

यसको सङ्क्रमण सङ्क्रमित जनावरबाट वुहानस्थित ’सीफूड’ विक्री हुने एउटा बजारसम्म फैलिन पुगेको चिकित्सकहरूले बताएका छन् ।