मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सिड्नी
२०७६ माघ ८ बुधबार ०९:४१:००
Read Time : < 1 मिनेट
विश्व

प्रधानमन्त्रीसँग रुष्ट छन् डढेलोपीडित

Read Time : < 1 मिनेट
सिड्नी
२०७६ माघ ८ बुधबार ०९:४१:००

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन डढेलोग्रस्त सहरको भ्रमण गर्दा स्थानीयको एकपछि अर्को आक्रोश सामना गर्नुपरेको छ । डढेलो प्रभावित कोबार्गो, न्यु साउद वेल्सका मानिसहरू प्रधानमन्त्रीप्रति रुष्ट छन् । डढेलो प्रभावित क्षेत्रका बासिन्दाले प्रधानमन्त्रीलाई देखाएको ‘रेस्पोन्स’ सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । यसै साता डढेलो प्रभावित क्षेत्रमा एक महिला छेउ पुगेर प्रधानमन्त्री मोरिसनल सोधे, ‘तपाईलाई कस्तो छ ।’ ती महिलाले नसुनेजस्तै गरिन् । प्रधानमन्त्री अलि निउरी परेर ढलपलिँदै महिलासँग हात मिलाउने प्रयत्न गरे । त्यसपछि महिलाले जवाफ फर्काइन् ‘वास्तवमा मलाई तपाईसँग हात मिलाउने इच्छा छैन ।

तपाईंले यहाँबाट अब कहिल्यै भोट पाउनुुहुनेछैन साथी । डढेलोबाट मृत्यु भएका मानिसहरूबारे तपाईंलाई केही थाहा छ ? घरबारविहीन मानिसको अवस्था कस्तो छ ? ‘मैले बुझेँ’ यति भनेर प्रधानमन्त्री लुरुलुरु अगाडि बढे । महिलाले फेरि भनिन्, ‘हामीलाई आश्वासन होइन वास्तविक सहयोग आवश्यक छ ।’ केही पाइला अगाडि बढेपछि प्रधानमन्त्री एक अग्नि नियन्त्रकसँग हात मिलाउन खोजे । तर, उनले पनि प्रधानमन्त्रीसँग हात मिलाउन अनिच्छा देखाए । प्रधानमन्त्रीले आफ्ना सहयोगीलाई भने ‘उनी थकित भएकोमा मलाई दुःख लागेको उनलाई सुनाइदिनु ।’

लगत्तै एक स्थानीय अधिकारीले जवाफ फर्काए, ‘डढेलोका कारण उनले घर गुमाए, त्यही भएर तपाईसँग बोल्न चाहेका छैनन् ।’ सर्वसाधारणसँग प्रधानमन्त्रीको यो भेटको भिडियो जब भिडियोमार्फत सेयर हुन थाल्यो प्रधानमन्त्रीप्रति सर्वसाधारणको आक्रोश झन् बढेको छ । आगो नियन्त्रण गर्न असफल भएको भन्दै यतिवेला चौतर्फी रूपमा प्रधानमन्त्रीको आलोचना भइरहेको छ । डढेलो लागेको समयमा बिदामा बसेको भन्दै उनको विरोध भएपछि प्रधानमन्त्रीले सार्वजनिक रूपमा नै माफी माग्न बाध्य भएका थिए । विगत तीन महिनादेखि लागेको डढेलोका कारण ३० जनाको मृत्यु भइसकेको छ ।